काठमाडाैंः नेपाली सेनाले "सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको" अभियोगमा सहायक रथी समेतका केही सैनिक पदाधिकारीलाइ बर्खास्त गरेकाे जनाएकाे छ ।
सेनाद्वारा आज आइतबार जारी विज्ञप्तिमा समरी जनरल सैनिक अदालतबाट पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी प्रयोग ज.ब.रा., महा सेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला भएको जनाइएकाे छ ।
साथै उक्त अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने गरी फैसला भएको सैनिक विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलताकाे नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको पनि सेनाले जनाएकाे छ ।










