२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

लिदीको जस्तै जोखिममा १२६ परिवार

लिदीको जस्तै जोखिममा १२६ परिवार
अ अ+ अ-

काठमाडौँ । जुगल–२ लिदीमा शुक्रबार बिहान पहिरो खसेको सुनेयता भोटेकोसी गाउँपालिका–१, लिस्तीकोट पाउँगुम्बाकी ६५ वर्षीया फुर्केल लामा झन् तर्सिएकी छन् । पहिरोमुनि बसिरहेकी उनले पाउँगुम्बाभन्दा पर लिस्तीकोटछेउमा ऋणै गरेर भए पनि टहरा हाल्ने योजना बनाएकी छन् ।‘लिदीको जस्तै यहाँ पनि पहिरोले बस्ती छेडिरहेको छ, सरकारको भर परियो भने एक चिहान भइन्छ, अब आफैंले सुरसार गर्नुपर्ने भो,’ गाउँमाथिबाट भास्सिरहेको नोकाङ डाँडा देखाउँदै उनले भनिन् । भूकम्पको परकम्पले कमजोर नोकाङ डाँडा हरेक बर्खायाममा भासिएर बस्तीको माथिल्लो भाग पुर्दै लगेको उनले सुनाइन् ।

भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पठाएको भूगर्भविद्सहितको अध्ययन टोलीले लिस्तीकोटको पाउँगुम्बा बस्ती जोखिममा रहेको निष्कर्ष निकालेको थियो । भूकम्पमै पहिरो खसेपछि त्राहिमाम भएका यहाँका ६८ परिवार ५ वर्ष सुरक्षित स्थान खोज्दै भौंतारिए । ‘हुनेहरू केही सुरक्षित स्थान खोजेर गए, हामी अन्यत्र जाने स्थान नभएपछि यहीं बस्यौं, पहिरोमुनि काल पर्खिएर बसेझैं लाग्छ,’ उनले भनिन् । आर्थिक अभावका कारण अन्य स्थानको जग्गा किन्न नसकिने भएपछि जनप्रतिनिधि र सरकारलाई गुहारेर बसिरहेको गेन्जुङ टोलका ६० वर्षीय याङ्जेन शेर्पाले बताए । ‘लिदी पहिरोको घटना सुनेपछि आफ्नै भविष्य सम्झेर डर लाग्यो,’ शेर्पाले भने, ‘रातभर टर्च बालेर पहिरो हेर्दै बसिरहन्छौं । अरू के नै गर्न सक्छौं र ? छिमेकीको घरमा आश्रय लिन कति दिन जानु  ? ’

वर्षात्सँगै पाउँगुम्बा, गेन्जुङ टोलमाथि लेकाली नोकाङ, च्याङ्तु र पोटचिङ डाँडाबाट पहिरो ओइरिरहन्छ । ‘रातभर गड्याङगड्याङ र ड्यामड्याम गरेको आवाज आएर गाउँघर थर्काउँछ, पहिरो कराएर अहिल्यै लगिहाल्छजस्तो हुन्छ,’ उनले भने । अहिले पाउँगुम्बाको वल्लो टोलको तल्लो भूभाग भासिँदै गएर गेन्जुङ टोलको २५ घर तान्न थालेको छ । यहाँका स्थानीय रातभर जाग्राम बस्दै बौद्ध परम्पराअनुरुप पद्मसम्भव, शाक्यमुनि बुद्धदेखि आर्यअवलोकेश्वरलाई पहिरो रोक्न प्रार्थना गर्छन् । ‘केन्द्र, प्रदेशदेखि स्थानीय सरकार र अन्य निकाय सबैलाई बस्ती स्थानान्तरण गर्न ५ वर्षदेखि गुहार्दा पनि केही भएन, अब भगवान्लाई गुहारिरहेका छौं,’ भोटेकोसी १ का अध्यक्ष मुके शेर्पाले भने । वडाबाट विस्थापितलाई सुरक्षित जग्गा दिलाउन आर्थिक स्रोत नभएकाले स्थानीयसँगै पहिरो हेरेर बस्नुबाहेक विकल्प नभएको उनको भनाइ छ । माथिबाट घट्टेखोलाको पहिरो र तलबाट बस्ती भासिँदै गएपछि बाह्रबिसे नगरपालिका–२, कर्थलीका ४५ वर्षीय गोपाल विक पनि लिदी घटना सुनेयता हतास बनेका छन् ।

‘मर्नु न बाँच्नुभएको छ, त्यसै त गरिब थिइयो, प्रकृति र दैवले एकैसाथ ठग्यो, कर्थलीको अवस्था पनि लिदीकै जस्तो होला भन्ने डर लाग्छ,’ विकले भने । माथिल्लो भूभाग बग्दै पहिरो आएर जमिन चिरा पारेपछि अत्तालिएका मेलम्ची नगरपालिका–११, शिखरपुरका आकाश दुलालले बस्ती जोखिममा परेको देख्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए । ‘सरकारलाई कहाँ फुर्सद छ र, भोट माग्ने बेला मात्रै सम्झने हुन्,’ उनले भने । जुगलका लिदीबाहेक सानुमाम्फा, सञ्च, झुल्के, निम्लुङ, वैगाङगाउँका ५ सयभन्दा बढी घर जोखिममा छन् । त्यहाँका स्थानीय बासिन्दा सुरक्षित स्थानमा सारिदिन गुहार्दै बसिरहेको स्थानीय आशबहादुर दोङ बताउँछन् । ‘यहाँ पनि लिदीजस्तै पहिरोले पुरिएर मरेपछि मात्रै हेलिकप्टरसहित मन्त्री, सांसद नेता आएर त्रिपाल बाँड्ने होलान् । नत्र त वास्तै नगर्ने भए,’ उनले भने, ‘उनीहरूलाई आफ्नै पार्टी र राजनीतिको मात्रै चिन्ता छ । हामीलाई हेर्न कहाँ फुर्सद ?’

राति जंगल क्षेत्र र अन्यत्र छिमेकीकोमा आश्रय लिएर बिहान मात्रै घर जाने गरेका दोङ लिदीजस्तै नियति भोग्नुपर्ने त्रासमा छन् । भूकम्पयता भौगोलिक रूपमा अयोग्य मानिए पनि अन्यत्र जाने विकल्प नहुँदा पहिरोमुनि बस्न बाध्य परिवार सबैजसो त्रासमा छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत असार अन्तिम सातासम्म प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रस्तुत गरेको विवरणअनुसार सिन्धुपाल्चोकभरि ३ हजार ३ सय ७५ घरधुरी पहिरोको जोखिममा छन् । बलियो आर्थिक स्रोत नभएको कारण देखाउँदै मौन स्थानीय तहसँगै पुनर्निर्माण प्राधिकरणले बस्न अयोग्य ठहर गरेर स्थानीयलाई पहिरोमुनि छोडिदिएको छ । बाह्रबिसेका राम्चे, जम्बु, गातीभर, भोटेकोसीका बुल्कुटे, फुल्पिङकोटदेखि जुगलको लिदीसम्मका पहिरोमुनि भएका पछिल्ला घटना मिल्दाजुल्दा छन् । दर्जनौं बस्ती जोखिममा

बाह्रबिसे, मेलम्ची, भोटेकोसी र जुगलका चार दर्जनभन्दा बढी गाउँबस्ती भूकम्पपछि भूगर्भविद्ले बस्न अयोग्य ठहर्‍याएका छन् । भोटेकोसीको पाउँगुम्बाका ६८, धनपालका ७, फाल्डुङका ४४, अन्थलीका ७, लार्चा फुमाचेका ५८, हिन्दी बजारका १०, नयाँ बस्तीका १२, कोदारीका ३०, बुल्कुटे माथिल्लो कुनाको बस्तीका १४ घरसहित बोक्चेन, फाल्डुङ, चाकु माख्लो गाउँ पहिरोले तहसनहस बनाइसकेको छ । जुगल २ का नाम्फा, लिदी तथा चौतारा साँगाचोकगढी नगरका बतासे, माख्लो गाउँ पहिरोले छोपिसकेको छ । त्यसैगरी बाह्रबिसेको सिर्गाचे, कसेरी, बुकाम, कुखुरे, कर्थली गाउँलाई पहिरोले छियाछिया बनाएपछि ७ सय परिवार कहाँ सर्ने अन्योलमा छन् । पालिकाभरि पहिरो र भोटेकोसीको कटानले समस्या बनाएपछि जनप्रतिनिधि तत्कालका लागि खाद्यान्न, बास र उद्धारमै जुटिरहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

बाढीले क्षतिग्रस्त कोदारी राजमार्गमा मर्मतपछि बल्ल विस्थापित परिवारको बास सुरक्षित बनाउन र सहयोग संकलनमा जोड गरिरहेको उनले बताए । ‘विस्थापितलाई त्रिपाल र खाद्यान्नको व्यवस्था गरेर भूगर्भविद्को टिम ल्याएर जोखिम क्षेत्र पहिचान गर्ने तयारीमा लागेका छौं,’ बाह्रबिसे नगरकी उपमेयर सुशीला पाख्रिनले भनिन् । पाँचपोखरी थाङपाल गाउँपालिकाले तिपेनी, बरुवा क्षेत्रका पहिरोको जोखिममा रहेका केही बस्ती स्थानान्तरण गरिसकेको छ । जिल्लाभर बाढी र पहिरोले झन्डै १ हजार ७ सय जना परिवार विस्थापित भएको अनुमान गरिएको छ । कान्तिपुर दैनिक