
काठमाडौँ । मुम्बई इन्डियन्सले ३ वर्षमा दोस्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ८ रनले पराजित गरेको हो ।
दिल्ली लगातार तेस्रो पटक उपविजेता रह्यो । ब्रेबोर्न स्टेडियममा मुम्बईले ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । दिल्लीको टोलीले १४१ रन मात्रै बनाउन सक्यो ।
मुम्बईका लागि कप्तान हरमनप्रीत कौरले महत्वपूर्ण समयमा अर्धशतक बनाएकी थिइन् । उनले नताली सिभर ब्रन्टसँग ८९ रनको महत्वपूर्ण साझेदारी पनि गरिन् ।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सको सुरुवात खराब रह्यो । टोलीले १४ रनको स्कोरसम्म २ विकेट गुमाएको थियो । यहाँबाट कप्तान हरमनप्रीत कौर र नताली सिभर ब्रन्टले इनिङ्सलाई सम्हाले । तर, दुवैले निकै सुस्त ब्याटिङ गरे ।
८ औं ओभरपछि हरमनले ठूला सट खेल्न थालिन् । उनले १५ औं ओभरमा टोलीको स्कोर १०० भन्दा माथि पुर्याइन् । सोही ओभरमा नताली ३० रन बनाएर आउट भइन् । उनले हरमनसँग ८९ रनको साझेदारी गरिन् ।
हरमनले एक छेउमा इनिङ सम्हालिन् । उनको अगाडि अमेलिया केर २ र सजीवन सजना खाता नखोल्दै आउट भए । हरमन पनि ६६ रन बनाएर आउट भइन् । अन्त्यमा जी कमलिनीले १० रन, अमनजोत कौरले १४ रन र संस्कृति गुप्ताले ८ रन बनाएर टोलीको स्कोर १४९ पुगेको थियो ।
दिल्लीले ७ विकेट लिएको थियो । टिमका मारिजन कप, जेस जोनासेन र श्री चरानीले २–२ विकेट लिए । एनाबेल सदरल्याण्डले १ विकेट लिइन् ।
१५० रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सको सुरुवात पनि खराब रह्यो । टोलीले १७ रनमा २ विकेट गुमाएको थियो । टोलीले ६६ रनमा ५ विकेट गुमाएको थियो । कप्तान मेग ल्यानिङ १३ रन, शेफाली वर्मा ४, जेस जोनासेन १३ र एनाबेल सदरल्याण्ड २ रन बनाएर आउट भएकी थिइन् ।
जेमिमाह रोड्रिग्वेजले टोलीलाई जित दिलाउन प्रयास गरिन् । तर उनी ३० रन बनाएर आउट भइन् । उनीपछि सारा ब्राइस ५, मिन्नु मणि ४ र शिखा पाण्डे खाता नखोल्दै आउट भए । मारिजन कपले ५ चौका र २ छक्का प्रहार गरे पनि उनी पनि ४० रन बनाएर प्याभिलियन फर्किएकी थिइन् ।
निक्की प्रसादले अन्तिममा टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिन् । तर उनको प्रयास असफल भयो । टोलीले ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो । मुम्बईका लागि नेट सिभर ब्रन्टले ३ तथा अमेलिया केरले २ विकेट लिइन् । शबनिम इस्माइल, हेली म्याथ्युज र साइका इशाकले १–१ विकेट लिए ।
डब्लुपिएल २०२३ मा सुरु भएको थियो । त्यसबेला पनि मुम्बईले फाइनलमा दिल्लीलाई हराउँदै उपाधि जितेको थियो । रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो सिजनको उपाधि जित्यो । अर्कोतर्फ दिल्ली क्यापिटल्स तीनै सिजन अंक तालिकाको शीर्ष स्थानमा रहे पनि तीनै पटक उपविजेता रह्यो ।