११ चैत्र २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला क्रिकेटरको ग्रेडिङ सार्वजनिक



अ+ अ-

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेटरको ग्रेडिङ सार्वजनिक गरेको छ ।

क्यानले बुधबार सार्वजनिक गरेको ग्रेडिङ अनुसार, ग्रेड ‘ए’मा राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर परेका छन् ।

सिनियर टिमकी कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री र पूर्व कप्तान सीता राना मगर ग्रेड ए मा छन् । यसअघि ग्रेड सी मा रहेकी पुजा फड्को मार्दै ए मा पुगेकी हुन् । उनकै कप्तानीमा नेपालको यू १९ महिला टोलीले पहिलो पटक आईसीसी यू१९ महिला क्रिकेट विश्वकप खेलेको थियो ।

यस्तै, ग्रेड ‘बी’ मा कविता जोशी पर्दा ग्रेड ‘सी’मा कविता कुँवर र सम्झना खड्का परेका छन् । यसअघि ग्रेड ‘बी’ मा रहेकी कुँवर घटुवा हुँदै ग्रेड ‘सी’मा झरेकी हुन् ।

यसैगरी, ग्रेड ‘डी’मा विन्दु रावल, अलिशा यादव, सना प्रविन, रिया शर्मा, सिमाना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्मा विष्ट, ज्योत्सिना मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय परेका छन् ।

क्यानका अनुसार ग्रेड ए मा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छन् भने बी ले ३५ हजार, सीले २५ हजार, डीले २० हजार तलब पाउनेछन् । ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ क्यानले जनाएको छ ।