
सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा नरहन आग्रह गरेका छन् ।
आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका हुन् ।
जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजालाई लोकतन्त्रमा फर्केको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास नगर्न गृहमन्त्री लेखकको भनाई छ ।
‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन् । त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन ।’, उनले भने, ‘लोकतन्त्र भनेको त्यो व्यवस्था हो, सामान्यतयास् आन्दोलन, क्रान्तिबाट फालिएको राजसंस्थाका राजा उसै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ । हाम्रो लोकतन्त्र यति उदास छ, कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन् ।’
यस्तै, गृहमन्त्री लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन समेत चेतावनी दिए ।