२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट ९२ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स(एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तिमा ९२ जनाको मृत्यु भएको बताएको छ ।

फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका छन् । पानीबाट हुने रोग हैजाको लहर फेब्रुअरी १६ मा उम–दबाकिर पावर स्टेशनमा ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को प्रक्षेपणले लागेपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको थियो ।

गत मंगलवारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको संख्या ५७ हजार १३५ पुगेको छ । जसमा १ हजार ५०६ जनाको मृत्यु भएको छ । सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ । जसमध्ये सबैभन्दा उल्लेखनीय अल–गिटैना क्षेत्र वरपरका गाउँहरूमा गरिएको आक्रमण थियो । जसमा ४३३ नागरिकको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्र संघले उद्धृत गरेको संकट अनुगमन समूह, सशस्त्र द्वन्द्व स्थान र घटना डेटाकाअनुसार अप्रिल २०२३ को मध्यदेखि सुडान सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वमा फसेको छ । जसले कम्तिमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुमानअनुसार द्वन्द्वले सुडान भित्र र बाहिर दुवै ठाउँमा १ करोड ५० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।