काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको विदेश नीति घातक र हावादारी भएको बताएका छन् । उनले भने सुझबुझपूर्ण रुपमा र नेपालजस्तो भूराजनीतिक परिवेशको देशका लागि संवेदनशील रुपमा सञ्चालन गर्नुपर्ने परराष्ट्र नीति अत्यन्तै हलका र घातक रहेको बताएका हुन् ।
आज आयोजित एक भर्चुअल कार्यक्रममा उनले भने- बडो सन्तुलित, संवेदनशील र सुझबुझपूर्ण रुपमा सञ्चालन हुनुपर्ने नेपालको विदेश नीति नै हचुवाको भरमा चलिरहेको छ । कुनै पनि देशको विदेश नीति यसरी लहडमा चल्छ भने त्यो अरु केही नभएर सरकारको असक्षमताका कारणले हुन्छ ।
सरकारको यस्तो गम्भीर त्रुटिले मुलुकको दीर्घकालनि हित गर्दैन उनले भने । उनले भने- देशको विदेश नीति कुनै पार्टी या अमुक व्यक्तिले आफू सरकारमा जाने भर्यांग बनाउने विषय कदापि होइन तर दूर्भाग्यबस हाम्रो देशमा अहिले त्यही भइरहेको छ ।
उनको तर्क थियो यूरोपमा स्विट्जरल्याण्ड भन्ने देश छ । त्यहाँको प्रति व्यक्ति आय यूरोपमै सबैभन्दा धेरै छ । इटाली, जर्मनी र फ्रान्सको बीचमा रहेको स्विट्जरल्याण्डलाई कसैले केही गर्न सकेन । चीन र भारतको उदीयमान र आर्थिक रुपमा पनि शक्तिशाली राष्ट्र । यी दुई देशका बीचमा हामी छौं । हामीले विदेश सम्बन्धमा धेरै खेल खेल्नु हुँदैन ।
डा महतले विदेश नीतिको सवालमा नेपालले आफ्नो आवश्यकता र मुलभूत स्वार्थलाई केन्द्रविन्दुमा राखेर मात्र अघि बढनुपर्छ । हाम्रा लागि दुवै छिमेकी उस्तै हुन्, भारत र चीन दुवैसँग भन्नुपर्छ एउटा देशको विरुद्ध अर्को देशसँग खेल खेल्नु हुँदैन, यसले हामीलाई दीर्घकालसम्म फाइदा दिँदैन ।
नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका डा महतले भने- हाम्रो पार्टी नेपाली काँग्रेसको विचारधारा त बेग्लै छ नि तर पनि हामीले चीनसँग नराम्रो सम्बन्ध कहिल्यै राखेनौ । हामी सत्तामा हुँदा होस् या अघिपछि पनि चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ र काँग्रेसले यो कुरालाई हेक्का पनि राखेको छ ।
यो देशसँगको सम्बन्ध पार्टीसँगको होइन । त्यसैले हामीले नेपालको आवश्यकतालाई केन्द्रविन्दुमा राख्नुपर्छ । त्यस्तै भारतसँग पनि धेरै अप्ठ्याराहरु होलान किनभने खुला सीमाका कारण हुन पनि सक्छ । धेरै आतजावत हुन्छ । जहाँ धेरै अन्तरक्रिया हुन्छ त्यहाँ समस्या पनि हुन्छ । यसका बावजूद नेपालमा जुनसुकै पार्टी सत्तामा बसे पनि उनीहरुसँग सम्बन्ध त्यही हिसाबले राख्नुपर्छ । उनीहरुले अप्ठ्यारो गरेको छ भने बोल्ने, नबोल्ने कुरै छैन । जस्तै सीमा विवादमा हामी बोल्यौ नि । जुन सुरुदेखि हामीले उठाउँदै आएका थियौं ।
वर्तमान सरकारले विदेश नीति सञ्चालन गर्नेजस्तो बडो महत्वपूर्ण र संवेदनशील विषयमा तीतो पोख्ने काम कदापि गर्नुहुदैन उनले भने । डा.महतले तीतो पोख्ने, उत्तेजनापूर्ण कुरा गर्ने, अनि बोल्नुपर्ने ठाउँमा गएर चाहि बोल्दै नबोल्ने यस्तो काम अहिलेको सरकारले गरिरहेको छ त्यसैले मैले यो सरकारको विदेश नीतिको विगतदेखि नै आलोचना गरिरहेको हो ।
यस्ता कामहरु नै देशको लागि घातक हुने उनको तर्क छ । अहिलेको सरकारबाट घातक विदेश नीति सञ्चालन भएको स्पष्ट छ र यो कुरा सबैले देखेकै छन् उनको भनाई थियो । दुई देशको सम्बन्धको कुरा हो भने छलफल र वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ तर सरकारले यसको सट्टा परिस्थितिलाई झन्भन्दा झन् उत्तेजक बनाइरहेको छ उनले भने । उनको टिप्पणी थियो- त्यसैले अहिलेको परराष्ट्र सम्बन्ध सुझबुझरहित छ, हचुवापूर्ण छ तथा हचुवाको भरमा बोल्ने प्रवृतिको रहेको छ ।