२९ श्रावण २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक सात अङ्कले घट्यो काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक पर्खिरहेको थामचौर



अ+ अ-

ढोरपाटन । समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर । अग्लो पहाडको टुप्पोमा टक्क अडिएको थामचौर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । अझ यहाँबाट देखिने दृश्यले धेरैलाई मोहित पार्छ । उत्तरतिर सेताम्य हिमशृङ्खला, लालीगुराँस फुलेर रातम्या बनेका जङ्गल र अग्ला पहाड अवलोकनका लागि थामचौर उत्कृष्ट गन्तव्य हो ।

भौगोलिक विकटताका कारण हालसम्म ओझेलमा रहेको थामचौरमा पछिल्लो समय छिटफुट आन्तरिक पर्यटक पुग्न थालेका छन् । मध्यपहाडी लोकमार्गको भिमगिठे बजारदेखि करिब १३ किलोमिटर उत्तरमा रहेको थामचौर पुग्न सडक मार्गको सुविधा भए पनि व्यवस्थित छैन । शान्त वातावरण, स्वच्छ हावा र चराचुरुङ्गीको चिरविर आवाजले पर्यटकको थकान मेटाउँछ ।

बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठे बजारको शिरमा अवस्थित थामचौरमा गाडी वा पैदल दुवै किसिमले पुग्न सकिन्छ । भिमगिठेदेखि डाँडागाउँ, माझखर्क, असारेगाउँ छिचोल्दै थामचौर पुग्ने सडक केही अप्ठ्यारो हुँदा यात्रा नभए पनि थामचौर पुगेपछि यहाँको सुन्दरताले पर्यटकको थकान सहजै मेटाई दिन्छ । आँखै अगाडि देखिने हिमाल, अनगिन्ती अग्ला पहाड र मनै फुरुङ्ग बनाउने विभिन्न प्रजातिका फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् ।

थामचौरबाट धौलागिरिसहित आधा दर्जन हिमाल, ढोरपाटन, निसीखोला, बडिगाड, गुल्मी, प्युठान, रोल्पा, रुकुमलगायत थुप्रै ठाउँ एकै स्थानबाट सहजै देख्न सकिन्छ । त्यति मात्रै होइन विभिन्न प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु नजिकैबाट देख्न सकिन्छ । अग्लो स्थानमा रहेको थामचौरलाई हिमाल, वन जङ्गल, खोलानाला, खोँच र बस्ती अवलोकन गर्ने भ्यूटावरका रूपमा लिइन्छ ।

यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयवासीले आँटो, ढिँडो, लोकल कुखुरा, बोकाको मासु, मकैको रोटीलगायतका स्थानीय परिकार खुवाउने गर्छन् । पर्यटकका लागि गाउँपालिकाले केही पूर्वाधार निर्माण गरिरहेको छ ।

विशाल समथर मैदानमा फैलिएको थामचौरमा बडिगाड गाउँपालिकाले सार्वजनिक शौचालय, पोखरी, मन्दिर र पर्यटकका लागि बस्ने ट्रस्ट भवन निर्माण गरेको छ । बडिगाड गाउँपालिका–७ का स्थानीय रेखीराम बुढाले दशक अगाडि गाउँलेले वस्तुभाउ चरन क्षेत्रको रूपमा प्रयोग गर्ने ठाउँ अहिले पर्यटकीय गन्तव्य बन्न थालेको बताउनुभयो ।

थमचौरमा बागलुङ र गुल्मीको विभिन्न स्थानबाट वनभोजका लागि पर्यटक आउने गरेका छन् । हरेक वर्ष नयाँ वर्ष र होली पूर्णिमाका दिन एक हजार बढी पर्यटक यहाँ आउने बुढाले बताउनुभयो । बाह्रै महिना पर्यटक भित्र्याउनका लागि राज्यले व्यवस्थित सडक निर्माण गर्नुका साथै प्रचारप्रसार गर्नु पर्ने उहाँको भनाइ छ ।

मध्यपहाडी लोकमार्गको भिमगिठे बजारबाट गाडीमा ४५ मिनेट र करिब तीन घण्टाको पैदल यात्रामा थामचौर पुग्न सकिन्छ । बडिगाडले थामचौरलाई प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन थालेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । हालसम्म पालिकाले करिब रु ५० लाखको हाराहारीमा पूर्वाधार निर्माणमा खर्च गरेको छ । भौगोलिक कठिनाइका कारण सडकलाई व्यवस्थित बनाउन नसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “पालिकाको बजेटले मात्रै थामचौरसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन सक्ने अवस्था छैन, यसका लागि तीनै तहका सरकारले सहकार्य गर्नुपर्छ, यद्यपी पालिकाबाट पनि धेरै लगानी गरेर अहिले पर्यटक आवतजावत गर्न सक्ने सडक बनाएका छौँ, यति सडकलाई ग्राभेलसम्म गर्न पाए यहाँ पर्यटकको आगमन बढ्ने थियो ।” रासस