सिरहा । रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपीलाई पक्राउ गरिएको छ । घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरिएको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।
३० माघमा सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टापछि रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् ।
आफूमाथि बलात्कार भएको बताएकी रिंकु ३० माघको राति ७ः२० बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
मृत्युअघि रिंकुको आफूमाथि छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामूहिक बलात्कार गरेको बयानपछि घटना सामसुम पार्न वडासदस्यसहितका स्थानीयको संलग्नतामा गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।










