काठमाडौं । अमेरिकाले अवैधरुपमा बस्दै आएका १० जना नेपालीलाई आज फर्काउँदै छ । अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिइरहेको अमेरिकाले आधिकारिक कागजात नभएका १० नेपालीलाई चार्टर विमानबाट काठमाडौं ल्याउने भएको छ ।
अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिममार्फत आज बिहान १० बजे अवतरण गर्ने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यभार सम्हालेयता आधिकारिक कागजातविहीनलाई निष्कासन गर्ने घोषणा गरिएको थियो ।
माघ ७ गते ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ । ट्रम्पको कार्यकाल सुरु भएयता विमान नै चार्टर गरेर नेपालीलाई पठाइन लागेको पहिलो पटक हो ।
यो विमान अमेरिकाको न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउन लागेको हो । उक्त विमान अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई अवतरण गराएर सोझै नेपाल आउनेछ ।
नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार यसअघि मंसिर ३० मा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले चार्टर विमानमार्फत ८ जना आधिकारिक कागजात नभएका नेपालीलाई पठाएको थियो ।










