१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

डोला दर्शनका लागि श्रद्धालुको भीड

डोला दर्शनका लागि श्रद्धालुको भीड
अ अ+ अ-

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी परिक्रमाका यात्रीको अचेल मन्त्र पनि यही, जाप पनि यही । प्राचीन मिथिलाका चार सुरका चार महादेव मन्दिरको १३३ किलोमिटरको वृत्तभित्र गरिने १५ दिने मिथिला माध्यमिकी यात्राका सहभागी आज पश्चिम सुरका महादेव श्री जलेश्वरनाथका काखमा छन् । यात्राको पाँचाँै दिन रात्रिबसका लागि आज जलेश्वर आइपुगेका यात्रीको श्री जलेश्वरनाथ मन्दिरमा गुञ्जने ‘जयशम्भो’ को स्वरमा लय मिसिँदो छ ।

कोही ‘जय श्रीराम !’ पुकार्दैछन्, कसैको ‘जयशम्भो’ को पुकारा सुनिन्छ । पिठ्यूँमा फेरफार लुगा र सामल खाजाको पोका, मन र वचनबाट श्रीराम नाम सङ्कीर्तन । माध्यमिकी परिक्रमाको पाँचाँै दिन यात्री जलेश्वर पुग्दा जलेश्वरवासीले हार्दिक स्वागत गरेका छन् । यात्रीको सेवामा हरदम तत्पर छन्, जलेश्वरवासी ।

यात्राको पाँचौँ दिनको विश्रामस्थल जलेश्वरस्थित परिक्रमा पोखरीका चारै डिल यात्रीले खचाखच छ । नगरका सडक भरिभराउ छन् । श्रीराम र श्री जानकीजीको डोला दर्शन गर्न पुग्ने श्रद्धालुको भीड उत्तिकै छ । जलेश्वर नगरभरि स्वागतद्वार र ध्वजापताका सजाइएका छन् । आज जलेश्वर उजेलिएको छ, आज जलेश्वर चहकिएको छ । जताततै भीड छ, तर कोलाहल छैन, भक्तिभजनका स्वर गुञ्जिदाछन् । ‘आजु जलेश्वर सुमङ्गल हे…!’

मिथिलाविहारी (श्रीराम) र किशोरीजी (श्री जानकी) को पदचाप पछ्याउने यात्राको ध्येय अनि कल्याण र मोक्षको कामना । अघि त्रेतायुगमा विवाहपश्चात् श्रीराम र जानकी तत्कालीन मिथिला (विदेह) राज्यका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा १८औँ शताब्दीमा माध्यमिकी परिक्रमा प्रारम्भ भएको मानिन्छ । मिथिलाको महाकुम्भ भनिने यो यात्रामा नेपाल र भारतका साधुसन्तको सरिकता हुँदै आएको छ । गृहस्थ आश्रमका पनि १५ दिन सांसारिक मायाजाल पन्छाएर सरिक हुँदै आएका विगतदेखिको परम्परा छ ।

फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिलाविहारी स्थानबाट मिथिलाविहारी (श्रीराम)को प्रतिमा राखिएको डोला अघि लगाएर निस्कने यात्रामा जनकपुरधामको अग्निकुण्डस्थानबाट निस्कने किशोरीजी ९जानकीजी० को डोला मिसिएपछि विधिवत् प्रारम्भ भएको यात्रा आज पाँचौँ दिन जलेश्वर आइपुगेको हो ।

जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र दुलहादुलही मन्दिरसहित पवित्र तलाउ गङ्गासागर एवं धनुषसागरको प्रदक्षिणा गर्दै पहिलो रात्रिबास धनुषाको हनुमानगढीमा बसेका यात्रीले यसअघि भारतको मधुवनी जिल्लाका कलना र पूmलहरमा दोस्रो र तेस्रो दिन बिताई चौथो दिन हिजो मटिहानीबाट महोत्तरी प्रवेश गरेका हुन् ।  नेपाल र भारतका विभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमिटरको यात्रा गरिने यो क्रममा १५ रात्रिबासको परम्परा छ । नेपालतर्फ महोत्तरी र धनुषा गरी १०७ र भारतर्फ मधुवनी जिल्लामा २६ किमी दूरी तय गरिन्छ । यात्रा क्रममा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनीमा चार रात्रिविश्रामको परम्परा छ ।

महाशिवरात्रिलगत्तै प्रारम्भ हुने यो यात्रामा भगवान् सदाशिव र श्रीराम तथा जानकी समान रूपले पुकारा गरिने इष्टदेव मानिँदै आइएको छ । कूल १३३ किमीको वृत्ताकारभित्र चार सुरमा शिवालय छन् । पूर्वमा कल्याणेश्वरनाथ, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथ । सदाशिवले यात्रा मङ्गलमय र कल्याणदायक बनाउने हिन्दू मैथिल जनविश्वास छ । डोला जहाँ पुग्छन्, दर्शन गर्नेको चाप हुन्छ । यो यात्रा नेपाल भारतबीच सांस्कृतिक, धार्मिक र आपसी कुटुम्ब सम्बन्धको अटुट परम्परा पनि भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेको परिक्रमा यात्री टोली अब आठौँ दिनसम्म यसै जिल्लामा रहनेछन् । यस क्रममा आज पाँचौँ दिन जलेश्वरमा रात्रिबास हुनेछ । मटिहानीमा जिल्लाको पहिलो रात्रिबास हुने परम्परा छ । यसैगरी छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनबन रात्रिबासपछि महोत्तरीको यात्रा पूरा हुने परम्परा छ । त्यसैगरी, हनुमानगढीमा पहिलो रात्रिबासबाट प्रारम्भ भएको यात्रामा नवौँ, १०औँ, ११औँ, १२औँ र अन्तिम रात १५औँ गरी छ रात धनुषामा बस्ने परम्परा छ । जसमा क्रमशः पर्वता, धनुषाधाम, सतोखर, औरही र जनकपुरधामको रङ्गशाला मैदान पर्छन् । त्यस्तै, मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा दोस्रो कल्याणेश्वर, तेस्रो फुलहर, १३औँ करूणा र १४औँ दिन बिसौल रात्रिबासको परम्परा छ । पूर्व सुरमा सदाशिव श्री कल्याणेश्वरनाथ, पश्चिममा श्री जलेश्वरनाथ, उत्तरमा श्री क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथले यात्रा अवधिभरि डोला र यात्रीको रखबारी गर्ने विश्वास गरिन्छ ।

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा १५ दिनमात्र भए पनि सांसारिक मायाजालबाट पन्छेर अलौकिक यात्राको अवसरका रूपमा यात्री लिन्छन् । “घरपरिवारको बुहार्तन त जिन्दगीभरि झेल्नु छँदैछ नि !” आज जलेश्वरमा भेटिनुभएका यात्री महोत्तरीकै भङ्गाहा–४ का लाली महतोले भन्नुभयो, “घरमा छोराबुहारी नातिनातिनाभरि छन्, हामी बूढाबूढी यसपालि यात्रामा निस्कियौँ” सँगै रहनुभएकी जीवनसँगिनीतर्फ पुलुक्क हेर्दै उहाँले अगाडि भन्नुभयो, “प्रभुले पार लगाउनु हुनेछ ।”

डोलाको आगमनसँगै विश्रामस्थलमा भक्तालुले दर्शन गर्ने र  भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । यात्रीहरूको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्धमा अन्य विश्रामस्थलका झैँ जलेश्वरवासी अहिले दिलोज्यानले खटेका छन् । यो यात्रा दैहिक नभएर पारलौकिक हुने विश्वास गरिन्छ । नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको जलेश्वर–१ का बासिन्दा ७० वर्षीय सुधीर साह बताउनुहुन्छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरूले संयोजन तथा समन्वय गर्दै आएका छन् ।

मिथिलामा यात्रामार्गभित्रका जनजन यो महाकुम्भमा परिचालित देखिन्छन् । यात्रामा हुनेको त आफ्नो तालिका छँदैछ, यात्रामार्गका बस्तीबस्तीमा परिक्रमाको पर्खाइ हुन्छ । ल आज आफ्नो बस्ती हुँदै परिक्रमा आउँछ भन्ने भएपछि सबै डोला दर्शन र यात्रीको खातिरदारीमा सामथ्र्य लुकाउँदैनन् । कोही सर्वत ख्वाउने, कोही खाजा ख्वाउने र कोही वस्त्र फेराउने कार्यमा तल्लीन देखिन्छन् । आफैँ यात्रामा निस्कन नसक्नेले डोलाको दर्शन र यात्रीको सेवा गरेर पुण्य आर्जन हुने यहाँ जनविश्वास छ । “अहो भावले अतिथि सत्कारको त हाम्रो स्थापित परम्परा नै हो, अतिथि देवरूप हुने मैथिल विश्वास छ,” यात्रीको सेवासत्कारमा जुटेका साह भन्नुहुन्छ, “त्यसमा पनि अहिलेका अतिथि (यात्री) त विशिष्ट हुन् ।”

जुनसुकै विश्रामस्थलमा यात्रीको आवास, भोजन, स्वास्थ्योपचार, सुरक्षा र अन्य आवश्यकताबारे स्थानीय (विश्रामस्थल वरिपरिका बासिन्दा) ले स्वस्पूmर्त रूपमै पनि चासो र भागिदारी लिने गरेका छन् । ‘डोला दर्शन र अतिथि सेवाको अवसरले हामी धन्य भएका छौँ’ सेवासत्कारमा जुटेका जलेश्वरवासीमा समर्पण भाव झल्केको देखिन्छ । ‘सियावरके सुखद आगमन हे…! आजु जलेश्वर सुमङ्गल हे !!’ रासस