२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको सुखदुःखमा साथ दिन छथर गाउँपालिकाका थरिथरि कार्यक्रम



अ+ अ-

तेह्रथुम। मुलुकमा सङ्घीयता लागू भएसँगै बनेका तीन तहका सरकारमध्ये स्थानीय सरकारलाई नागरिकको घरआँगनको सरकारका रूपमा लिने गरिन्छ । नागरिकको सहज पहुँचमा रहेकाले स्थानीय तहलाई ‘घरआँगनको सरकार’को उपमा दिइएको हो । यो उपमालाई तेह्रथुमको छथर गाउँपालिकाले सार्थकता दिइरहेको छ ।

यस पालिकाले स्थानीय नागरिकको सुखदुःखमा साथ दिनेदेखि जनजीविकामा सहयोग पुर्‍याउनेलगायत कार्यक्रम ल्याएर स्थानीयलाई नजिकको सरकारको अनुभूति दिने गरी काम गरिरहेको छ । बालबालिका जीवन सुरक्षा कार्यक्रम, मलामी खाजा कार्यक्रम, ६० वर्षमाथिका एकल पुरुषलाई नगदसहितको सम्मान कार्यक्रम यसका उदाहरण हुन् । पालिकाले आर्थिक वर्ष २०७७र७८ बाटै मलामी खाजा कार्यक्रम, २०७८र७९ देखि सुरु गरेको ज्येष्ठ नागरिक एकल पुरुष सम्मान र चालु आवदेखि बालबालिका जीवन सुरक्षा कार्यक्रम सुरु गरेको हो ।

पछिल्लो समय सुरु गरिएको बालबालिका जीवन सुरक्षा कार्यक्रमअन्तर्गत सेवा क्षेत्रभित्रका नवजात शिशु जन्मिएदेखि नाबालिग नभएसम्म निकाल्न नमिल्ने गरी रु पाँच हजार जम्मा गर्ने गरिएको छ । शिशुको जन्मदर्ता, संरक्षकको नागरिकता र सम्बन्धित वडाको सिफारिसका आधारमा पालिकाले आवश्यक कागजात उपलब्ध गराउँछ । सोही कागजातका आधारमा पालिकाको सेवा केन्द्र शुक्रबारे बजारस्थित नबिल बैङ्कमा शिशुको मुद्धति खाता खोलेर उक्त रकम जम्मा गरिदिँदै आएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीले बताए । यस कार्यक्रमबाट हालसम्ममा ११ जना बालबालिका लाभान्वित भएका छन् ।

वडा नं ६ सुदापका भिमादेवी खड्काले सन्तान प्राप्तिको खुसियालीमा स्थानीय सरकारसमेत सामेल भएकाप्रति खुसी व्यक्त गरिन् । यसरी पालिकाले नै खाता खोलेर रकम बचत गरिदिँदा अभिभावकमा सन्तानका लागि बचत गर्ने बानीको विकास हुने उनले बताइन् । गत मङ्सिरमा जन्मिएको आफ्नो पहिलो सन्तानको पालिकाले खाता खोलेर जम्मा गरिदिएको रु पाँच हजारमा आफूले पनि हरेक महिना रु एक हजार जम्मा गर्दैै आएको खड्काले सुनाइन् ।

गाउँपालिकाले ज्येष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रमअन्तर्गत हरेक आवको अन्तिममा ६० वर्षमाथि उमेर पुगेका एकल पुरुषलाई रु १२ हजार नगदसहित सम्मान गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक पराजुलीले बताए । गत आर्थिक वर्षमा यस्ता ५३ जना पुरुषलाई सम्मान गरिएको थियो ।

गाउँपालिका–५ नेर्तपाका ६४ वर्षीय खड्कबहादुर मादेनले पालिकाबाट आफूसँगै अन्य एकल पुरुषहरूले पनि सम्मान पाउँदा खुसी लागेको बताए ।गाउँपालिकाले आर्थिक वर्ष २०७७–७८ देखि सुरु गरेको मलामी खाजा कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यस कार्यक्रमअन्तर्गत पालिकाभित्रका कुनै पनि व्यक्तिको मृत्युपश्चात् जनप्रतिनिधि र कर्मचारीहरू मृतकको घरमै पुगेर समवेदनासहित मलामी खर्चस्वरुप रु पाँच हजार प्रदान गर्ने गरिएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा ३३ मृतकका परिवारलाई समवेदनासहित मलामी खाजाबापतको रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिए । गाउँपालिका–५ डुम्ब्रेका जगतबहादुर लिम्बूले आफ्नो बुबाको मृत्युपश्चात् पालिका अध्यक्ष, वडा अध्यक्षसहितको टोलीले घरमै आएर समवेदनापत्रसहित मलामी खाजास्वरुप रु पाँच हजार प्रदान गरेको भन्दै प्रशन्नता व्यक्त गरे । यसरी आफू पितृशोकमा परेको बेला स्थानीय सरकारका प्रतिनिधिबाट समवेदना प्रकट हुँदा आफ्नो पीडा हल्का भएको महसुस गरेको उनले सुनाए ।

पालिकावासीलाई स्थानीय सरकार हामीसँगै छ भन्ने आभास दिलाउन र जनताको सुखदुःख दुवैमा सारथी बन्न यस्ता कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, चेतना विकाससँगै यस्ता कार्यक्रमलाई पनि निरन्तरना दिँदै जाने उनको प्रतिबद्धता छ । रासस