२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरतामा रम्न चाहनेहरूले सरकारको आयुबारे हल्ला चलाएः शंकर पोखरेल



file
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय होटल व्यवसायी सङ्घको प्रथम अधिवेशन आज उद्घाटन गर्दै उहाँले सरकारको आयु कहिले होला भन्ने भनेर हल्ला चलाउनेहरू मुलुकमा अस्थिरतामा रम्न चाहनेहरूको सपनामात्र रहेको बताउनुभयो ।

“कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एक–एक महिनामा एउटा–एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ”, उहाँले भन्नुभयो, “त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपनामात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।”

महासचिव पोखरेलले सरकारले निश्चित उद्देश्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको सहकार्य निरन्तर रहने बताउनुभयो । अहिलेको दुई पार्टीको सहकार्य अस्थिरता समाप्त गर्ने रहेको भन्दै उहाँले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताउनुभयो ।

भविष्यमा जनताले मन पराएको पार्टी सरकारमा र अर्को ठूलो पार्टी प्रमुख प्रतिपक्षमा जानुपर्ने उहाँको भनाइ छ । उहाँले अहिले ल्याउन थालिएका छवटा अध्यादेश मुलुकको व्यावसायिक वातावरण, सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेको बताउनुभयो ।

मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर रहेको भन्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नका लागि योजनाबद्ध पहल भइरहेको बताउनुभयो । सरकारले व्यावसायिक वातावरण बनाउने कुरामा अत्यन्तै गम्भीरतापूर्वक लागेको उल्लेख गर्दै व्यावसायिक वातावरण तयार गर्न कुनै कानुनले व्यवधान खडा गरेको भए त्यसलाई सुधार गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

होटल व्यवसायको सेवा विस्तारबिना पर्यटनको सम्भावना नरहेको बताउनुभयो । महासचिव पोखरेलले समग्र अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न नसकेको भनाइ राख्नुभयो । उहाँले मुलुक अहिले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बलियो भएको भन्दै त्यो राम्रो नभएको सुनाउनुभयो ।

“निर्वाहमुखी अर्थतन्त्र भएको समयमा हुन्थ्यो भने अनौपचारिक अर्थतन्त्र बलियो हुनु नराम्रो थिएन”, उहाँले भन्नुभयो, “तर आज हामी जुन प्रकारको आर्थिक, सामाजिक ढाँचाभित्र रहेका छौँ । त्यो ढाँचाले औपचारिक अर्थतन्त्र कमजोर हुने र अनौपचारिक अर्थतन्त्र बलियो हुने भन्ने कुरा राम्रो होइन ।”

नेपाल लोकतान्त्रिक व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लीलाप्रसाद ढकालले सरकारले व्यवसायको वातावरण निर्माण बनाउनुपर्नेमा जोड दिनुभयो । होटल व्यवसायी सङ्घका अध्यक्ष माधव नेपालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख भइरहेकाले व्यवसायी उत्साही भएको बताउनुभयो । सङ्घले आजै नयाँ नेतृत्व चयन गर्ने छ । रासस