६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नक्कली सगरमाथा आरोही’



अ+ अ-

नयाँदिल्ली । भारत सरकारले पर्वतारोहणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूका लागि दिँदै आएको प्रतिष्ठित तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड विवादमा तानिएको छ । हिमाल आरोहण र साहसिक पर्यटन क्षेत्रमा निकै प्रतिष्ठित मानिएको यो पुरस्कार सगरमाथा चढेको दाबी गरेका नरेन्द्र सिंहलाई दिने भारत सरकारको घोषणा विवादास्पद बनेको हो । नरेन्द्रलाई पुरस्कार दिने भारत सरकारको निर्णयप्रति भारतीय आरोहीहरूले आश्चर्य प्रकट गरेका छन् । यस वर्ष सिंहसहित अन्य ६ जनाले यो पुरस्कार पाउँदै छन् । जसमा सगरमाथा आरोही अनिता कुन्डु पनि छिन् । उनी दक्षिणी र उत्तरी मोहडाबाट सगरमाथा चढ्ने पहिलो भारतीय महिला हुन् । उनीहरूलाई आगामी अगस्ट २९ मा राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार दिने कार्यक्रम रहेको छ ।

भारतको हरियाणा राज्यका नरेन्द्र तिनै व्यक्ति हुन्, जसमाथि २०१६ मे २० मा विश्वको उच्च शिखर सगरमाथा आरोहणको झूटो दाबी पेस गरेर प्रमाणपत्र लिएको आरोप लागेको छ । उनको आरोहणमाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । त्यही भएर आरोहण क्षेत्रमा सम्बद्धहरूले शंकाको निवारण नहुँदै यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार दिइनु तेन्जिङ नोर्गे शेर्पाकै अपमान भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नरेन्द्रलाई पुरस्कारको घोषणा हुनासाथ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूले उक्त निर्णयप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नरेन्द्रको दाबीमाथि भारत र नेपाल सरकार दुवैले गम्भीरतापूर्वक छानबिन गर्न मागसमेत उठेको छ ।

त्यस्तो माग पर्नेमा पर्छन् भारतका चर्चित पर्वतारोही कुन्टल जोयसर । सगरमाथालगायत विश्वका २ दर्जनभन्दा बढी शिखरको आरोहण गरिसकेका जोयसरले प्रमाणपत्र नक्कली र सक्कली यकिन गर्ने आफ्नो काम नभए पनि विवादास्पद विषय टुंगोमा नपुगी पुरस्कार दिनु आश्चर्यजनक भएको बताए । ‘पुरस्कारबारे सुन्नासाथ म त स्तब्ध भएँ, कसरी यति ठूलो पुरस्कार यस्तो व्यक्तिलाई दिने निर्णय गरियो ?, कम्तीमा छानबिन गरेर टुंगोमा पुगेपछि गरेको भए हुने हो,’ उनले भने ।

उनले नरेन्द्रको पृष्ठभूमि र मिडियामा आएका सूचनाहरूलाई हेर्दा उनले सगरमाथा चढेको विश्वास गर्ने आधारहरू नभएको जिकिर गरे । ‘टिम लिडरदेखि उद्धार गर्नेसम्मले होइन भनेका छन्, त्यसमाथि उनले त्यसअघि कुनै ठूला हिमाल चढेको प्रमाण पछि छैन,’ जोयसरले भने । नरेन्द्रलाई पुरस्कार दिने खबर सार्वजनिक भएपछि उनको आरोहणमाथि नै प्रश्न उठाउँदै भारतीय अंग्रेजी दैनिक मिड–डेले बिहीबारको संस्करणमा खोजमूलक समाचार प्रकाशित गरेको छ । लामो समयदेखि पर्वतारोहण क्षेत्रमा कलम चलाउँदै आएकी पत्रकार अनुशा सुब्रमन्यमको खोज समाचारमा नरेन्द्रको आरोहणको दाबीलाई तथ्यसहित गलत दाबी गरिएको छ । हरियाणाका नरेन्द्रले २०१६ मे २० मा सगरमाथा आरोहण गरेको दाबी गरेका थिए । तर, उनकै आरोहण दलका नेता नवकुमार फुकोनले नरेन्द्रले आरोहण गर्न असफल भएपछि बीचबाटोबाटै उद्धार गरिएको खुलासा गरेका छन् ।

‘नरेन्द्र र म चौथो क्याम्पमा थियौं । उनले पर्याप्त अक्सिजन नभएको भनेपछि उनलाई तल झर्न सल्लाह दिएको थिएँ,’ फुकोनलाई उद्धृत गर्दै मिड–डेले लेखेको छ । उनले तिनै नरेन्द्रलाई पुरस्कार दिन लागेको सुनेर आफू आश्चर्यचकित भएको बताए । फुकोनले जस्तै अर्को आरोही रमेश रोयले मिड–डेसँगको कुराकानीमा नरेन्द्रलाई आरोहण गर्न सकिन भन्दै चौथो क्याम्पमा रोइरहेको देखेको तर, पछि काठमाडौंमा प्रमाणपत्र देखाउँदा आफू आश्चर्यमा परेको बताएका छन् । नरेन्द्रलाई उद्धार गर्ने लाक्हा शेर्पाले समेत उनको आरोहणको दाबी गलत भनेका छन् । ‘नरेन्द्र सिंहले सगरमाथा आरोहण गर्न नसकेर ८ हजार ४ सय मिटरबाट हाम्रै टोलीले उद्धार गरेको हो । तर, पछि जब प्रमाणपत्र देखेँ म त छक्कै परेँ,’ शेर्पालाई उद्धृत गर्दै मिड–डेले लेखेको छ । भारतीय आरोहीमाथि नक्कली आरोहणको आरोप लागेको यो पहिलो घटना होइन ।

यसअघि सन् २०१६ मै महाराष्ट्र प्रहरीमा कार्यरत दिनेश राठोड र तर्केश्वर राठोडले पनि आरोहणको नक्कली प्रमाण पेस गरेर नेपाल पर्यटन विभागबाट सगरमाथा आरोहण गरेको प्रमाणपत्र हात पारेका थिए । तर, पछि भारतीय आरोही सत्यरूप सिद्धार्थले राठौड दम्पतीले आफ्नो फोटा चोरेर सगरमाथा आरोहण गरेको झूटो दाबी गरेपछि उनीहरूको ‘बदमासी’ बाहिर आएको थियो । उक्त झूटलाई पनि अनुशाले नै पहिलो पटक भारतीय मिडियामार्फत बाहिर ल्याएकी थिइन् । त्यसपछि विभागले गरेको छानबिनमा उनीहरूले पेस गरेको प्रमाण झूटो सावित भएपछि प्रमाणपत्र रद्द गर्दै उनीहरूलाई दस वर्षसम्म नेपालमा पर्वतारोहण गर्न प्रतिबन्ध लगाइएको थियो । पत्रकार अनुशाले नरेन्द्रको आरोहणमाथि पनि आफूले सुरुदेखि नै प्रश्न उठाउँदै आए पनि प्रमाण जुटाउन समय लागेको बताइन् । ‘मलाई राठौड दम्पतीको खोज गर्दा नै नरेन्द्रको पनि आरोहण झूटो हो भन्ने थाहा भएको थियो, त्यतिबेला घटना थाहा पाएकाले पनि उनीविरुद्ध बोल्न मानेका थिएनन् । अहिले आएर मात्र प्रमाण जुट्यो,’ उनले भनिन् ।

राठौड दम्पतीले आरोहण गरेकै वर्ष नरेन्द्रले पनि सगरमाथा आहरोहण गरेको दाबी गर्दै आरोहणसम्बन्धित तस्बिरहरू पेस गरेर प्रमाणपत्र लिन सफल भएका थिए । उनी सेभेन समिट्स ट्रेकबाट सगरमाथा आरोहणमा गएका थिए । नरेन्द्रले विभागमा दिएको जानकारी र पेस गरेका तस्बिरहरूमाथि आरोहणका जानकारहरूले सुरुदेखि नै प्रश्न उठाएका छन् । यस विषयमा नेपालका सञ्चारमाध्यम मात्र नभएर भारतीय सञ्चारमाध्यमहरूले पनि धेरैपटक खोजमूलक सामग्री प्रकाशित गरिसकेका छन् । कान्तिपुर मिडियाको सहप्रकाशन नेपाल साप्ताहिकले नरेन्द्रले सगरमाथा चढेको विवाद पहिलोपटक सार्वजनिक भएलगत्तै यससम्बन्धमा खोजमूलक सामग्री नै प्रकाशन गरेको हो ।

जसमा तथ्यसहित नरेन्द्र सिंहले सगरमाथा चढेको दाबीसहित सार्वजनिक गरेको तस्बिर नक्कली भएको दाबी गरिएको थियो । तर, विभागले त्यस विषयमा थप छानबिन गरेन । जसले गर्दा नरेन्द्रले आफूलाई सगरमाथा आरोहीका रूपमा चिनाउँदै आएका छन् । त्यही प्रमाणपत्रका आधारमा भारत सरकारले उनलाई प्रतिष्ठित पुरस्कार दिने निर्णय गरेको हो । भारतमा नरेन्द्रको घटनालाई पुरस्कारसँगै नेपाल सरकारले जारी गर्ने आरोहणको प्रमाणपत्रको विश्वसनीयतासँग पनि जोडेर हेरिएको छ । त्यही भएर पनि यस विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आरोहण सम्बद्धहरूको भनाइ छ । केहीले त पर्यटन विभागको भूमिकामाथि नै प्रश्न उठाएका छन् । पत्रकार अनुशाले पनि पछिल्लो विवादलाई आफूले पुरस्कारको कोणबाट भन्दा पनि नक्कली आरोहणका हिसाबले गम्भीरतापूर्वक लिएको जिकिर गरिन् । साथै उनले नेपाल सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिँदै तत्काल छानबिन सुरु गर्नुपर्ने बताइन् ।

‘यो घटनाको छानबिन नभएको खण्डमा नेपालले जारी गर्ने प्रमाणपत्रको विश्वसनीयतामाथि नै प्रश्न उठ्छ त्यसैले पनि नेपालका सम्बन्धित निकायहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भनिन् । तर, विभागकी निर्देशक मीरा आचार्यले भने प्रमाणपत्र जारी गर्दा कानुनमा तोकिएबमोजिमको प्रक्रिया र मापदण्ड पूरा गरिएको दाबी गरिन् । आचार्यले सगरमाथा आरोहणको प्रमाणपत्र जारी गर्दा तोकिएको प्रक्रिया पूरा गर्ने गरिएकाले मिडिया र सामाजिक सञ्जालमा आएका सूचना एवं जानकारीसँग अवगत नरहेको बताइन् । कुनै पनि आरोहीलाई सगरमाथा आरोहण गरेको प्रमाणपत्र विभागले नै दिने गर्छ । सामान्यतः पर्यटन मन्त्रालयले खटाउने सम्पर्क अधिकृत र आरोहण दलको नेताले तयार पार्ने प्रतिवेदनका आधारमा विभागले कुनै पनि व्यक्तिले हिमाल आरोहण गरेको र नगरेको यकिन गर्छ । त्यसबाहेक आरोहणको व्यवस्थापन गर्ने संस्थाले उपलब्ध गराउने तस्बिरहरूलाई पनि आधार बनाउने गरिन्छ । कान्तिपुर दैनिक