१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अब पढ्ने होइन त ? ‘रामतुलसी’

अब पढ्ने होइन त ? ‘रामतुलसी’
अ अ+ अ-

रामपुर । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाकोठामा बसेर पढिरहेको देखिन्छ ।

आफैँ स्मार्ट ट्याब खोलेर पढ्ने सुविधा सायद नेपालमै निजी विद्यालयमा पनि कमै होला । सामुदायिक विद्यालयमा त यस्तो प्रविधि भित्रिएको नहुन पनि सक्छ । पाल्पा रामपुर नगरपालिका–५ बेझाड बजारस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यार्थी हाल स्मार्ट ट्याबको माध्यमबाट अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालयमा यस्तो प्रविधि देख्ने जो कोहीलाई लाग्छ, विदेशका विद्यालयका कक्षाकोठामा बसेर पढेजस्तो वातावरण । सोच्दै नसोचेको प्रविधिबाट शिक्षण हुन थालेपछि यतिबेला विद्यार्थी मात्र होइन, अभिभावक, जनप्रतिनिधि, स्थानीय सबैको ध्यान विद्यालयले तानिरहेको छ ।

एउटा कक्षाकोठाभित्र विद्यार्थीका हात–हातमा स्मार्ट ट्याबमात्र नभई रेकर्डिङ स्टुडियो, कम्प्युटर, ल्यापटप, मिक्चर, माइक्रोफोन, भिडियो क्यामेराजस्ता प्रविधि जडान छ । सो प्रविधि रेडियो र टेलिभिजन, रेकर्डिङ स्टुडियोमा देखिन्छ । तर यहाँको विद्यालयमै एउटै कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान गरेर धमाधम शिक्षण कार्य भइरहेको छ । यो कार्य देख्दा विदेशस्थित ठूलाठूला विश्वविद्यालयमा पढेजस्तो लाग्ने गर्दछ ।

समयानुकूल भित्रिएका प्रविधिलाई अवलम्बन गर्दै विद्यालयले अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा (आइसिटी कक्षाकोठा) निर्माण गरेर विभिन्न उपकरण जडान गरी पठनपाठन गरिरहेको छ । विदेशमा पढाई हुने प्रविधि आफ्नै विद्यालयमा निर्माण भई पढ्न पाउनु नै हाम्रो लागि ठूलो अवसर रहेको बताउनुहुन्छ, छात्रा विविशा घिमिरे । उहाँ आफैँले स्मार्ट ट्याबबाट पढाइसँग सम्बन्धित नयाँ कुरा खोजेर जानकारी लिने गर्नुहुन्छ । “सबै विद्यार्थीको घरमा कम्प्युटर, ल्यापटप जस्ता विभिन्न प्रविधिको सुविधा हुँदैन, सबै विद्यार्थी प्रविधिसँग नजोडिन सक्छन्, विद्यालयमा अत्याधुनिक सूचना प्रविधि कक्षाकोठाले हामीलाई नयाँ ज्ञान सीप सिक्ने वातावरण मिलेको छ, यसले प्रविधि र विद्यार्थीको सम्बन्ध नजिक बनाएको छ”, उहाँले भन्नुभयो ।

हिजोका दिनमा फुर्सदको समय विद्यार्थीहरु एकापसमा कुराकानीमा समय बिताउने गर्थे भने अहिले खाली समय मिल्नेबित्तिकै आइसिटी कक्षाकोठामा जाने र प्रविधिमै ध्यान केन्द्रित हुन थालेको छ । साना कक्षामा पढ्नेदेखि ठूला कक्षामा पढ्ने विद्यार्थी आइसिटी कक्षामा बसेर पढ्न पाउँदा औधी हर्षित हुन्छन् । यहाँको सुविधा सम्पन्न प्रविधियुक्त कक्षाकोठाको यत्रतत्र चर्चा मात्र नभई अहिले अध्ययन अवलोकन गर्न आउनेको उपस्थिति बढ्दो छ ।

प्रविधिको प्रयोगले पठनपाठनमा सक्रियता बढाउने र आफूलाई दैनिक केही न केही नयाँ कुरा सिक्न र खोज्न मन लाग्ने गरेको छात्र सन्देश पोखरेलले आफ्नो अनुभव सुनाउनुभयो । यही प्रविधि सिक्नका लागि बाहिर धेरै रकम खर्च गर्नुपर्छ, हाम्रो गाउँघरमा त चाहेर पनि सिक्न पाइने सुविधा छैन तर हामीले विद्यालय तहमा नै आफ्नै पढ्ने महत्वपूर्ण अवसर प्राप्त गरेको उहाँले बताउनुभयो ।

प्रविधियुक्त शिक्षाले पठनपाठनलाई सहज मात्र नभई विद्यार्थीलाई केही न केही नयाँ कुरा सिक्न, खोज्न र जानकारी लिन अभ्यस्त बनाएको बताउनुहुन्छ, छात्रा अनिशा श्रेष्ठ । शिक्षकले पढाउँदै गर्दा पाठसँग सम्बन्धित कुराहरु गुगलबाट खोजेर जानकारी लिने गर्दा सिकाइ छिटो बुझिने र सम्झन पनि सहज भएको अनुभूति गरेको उहाँले सुनाउनुभयो ।

कतिपय विषयवस्तु सैद्धान्तिक शिक्षणले मात्रै बुझाउन नसकिने खालको हुनाले प्रयोगात्मक तरिकाबाट विद्यार्थीलाई बुझाउनुपर्ने भएकाले प्रविधिको प्रयोग गरेर शिक्षण गर्न थालेपछि विद्यार्थीले छिटो बुझ्ने र नयाँ कुरा सिक्न जागरुक हुने गरेको विज्ञान शिक्षक राजन घिमिरे बताउनुहुन्छ । पाठसँग सम्बन्धित कतिपय विषयवस्तु प्रयोगात्मक रुपमा प्रविधिको प्रयोग गरेर देखाउनुपर्ने हुँदा शिक्षण कार्यका लागि सूचना प्रविधिको प्रयोग अति अपरिहार्य रहेको उहाँको अनुभव छ ।

पूर्वबालविकास तह (मन्टेश्वरी) देखि सबै विद्यार्थीलाई प्रयोग हुने गरी कक्षा सञ्चालन गरिएको छ । कक्षा ६ देखि १० सम्मका कम्प्युटर विषय, कक्षा ९ र १० का विद्यार्थीका लागि कम्प्युटर मात्र नभई सबै विषय पठनपाठन भइरहेको छ । साना कक्षाका विद्यार्थीलाई पनि पालैपालो नयाँ प्रविधिबाट पढाउने, सिकाउने कार्य चलिरहेको छ । हाल ५० जना विद्यार्थीले एकैपटक बसेर स्मार्ट ट्याबमा पढ्न मिल्ने व्यवस्था छ । मोनिटरिङ, भिडियो क्यामेरा, प्रिन्टर, ल्यापटप, माइक्रोफोन, मिक्चर, रेकर्डिङ स्टुडियो, सम्पादन कक्षको छुट्टै व्यवस्था, विद्यार्थीले समूह कार्य गर्न तीनवटा प्यानलबोर्ड, एसीसहितको सुविधा सम्पन्न कक्षाकोठा पठनपाठनमा प्रयोग भइरहेको छ ।

शिक्षा मन्त्रालय र आइएसिई कोरियाको साझेदारीमा अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा निर्माण गरिएको हो । सो प्रविधिसहितको कक्षाकोठा निर्माणका लागि नेपालभित्रका तीनवटा विद्यालय छनोटमध्ये रामतुुलसी नमुना माविसहित बाग्लुुङको ताराखोलामा अवस्थित नेपाल सेकेण्डरी विद्यालयलाई शिक्षा मन्त्रालयबाट स्वीकृत प्रदान गरेपछि नयाँ प्रविधिसहितको कक्षाकोठा निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याइएको छ । करिब रु एक करोड ५० लाखको लागतमा तयार पारिएको विद्यालयले जनाएको छ । अघिल्लो शैक्षिक सत्रमा शुभारम्भ गरेर यस शैक्षिक सत्रबाट शिक्षण कार्यका लागि सञ्चालन भइरहेको छ । यहाँ सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमका कार्यक्रम समेत हुने गरेका छन् ।

कक्षा शिक्षणका क्रममा शिक्षकले पढाउँदै गर्दा विद्यार्थीले तत्कालै प्रश्नको उत्तर गुगलबाट खोजेर आफै पत्ता लगाउने हुँदा उत्तर खोज्न किताबको पाना पल्टाइरहनु नपर्ने र प्रविधिको प्रयोगले पाठसँग जोडिएका नयाँ कुरा आफैँ खोजेर पत्ता लगाउन सक्ने भएको सूचना प्रविधि ९आइटी० शिक्षक चन्द्रप्रकाश भट्टराई बताउनुहुन्छ । “रेकर्डिङ स्टुडियोमा शिक्षकले पढाएका कुराहरु रेकर्ड हुन्छन्, यदी विद्यार्थीले पढ्ने क्रममा नबुझेको, अप्ठ्यारो लागेको छ भने भोलिपल्ट आएर वा सोही दिन समय मिलाएर पुनःदोहोराएर पढ्न र बुझ्न सक्ने प्रविधि छ, गुगलमा खोजेर आफूलाई आवश्यक पर्ने नयाँ कुरा पत्ता लगाउने, नयाँ कुरा सिक्न बढी विद्यार्थी उत्सुक र जिज्ञासु बनेका छन्, मनोरञ्जन तरिकाबाट पढाइ भइरहेको छ” उहाँले भन्नुभयो ।

अहिलेको २१औँ शताब्दिमा विदेशमा गएरपनि प्रतिष्पर्धा गर्न सक्ने खालको जनशक्ति उत्पादन गर्न, समयानुकूल आएका प्रविधिलाई अवलम्वन गरी विद्यार्थीको आवश्यकता पूरा गर्न विद्यालय सक्षम बनेको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ । अन्य विद्यालयभन्दा फरक ढङ्गले काम गर्नका लागि सूचना प्रविधि कक्ष (आइसिटी ल्याब) मात्र नभई अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा नै तयार पारिएको उहाँले बताउनुभयो ।

“विद्यार्थीले हातहातमा स्मार्ट ट्याबलेट लिएर शिक्षकसँगै सिक्ने र त्यसलाई व्यवहारमा उतार्न प्रयोगात्मक शिक्षण सिकाइ भइरहेको छ, नयाँ प्रविधि सिक्न पाउँदा विद्यार्थी पनि उत्साहित छन्”, प्रअ लम्सालले भन्नुभयो, “हाम्रो नारा नै ‘सिक्नका लागि रामतुलसी’ भन्नेछ, यहाँ आउने जो कोहीले पनि अन्य विद्यालयमा भन्दा फरक केही न केही नयाँ कुरा सिक्न पाउनु हुनेछ, यो नै रामतुलसीको पहिचान हो” ।

हरियाली पार्कसहितको सफा, सुग्घर, प्रविधिमैत्री विद्यालयको रुपमा पठनपाठन भइरहेको छ । निर्धक्कसँग यस विद्यालयमा विद्यार्थी पठाएर प्रविधिमैत्री शिक्षण पद्धतिसँग परिचित हुनका निम्ति सबै अभिभावकलाई प्रअ लम्सालको अनुरोध छ । अभिभावकले विद्यालयप्रति गरेको विश्वास र सहयोगका कारण विद्यालय यहाँसम्म आइपुगेको उहाँ बताउनुहुन्छ ।

विसं २०७४ देखि नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा घोषणा भएको हो । उच्च शिक्षातर्फ शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र प्राविधिक धारतर्फ डिप्लोमा इन एग्रीकल्चर बालीविज्ञान कक्षा सञ्चालन भइरहेको छ । आफ्नै गाउँमा बसेर प्राविधिक शिक्षा पढ्न पाउँदा विद्यार्थीलाई उच्च शिक्षाका लागि बाहिर जाने र आर्थिक भारको समस्या परेको छैन ।

यो विद्यालय पाल्पा जिल्लाकै नमुनाउन्मुख र पुरानो विद्यालयको रुपमा परिचित छ । यस विद्यालयमा हाल पाल्पा, स्याङजा, तनहुँ र नवलपुर जिल्लाका करिव दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । करिब एक सय शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयको रेखदेख र सुरक्षाका लागि सुरक्षा कर्मचारी परिचालन गरिएको छ ।

हाल यहाँ नेपाली, अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भएपनि शिक्षामा अब्बल विद्यालय भएकाले खोजेजस्तै पठनपाठन हुने गरेकाले विद्यार्थी रामतुलसी पढ्ने भनेपछि उत्साहित हुन्छन् । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमुना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ ।

शैक्षिक प्रयोजनका लागि व्यवस्थित प्रयोगशाला तयार पारेर साना र ठूला कक्षाका विद्यार्थीलाई फरकफरक कोठामा कम्प्युटर सिक्ने व्यवस्था मिलाइएको छ । व्यवस्थित पुस्तकालय, बसको सुविधा, आधुनिक चमेनागृह सञ्चालन, सेनेटरी प्याड प्रयोगमा जोड, स्टेम ल्याबको प्रयोग, विद्यालयको वेबसाइट र सर्भर सञ्चालन, विद्यार्थी प्रगति विवरणलाई व्यवस्थित गरिएको विद्यालयले जनाएको छ । प्राथमिक उपचारका लागि एक जना नर्स शिक्षकको व्यवस्था गरिएको छ ।

यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमुना पूर्व बालविकास अर्थात् मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुविधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाइमा पर्ने गरेको छ । प्रयाप्त खेल मैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालय लगायतको राम्रो सुविधा छ । विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री सबैको प्रबन्ध, विद्यालयभित्रै तयार पारिएको स्वस्थकर खाजाको व्यवस्था, पढ्दै, खेल्दै सिक्ने वातावरणले विद्यार्थी सिकाईमा जिज्ञासु बनेका छन् ।

सामान्यतया विद्यालयको समय बिहान १० देखि ४ बजेसम्म हो, तर आवश्यकताअनुसार यहाँका शिक्षक, कर्मचारी बिहानदेखि साँझसम्म विद्यालयको शैक्षिक विकासमा अहोरात्र खटिएकै हुन्छन् । शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीले सोचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ ।

रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चउर, बगैचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुविधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैकासामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योती प्रदान गर्न २०२५ सालमा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ । ‘सिक्नका लागि रामतुलसी’ भन्ने नारालाई साकार पार्ने भावी योजनामा समावेश गरिएको छ । सूचना र सञ्चारलाई शिक्षणमा जोड्दै जाने, भौतिक सुविधायुक्त कक्षाकोठा निर्माण गर्दै जाने, ठूलो क्षमताको शैक्षिक सभाहल निर्माण, अभिभावक शिक्षा सञ्चालन गर्ने योजनामा उल्लेख छ । रासस