२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । अहिले देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ भने केही जिल्लामा आवतजावत बन्द गरिएको छ । संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झन्डै २ सय जना संक्रमित थपिने गरेका छन् । गत ४ भदौदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिएको छ । त्यसपछि एक साता थपिएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा बिहान बेलुकाको समयमा तरकारी किनमेलमा भीडभाड बढ्ने गरेको छ ।

यस्तै, बिहान बेलुका बजार खुल्दा जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना हुन सकेको छैन । सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनले आजभोलि थपिएका संक्रमितहरू निषेधाज्ञाअघि नै संक्रमण भएको व्यक्ति हुन सक्ने बताए । उनले भने, ‘लकडाउन खोल्नेबित्तिकै मानिसहरू एकै पटक बाहिर आए । त्यसरी आउँदा जनस्वास्थ्यको मापदण्ड पालना भएन । निषेधाज्ञा प्रभावकारी भए नभएको अबको केही दिनपछि थाहा हुन्छ ।’ उनले आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डहरू पालना गर्नुपर्ने बताए । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले संक्रमण फैलिन नदिन स्वयं व्यक्ति सचेत र सजग हुन जरुरी रहेको बताए । पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक साताभित्र उपत्यकामा मात्रै १ हजार ७ सय १८ जना संक्रमित थपिएका छन् । गत शुक्रबार १ सय ८२, शनिबार २ सय १६, आइतबार १ सय ८६ र सोमबार २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंगलबार २ सय ३२, बुधबार ३ सय १ र बिहीवार ३ सय ७७ जनालाई संक्रमण पुष्टि भएको छ । बिहीबार काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार एक सातालाई आधार मान्दा प्रत्येक दिन ११ हजार ५ सय ८१ जनाको दरले नेपाल भर कोरोना परीक्षण हुँदै आएको छ । पछिल्लो एक साताको अवधिमा आरटी–पिसिआर प्रविधिबाट ८१ हजार ७३ जनाको कोरोना परीक्षण भएको छ । गत शुक्रबार १३ हजार १ सय ९६, शनिबार १२ हजार ५ सय १९, आइतबार ८ हजार २६, सोमबार १० हजार २५, मंगलबार ११ हजार ३ सय २७, बुधबार १३ हजार ३ सय ५१ र बिहीबार १२ हजार ६ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १ सय ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर रहेका संक्रमितमध्ये १ सय ४७ जना आइसियूमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । संक्रमितहरू लक्षणसहित देखिन थालेपछि सरकारलाई सकस हुँदै आएको छ । यस्तै, देशभर ९ हजार ४ सय ८८ जना क्वारेन्टिनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भई भर्ना भएका लक्षण नभएका संक्रमितलाई १४ दिनभन्दा बढी अस्पताल राखे शोधभर्ना नगर्ने जनाएको छ । मन्त्रालयले सबै कोभिड अस्पताललाई पत्राचार गर्दै संक्रमितलाई १० दिनमा पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टरले लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितको १० दिनमा रियल टाइम पिसिआर गर्दा पोजिटिभ आएमा १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको हो । राजधानी दैनिक