२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् ।

समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन् । यसले प्रकृति प्रेमीलाई लोभ्याउँछ, बरु पर्यटन उद्योगसमेतमा सकारात्मक प्रभाव पार्छ । गुराँस फुल्ने मौसममा व्यापार बढ्ने स्थानीयको भनाइ छ ।

गुराँस हेर्नका लागि मानिस टाढा–टाढाबाट आउँछन् । यहाँ आउनेहरू गुराँससँग रमाउने मात्र नभई सोही कारणले व्यवसायलाई पनि टेवा पुगेको छ । गतवर्ष भन्दा यस वर्ष केही समय छिटो गुराँस फुलेको फुङ्लिङ नगरपालिका–७ का एलबी राईले बताउनुभयो ।

गुराँस फुल्न थालेपछि सामाजिक सञ्जाल पनि रङ्गीन बन्न थालेका छन् । मानिसले गुराँससँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा चर्चित बन्दै गएका छन् । कतिपय पर्यटक यहाँ गुराँस हेर्न मात्र होइन, प्राकृतिक सौन्दर्यसँग रमाउन पदयात्रा गर्न रुचाउँछन् । यस्ता गतिविधिले पाथीभरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको स्थानीय बताउँछन् ।

गुराँस सुन्दरता प्रदर्शनका लागि मात्र सीमित छैन । यसका औषधीय गुण पनि छन् । गुराँसका पात, बोक्रा र फूललाई विभिन्न औषधिमा प्रयोग गरिन्छ । स्थानीयस्तरमा गुराँसको अचार, सर्वत, रक्सी उत्पादन गरेर आर्थिक गतिविधि बढाउने पहल भइरहेको छ । ताप्लेजुङमा विगतका तुलनामा अलिक छिटै गुराँस फुल्नथालेका फुङ्लिङ–९ का स्थानीय लेकाली कान्छा मुक्कुमले बताउनुभयो ।

गुराँसलाई अझ व्यवस्थित ढङ्गले संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिने मुक्कुमले बताउनुभयो । सरकार तथा सरोकार भएका निकायले गुराँस उद्यान स्थापना गरी यसको व्यावसायिक उपयोगमा जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये ताप्लेजुङ, तेह्रथुम र सङ्खरसभा जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के २८ प्रजातिका पाइन्छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रमा २६ प्रजातिको गुराँस पाइने तथ्याङ्क रहेको संरक्षण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका हिमाली संरक्षण मञ्च संस्थाका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।

“पाथीभरा क्षेत्र गुराँससँगै पर्यटनका लागि उत्कृष्ट सम्भावना बोकेको गन्तव्य बन्न सक्छ । यहाँको प्राकृतिक सौन्दर्य, विशेष गरी वसन्त ऋतुमा फुल्ने गुराँसका विभिन्न प्रजाति, पर्यटकलाई लोभ्याउने प्रमुख तत्व हुन सक्छन्”, उहाँले भन्नुभयो ।

स्थानीय निकाय, पर्यटन व्यवसायी, तथा सरकारको सहकार्यमा प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र दिगो पर्यटन रणनीति लागू गर्न सकियो भने यो क्षेत्र गुराँस पार्कको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ । रासस