२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन



अ+ अ-

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ ।

गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताउनुभयो । उहाँका अनुसार गत आव २०८०/८१ मा रु ५८ लाख ४० हजार पाँच सय १० भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ रु २५ लाख १५ हजार पाँच सय ४७ तथा मेलापर्व र विशेष अवसरमा गरी रु २६ लाख छ हजार छ सय छ भेटी सङ्कलन भएको रेग्मीले जानकारी दिनुभयो ।

बुधबारको महाशिवरात्रि पर्वमा रु चार लाख ३३ हजार सात सय ७४, मङ्सिरको बालाचर्तुदशीमा रु छ लाख ६१ हजार दुई सय ९४ र साउने सोमबारको मेलामा रु १५ लाख ११ हजार पाँच सय ३८ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिनुभयो ।

शिवरात्रि पर्वको भेटी आज बिहान कोषका पदाधीकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । अन्य शीर्षकमा रु २१ लाख ४२ हजार पाँच सय २९ सहित कोषले साउनदेखि हालसम्म रु ७२ लाख ६४ हजार छ सय ८२ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो ।

मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने गरिएको सचिव बानियाँले बताउनुभयो ।

नियमित पूजाबाट तथा महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने धार्मिक विश्वास रहेको छ ।




भर्खरै