६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्यानिटाइजर र मास्कको व्यापार व्यापक, चैतयता मात्रै २० करोडको स्वदेशी स्यानिटाइजर खपत



अ+ अ-

काठमाडौं । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबर स्यानिटाइजरको कारोबार भएको अनुमान छ। उत्पादन र कारोबार अनियन्त्रित रूपमा भइरहेकाले संघसँग यकिन तथ्यांक भने नरहेको संघका पूर्वअध्यक्ष दीपक दहालको भनाइ छ। ‘सामान्य अवस्थामा वार्षिक ४–५ करोड रुपैयाँ हुने गरेकोमा यसपालि निकै कारोबार भएको देखिन्छ’, पूर्वअध्यक्ष दाहालले भने। केही साबुन उद्योगले आफ्नो उद्देश्य थपेर मास्क र स्यानिटाइजरसमेत उत्पादन गरिरहेका छन्। बजारको मागलाई ध्यानमा राखेर हिमगिरि हाइजिनले मास्क र स्यानिटाइजर दुवैको उत्पादन सुरु गर्‍यो। बजारको मागभन्दा चार गुणा बढी उत्पादन गर्न सकिने कम्पनीका सञ्चालक महेशकुमार जजुको दाबी छ। वार्षिक उत्पादन १ हजार २ सय मेट्रिक टन छ। उनले उद्योगले निर्यातका लागि अनुमति माग गरेको सुनाए।

फलामे छड र सिमेन्ट उद्योेगमा लगानी गरिरहेको जगदम्बा समूहले मास्कमा लगानी गरेको छ। उसले २० करोड लगानी रहेको एन ९५ र केएन ९५ मास्क उत्पादन गरिरहेको छ। महामारी बढ्दै जाँदा नेपालमा मास्क, स्यानिटाइजरलगायत सामग्रीको आयात बढेको छ। साउनमा मात्रै २४ करोड ९७ लाख ५६ हजार रुपैयाँको यस्ता सामग्री भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।नेपालकै उत्पादन पर्याप्त भए पनि विदेशबाट निर्बाध रूपमा स्यानिटाइजर तथा मास्क भित्रिरहेको व्यवसायी बताउँछन्। गुणस्तरमा ध्यान नदिँदा कमसल सामग्री सस्तो मूल्यमा पाइने भएकाले स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको संघका महासचिव विप्लव अधिकारीले बताए। साउनमा ७ करोड ७२ लाख ७० हजार रुपैयाँको फेस मास्क आयात गरिएको विभागले जनाएको छ। तथ्यांकअनुसार साउनमा १६ मुलुकबाट मास्क आयात गरिएको छ। त्यसमा सबैभन्दा धेरै चीनबाट ७ करोड १२ लाख २२ हजार रुपैयाँको ५२ हजार ५ सय ५६ थान मास्क आयात गरिएको छ। यसबाट १ करोड ५१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

भारतबाट ५१ लाख ३२ हजार रुपैयाँका १० लाख ८८ हजार २ सय ८२ थान मास्क ल्याइएको छ। यसबाट १३ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। जेठ १५ देखि असारसम्म ३५ करोड ८० लाख रुपैयाँको फेस मास्क आयात भएको थियो। त्यसपछि साउन मसान्तसम्ममा बढेर ४३ करोड ५२ लाख ७० हजार रुपैयाँ पुगेको छ। विभिन्न मुलुकबाट साउनमा मात्रै १२ करोड २४ लाख १९ हजार रुपैयाँबराबरको स्यानिटाइजर आयात भएको छ। विभागको तथ्यांकअनुसार सो मूल्यमा २ लाख ८८ हजार ९ सय ३३ किलो स्यानिटाइजर भित्र्याइएको हो। साउनमा भारतबाट सबैभन्दा बढी ७ करोड ७५ लाख २८ हजार रुपैयाँबराबरको २ लाख ५ हजार ९ सय ५९ किलो स्यानिटाइजर आयात भएको छ। चीनबाट ३ करोड २ लाख ३४ हजार रुपैयाँबराबरको ६१ हजार ५ सय ३२ किलो स्यानिटाइजर आयात भएको छ।

यसबाहेक जापान, कोरिया, न्युजिल्यान्ड, यूएई र भियतनामबाट पनि स्यानिटाइजर आयात गरिएको छ। जेठ १५ देखि असार मसान्तसम्म २९ करोड ५० लाख रुपैयाँबराबरको स्यानिटाइजर आयात भएको थियो। अन्य डिसइन्फेक्सनका सामग्री साउनमा ५ करोड ६७ हजार रुपैयाँ बराबरको आयात गरिएको छ। चीन, भारत, मलेसिया, थाइल्यान्डलगायत मुलुकबाट यस्ते सामान आयात भएको हो। अन्नपुर्णपोष्ट दैनिक