७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अडियो बाहिरिएपछि विष खाएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ ।  विषादी सेवन गरेका थापाको सोमबार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापाले सोमबार कलंकीस्थित साथीको कोठामा विषादी सेवन गरेका थिए । साथीको कोठामा अचेत भेटिएका थापालाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

थापाको साथबाट एक पेजको पत्र बरामद भएको एसपी बोहोराले बताए । पत्रमा थापाले सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गरेका छन् ।

आईतबार सुमेरु सहकारीका पूर्वसचिव विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा थापासँग कुराकानी भएको अडियो क्लिप सार्वजनिक भएको थियो । अडिओमा दुईजनाबीच सहकारीको समस्या मिलाईदिने र त्यसको चाजोपाजो मिलाउनको लागि करोडौं रकम आवश्यक पर्ने भएकोले पैसाको बार्गेनिङ समेत गरिएको थियो ।

सोहि अडियोको सन्दर्भमा प्रहरीले धादिङ घर भएका अर्का एक जनालाई पनि पक्राउ गरि सोधपुछ पश्चात छोडेको थियो । सो अडियो क्लिप परीक्षणको क्रममा रहेको र सो पश्चात् थप प्रक्रिया अघि बढाईने एसपी बोहराले बताए ।

मन्त्रालयले गत पुस २८ मा सुमेरु सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

थापाको शव टिचिङ अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।