एजेन्सी । च्याम्पियन्स ट्रफीको सातौं खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । पाकिस्तानको रावलपिण्डीमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको २:४५ बजेबाट सुरु हुनेछ ।
दुवै टोलीले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हराएको थियो ।
१–१ खेल जितेको दुवै टोलीको २–२ अंक छ । तर, राम्रो रनरेटका कारण दक्षिण अफ्रिका समूह ‘बी’ को अंक तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जित्ने टोलीले समूह ‘बी’ मा बलियो स्थान हासिल गर्नेछ ।
एकदिवसीयमा दक्षिण अफ्रिकाको अग्रता
एकदिवसीयमा भने दक्षिण अफ्रिका अगाडि छ । यी दुई टोलीले एकदिवसीयमा हालसम्म १ सय १० पटक आमनेसामने गरेका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अष्ट्रेलियाले ५१ खेल जितेको छ । यस्तै, ३ खेल बराबरी हुँदा १ खेल नतिजा आउन सकेन ।
च्याम्पियन्स ट्रफीमा भने यी दुईले हालसम्म खेलेका छैनन् ।
पिच रिपोर्ट
रावलपिण्डी क्रिकेट स्टेडियमको पिच ब्याट्सम्यान र बलर दुवैका लागि सहयोगी रहेको छ । यहाँ अहिलेसम्म २७ ओडिआई खेलिएको छ । हाल सम्म खेलिएका खेलमध्ये पहिले ब्याटिङ गर्ने टोलीले १२ खेल जितेको छ भने बलिङ गर्ने टोलीले १५ खेल जितेको छ । यहाँ उच्चतम स्कोर ३३७/३ हो, जुन पाकिस्तानले२०२३ मा न्यूजील्याण्ड विरुद्ध बनाएको थियो।
दुबै टोलीको सम्भावित प्लेइङः११
अष्ट्रेलियाः स्टिभ स्मिथ (कप्तान), म्याथ्यु सर्ट, ट्राभिस हेड, मार्नस लाबुसचेन, एलेक्स केरी, जोश इङ्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, बेन द्वारसा, नाथन एलिस, स्पेन्सर जोन्सन र एडम जाम्पा।
दक्षिण अफ्रिकाः टेम्बा बावुमा (कप्तान), रायन रिकेल्टन, हेनरिक क्लासेन (विकेटकीपर), रसी भान डेर डुसेन, एडेन मार्कराम, डेभिड मिलर, वेन मुल्डर, मार्को यान्सन, कागिसो रबाडा, केशव महाराज, लुंगी एनगिडी।










