
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग टेलिफोन संवाद गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले प्रकृतिका बुवा सुनिल लम्सालसँग कुराकानिमा गर्दै प्रकृतिको न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घटनामा निष्पक्ष छानबिनको पहल भइरहेको बताउदै प्रधानमन्त्रीले सम्हालिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । सुरुवाती समयदेखि नै पहलकदमी लिएको छ ।’
प्रकृतिका बुवा सुनिलले पनि आगामी दिनमा यस्ता घटना नहोस् भनेर राज्यले पहल गरिदिनुपर्ने बताएका छन् । उनले भने, ‘आगामी दिनमा यस्तो घटना सुन्न नपरोस् । दोषीलाई कडा कारबाहीका लागि सरकारबाट पहल होस् ।’ त्यसपछि प्रधानमन्त्री ओलीले घटनालाई चासोपूर्वक हेरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले त्यस घटनाबारे निष्पक्ष छानबिनसहित र दोषीलाई कारबाही हुने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले लम्साल निवासमा पुगेर भेटघाट गरेका सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । सोहि क्रममा उनले लम्साल परिवारसँग प्रधानमन्त्रीको टेलिफोन गराएका थिए ।