कैलाली। धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ को सेमिफाइनल पुग्ने दुई टोलीको आज टुङ्गो लागेको छ ।
समूह ‘ए’ बाट विजेता बन्दै गोदावरी नगरपालिकाको टिम र समूह ‘बी’ बाट समूह विजेता बन्दै पुर्नवास नगरपालिका ‘बी’ को टिम सेमिफाइनल पुगेका हुन् । समूह ‘ए’ मा रहेका पुनर्वास नगरपालिका ‘ए’ र शुक्लाफाँटा नगरपालिका तथा समूह ‘बी’ मा रहेका जोरायल गाउँपालिका र घोडाघोडी नगरपालिका प्रतियोगिताबाट बाहिरिएका छन् ।
आज सम्पन्न प्रतियोगिताको पाँचौँ खेलमा गोदावरी नगरपालिका विजयी भएको छ । प्रतियोगितामा दोस्रो खेल खेलेको गोदावरीले ५ विकेटको जीत हासिल गरेको छ । पुनर्वास नगरपालिका ए भने लगातार दोश्रो खेलमा पराजित हुँदै प्रतियोगीताबाट बाहिरिएको छ । पुनर्वास नगरपालिका ए ले दिएको ५९ रनको लक्ष्य गोदावरी नगरपालिकाले ७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग-यो । गोदावरीका लागि आयुश खड्काले अविजित २० रन बनाए । त्यसैगरी गजेन्द्र बोहराले १७ रनको योगदान दिए । हृदय बिठारी ७ रनमा अविजित रहे । । पुनर्वास नगरपालिका ए का लागि पारस सुनार, पारस शाही र कप्तान अविनास सिंहले समान एक एक विकेट लिए ।
त्यसअघि पुनर्वास नगरपालिका ‘ए’ ले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । खराब मौसमका कारण ८ ओभरमा छोट्याइएको खेलमा पुनर्वास ‘ए’ ले निर्धारित ८ ओभरमा ८ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । पुनर्वास ‘ए’ का कप्तान अविनास सिंहले सर्वाधिक ३१ रन बनाए भने पारस शाहीले १३ रन बनाए । गोदावरी नगरपालिकाका लागि सुशील साउदले करियरकै उत्कृष्ट बलिङ गरे । १ ओभर बलिङ गरेका साउदले १ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ दी म्याच चुनिए । त्यसैगरी गजेन्द्र बोहराले २ विकेट लिँदा खडक बोहराले १ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा जोरायल गाउँपालिकालाई पराजित गर्दै पुनर्वास नगरपालिका ‘बी’ पनि सेमिफाइनल पुगेको छ । जोरायलमाथि ४७ रनको जित हात पार्दै पुनर्वास ‘बी’ अन्तिम चारमा पुगेको हो । पुनर्वास नगरपालिका बीको यो लगातार दोस्रो जीत हो भने जोरायल गाउँपालिका एक खेलमा जीत र एक खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका ‘बी’ ले प्रतियोगिताकै सर्वाधिक स्कोर बनाएको थियो । पुनर्वास ‘बी’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । पुनर्वास ‘बी’ का लागि अघिल्लो खेलमा शतक प्रहार गरेका दीपक बोहराले आज आक्रामक अर्धशतक प्रहार गरे । ४६ बल सामना गरेका बोहराले १० चौका र ३ छक्काको मद्दतले ८२ रन बनाए ।
बोहरा म्यान अफ दी म्याच चुनिए । वसन्त सिंह कार्कीले ३१,आशिष लुहार २८, टेक रावतले २२ तथा सुवास ऐरले १० रन बनाए । जोरायल गाउँपालिका लागि वसन्त खत्रीले सर्वाधिक ३ विकेट लिए । सञ्जय बोहरा, धर्मराज जोशी र दीपक रोकायाले समान एक एक विकेट लिए ।
पुनर्वास नगरपालिका ‘बी’ ले दिएको दुई सय रनको लक्ष्य पछ्याउने क्रममा जोरायल गाउँपालिकाले पूरा २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो । जोरायल गाउँपालिकाका लागि सुनिल चन्दले उत्कृष्ट अर्धशतकीय पारी खेलेपनि जित दिलाउन सकेनन । चन्दले ४३ बलमा ६० रन बनाए भने कप्तान योगेश भाटले ३३ बलमा २८ रन बनाए । दीपक कँडेलले १९ रन बनाउँदा वसन्त खत्री १५ रनमा रनआउट भए । पुनर्वास नगरपालिका ‘बी’ का लागि हिक्मत महराले ४ विकेट लिए । त्यस्तै सागर भण्डारीले २ तथा भोजराज भट्ट र सचिन भट्टले समान एक एक विकेट लिए । शनिबारबाट समूह ‘सी’ र समूह ‘डी’ का खेलहरु हुनेछन् ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरिका १२ वटा स्थानीय तहका टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद रु दुई लाख, उपविजेता टोलीले नगद रु एक लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजार, बेस्ट बलर र ब्याटरले जनही रु १५/१५ हजार, उदयमान खेलाडीले रु १० हजार र प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले नगद रु दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक कैलाली जिल्ला क्रिकेट सङ्घले जनाएको छ । रासस










