काठमाडौं । ५० मेट्रिक टन युरिया पैंचो दिन अनुरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना संग सम्बाद गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ करिब २० मिनेट लामो टेलिफोन सम्वाद गर्दे छिमेकी राष्ट्र बंगलादेशसँग सहयोगका लागि आग्रह गर्नुभएको हो । बंगलादेश नेपाललाई ५० मेट्रिक टन युरिया पैंचो दिन सहमत भएको जनाईएको छ ।
युरिया मल संगै उहाहरु बीच रेल्वेमार्गका विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने योजनाअनुरुप चीनबाट काठमाडौं, भारतको रोहनपुर हुँदै बंगलादेशसम्म रेल पुर्याउने योजना रहेको जानकारी गराउदै बंगलादेशसँग पनि सहकार्यका लागि आग्ह गर्नुभयो ।
रेल्वेमार्ग जोड्नका लागि प्रधानमन्त्रीले रोहनपुरबाट भारतको सिंगवादसम्म पुग्ने नयाँ रुट दिएकोमा प्रधानमन्त्री हसिनाप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको छ ।
यसै गरी टेलिफोन सम्वादमा विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बङ्गलादेशलाई बिजुली आपूर्ति गर्नका साथै दुई देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बङ्गलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसै गरी दुई प्रधानमन्त्री बीच कोभिड–१९ महामारीविरुद्ध दुबै देशका सरकारले गरेका काम कारबाहीका बारेमा पनि छलफल भएको थियो ।











