६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ

बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ
अ+ अ-

बलेवा । यो वर्षको वर्षा मुस्ताङको स्याउका लागि बाधक बन्यो । बाढी र पहिराका कारण बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा झरेको पहिरो र भत्किएको सडकका कारण यो वर्ष समयमै मुस्ताङको स्याउ बजारमा आउन पाएन् ।

ढिलै भए पनि एक महिना खर्चेर सडक मर्मतको काम भएको छ । अहिले सामान्य साना सवारी बेनी–जोमसोम सडकमा चलिरहेका छन् । तर स्याउ सहज हिसाबले बजार आउने अवस्था भने अझै बनेको छैन । भदौको पहिलो सातादेखि नै बजारमा आउनुपर्ने मुस्ताङको स्याउ यतिबेला मुस्किलले पोखरा झरेको छ ।

स्थानीय बजारमा पहिले आउने मुस्ताङको स्याउ अहिले भने पहिले नै पोखरा पुगेको बागलुङका एक व्यवसायीले बताए । चार्टर गरेका जहाजले बोकेर पोखरा पुर्याइएको स्याउको बागलुङ, पर्वत, म्याग्दीका बजारमा माग छ । “अब मुस्ताङको स्याउ ल्याउँदा पनि घट्दैन, पोखराबाटै भए पनि मगाएँ”, बागलुङका व्यवसायी मधु क्षेत्रीले भन्नुभयो, “यो वर्ष सोचेको जस्तो मुस्ताङको स्याउ बजारमा ल्याउन सकिएन् ।” उहाँले फलफूलको थोक बिक्री गर्दै आउनुभएको छ । बजारमा चाडपर्वका बेला मुस्ताङको स्याउको माग बढी हुन्छ । कामको सिलसिलामा बागलुङ, पर्वत म्याग्दीका साथै यस आसपासका जिल्लाका मुकाममा बस्नेले दशैँ तिहार जस्ता पर्वहरुमा मुस्ताङको स्याउ कोशेलीका रुपमा घर पुर्याउने गरेका छन् । उनीहरुको यो प्रचलनले त्यस क्षेत्रबाट घरगाउँमा पुगेका मानिसलाई नै परिवार तथा गाउँलेले ‘खोइ स्याउ ल्याएको छैन ?’ भनेर सोध्ने नै गरेका छन् । 

“कोशेली लैजान स्याउ खोज्न आउनेहरुले राजस्थानको स्याउ लाँदैनन्, मुस्ताङको स्याउ बजार आएकै छैन्”, पर्वको कुश्मामा फलफूलको व्यवसाय गर्ने हिमादेवी शर्मा भन्नुहुन्छ, “त्यतातिरबाट यतिखेरसम्म स्याउ र आलु झथ्र्यो र बेचिन्थ्यो तर अहिले आएको छैन ।” 

गत असार १९ गते भिषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै साढे एक महिनापछि मात्र सञ्चालन भएको छ । असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि अर्को विपद्को सामना गरेको मुस्ताङले अहिले सुखको सास फेर्न थालेको भए पनि स्थानीय उत्पादनको बजारीकरणमा भने मार खेपेको छ । 

बाढीपहिरोले सडक र कोरोना कहरका कारण हवाइ सेवा बन्द हुँदा यो वर्षको आलु र स्याउको बजारीकरणमा किसान मारमा परेको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताउनुभयो । “किसानका बारीमा फलेको आलु भण्डारणमै रह्यो, स्याउ पनि समयमा बजार पुर्याउन सकिएन्”, थकालीले भन्नुभयो, “बाटो बन्द हुँदा किसानले निर्यात गर्न पाएनन् ।” सडकका कारण सबैभन्दा धेरै किसान मर्कामा परेको उहाँले बताउनुभयो । 

“भदौदेखि स्याउ बिक्रीका लागि तयार हुन्छ तर बाटो र कोरोनाले सहज हिसाबले बिक्री गर्ने वातावरण बनेन”, थकालीले भन्नुभयो, “यो वर्ष आलु रोकियो स्याउ पनि रोकियो भने मुस्ताङलाई ठूलो क्षति पुग्छ ।” 

मुस्ताङको स्याउ चाडपर्वका बेला बजारमा बढी बिक्री हुने गर्दछ । दशैँ तिहारजस्ता पर्व सकिए भने यहाँको स्याउको माग बजारमा ह्वात्तै घट्ने व्यवसायीहरु बताउँछन् । त्यसैले यहाँको स्याउ बजारमा समयमा नै पुर्याउन सकेमात्रै राम्रो मूल्यमा बिक्री हुन्छ ।

हरेक वर्ष यहाँका किसानले कम्तीमा पनि पाँच हजार ५०० मेट्रिकटन स्याउ उत्पादन गर्दै आएका छन् । उत्पादनका हिसाबले ५० देखि ७० करोडको स्याउ मुस्ताङबाट हरेक वर्ष निर्यात हुन्छ । नेपालमा वर्षमा झण्डै छ अर्ब रुपैयाँभन्दा धेरैको स्याउको कारोवार हुने गरेको तथ्याङ्क पाइन्छ । विशेषगरी भारत र चीनबाट आउने स्याउको प्रतिस्थापनका लागि पनि मुस्ताङको स्याउ गतिलो उपाय हो ।

यातायातको सहज पहुँच नहुनु, बजारसम्म किसानको सिधा पहुँच नहुनु र मुस्ताङबाट ढुवानीभन्दा विदेशबाट स्याउ भित्र्याउँदा सस्तो पर्ने भएकाले विदेशी स्याउले प्रश्रय पाउने गरेको यहाँका किसान चन्द्र थकालीको गुनासो छ । 

आलु, फापर, गाजर, जौलगायका कृषिबाली उब्जाउने यहाँका किसानले स्याउको बगानलाई पनि उत्तिकै महत्व दिने गरेका छन् । अहिले नयाँ लगाइएको ७०० हेक्टर जमिनमा फसल आउन शुरु गर्दा नेपालको बजारमा मुस्ताङको स्याउको उपस्थिति थप बलियो हुन्छ ।

किसानले बगैँचा बढाउँदै लगेकाले पनि मुस्ताङको स्याउले विदेशी स्याउको प्रतिस्थापनमा केही हदसम्म काम गर्ने विश्वास स्थानीय बजारको रहिआएको छ । बजारको समस्या नभए पनि किसानदेखि उपभोक्तासम्मको दूरीको दरारले यहाँका किसानले उत्पादन गर्ने स्याउलाई बजारीकरणमा समस्या छ ।

मुस्ताङको स्याउ काठमाडौं, पोखरा, वीरगञ्ज, भैरहवाजस्ता ठूला सहर र स्थानीय बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । मौसममा यहाँको स्याउको मूल्य अन्यत्रको स्याउभन्दा प्रति किलोमा करिब २० देखि ५० रुपैयाँ बढीमा बिक्री हुने गर्दछ ।

“हरेक वर्ष व्यापारी किसानको बारीमै आएर स्याउ उठाउँथे अहिले त्यो अवस्था छैन”, स्याउ जोन कार्यक्रमका संयोजक माधव लम्साल भन्नुहुन्छ, “कोरोनाको कहरका कारण मुस्ताङ प्रवेशमा कडाइ गरिएको छ ।” जिल्ला सङ्कट व्यवस्थापन समितिले जोकोही मुस्ताङ प्रवेश गर्दा अनिवार्यरुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने बाध्यकारी निर्णय गरेको छ । स्याउको खरिदका लागि त्यहाँ पुग्नेलेसमेत एकान्तमा बसेर काम लगाउन पाउने तर बारीमा पुग्न नपाउने व्यवस्था छ । यसरी यो वर्ष मुस्ताङका किसानले लगाएको स्याउले सहज बजार नपाउनमा कोरोना कहर अर्को बाधक बन्यो ।

मुस्ताङमा स्याउको इतिहास

मुस्ताङमा स्याउ फल्न थालेको ५० वर्ष भयो । यहाँ पहिलोपटक १० वटा बिरुवा रोपेको ५४ वर्ष पुग्यो । परीक्षणका लागि रोपिएका बिरुवाले फल दिन थालेपछि शुरु भएको हो मुस्ताङमा स्याउको व्यावसायिक खेती । अन्न उब्जने जमिनमा पतझर बिरुवा नलगाउने भनेर उफ्रिएका मुस्ताङका नागरिकले लटरम्म फलेका १० बिरुवा देखेर आफ्नो बारी सजाउने सपना देखेका थिए । 
तिनै किसानको सपना पूरा हुँदा मुस्ताङले परिचय फेरेको छ । मुस्ताङमा प्रायः पानी पर्दैन । चर्को घाम लाग्ने, तर पानी नपर्ने भएकाले यहाँको स्याउमा स्वाद र रङ्ग भरिन्छ । यहाँको स्याउको विशेषता भनेकै स्वाद र रङ्ग हो । रसिलो, गुलियो र हेर्दा रातो देखिने स्याउले नेपाली मात्रै होइन, विदेशीलाई आकर्षित गर्छ । चिसो हावापानी, हिउँदमा हिउँ र वर्षात्को समयमा चर्को घामले स्याउको फल विकासमा सघाउने स्याउ जोन कार्यक्रमका संयोजक माधव लम्साल बताउनुहुन्छ ।

मुस्ताङको एक हजार २०० हेक्टर जमिनमा अहिले स्याउका बिरुवा छन् । पाँच सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले फसल लिने गरेका छन् । बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको छ । स्याउका बिरुवा उत्पादनसमेत मुस्ताङमा हुन्छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।

विसं २०२३ मा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पुर्याएको इतिहास छ । भारतमा कृषि विज्ञान पढ्न गएका बेला उत्तरका भू–भागहरूमा फलेको स्याउ देखेर मुस्ताङमा स्याउखेतीको परिकल्पना गर्नुभएका शेरचनलाई दरिलो साथ दिने काम त्यहाँका तत्कालीन मुखिया इन्द्रमान शेरचनले गर्नुभयो ।

सोही सालमा नै उनै इन्द्रमानको जमिनमा मुस्ताङमा पहिलोपटक १० वटा स्याउका बिरुवा रोपिएको थियो । कृषि विज्ञान पढेर आएका बुद्धिरत्नले २०२३ सालमा मुस्ताङकै मार्फामा बागवानी केन्द्र स्थापना गर्नुभयोे । सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मिरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट शुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ ।

पहिले मुस्ताङको मुहार फेर्न स्याउखेती गरौँभन्दा अटेरी गर्नेहरू अहिले स्याउबाट आम्दानी मात्रै गरिरहेका छैनन् स्याउ फल्ने गाउँका भनेर आफूलाई चिनाउँछन् । मुस्ताङको स्याउले बुद्धिरत्नको नाम नै ‘स्याउबाजे’ बनायो । हिउँले छोपिने उजाड मुस्ताङ रसिला स्याउको बगानले भरियो । मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रचलित गाउँ हो । हिमाली जिल्ला म्याग्दीको सीमाभन्दा केहीपर कोबाङदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म स्याउ फल्छ । स्याउ जोन कार्यक्रमले परीक्षणका रूपमा लोमान्थाङमा पछिल्लोपटक स्याउका बिरुवा लगाएको छ । सबैभन्दा धेरै र राम्रो स्याउ फल्ने क्षेत्र मार्फा हो । मार्फाकै नाममा मुस्ताङको स्याउको बजारीकरणसमेत हुने गरेको छ ।