काठमाडौं । छ महिने कार्यकालको अर्थमन्त्रीमा नियुक्त डा युवराज खतिवडाले अन्ततः शुक्रबार राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएलगत्तै उनले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएका हुन् ।
त्यसो त उनी अन्तिम दिनसम्म नै अर्थमन्त्रीमा रही रहने मिल्ने र पाउने दाउ हेरकै थिए । यद्यपि, यो उनको मात्र दोष नहुन सक्छ । किनभने प्रधानमन्त्री नै दाहिना भइदिएपछि यत्तिसम्म त जसले पनि गर्ने नै भयो । तर प्रधानमन्त्रीकै पटक पटकको बलमिच्याइँले यसपालि काम नगर्ने देखिएपछि उनी पनि राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्न राजी हुन बाध्य भए । तत्पश्चात लगभग बेरोजगार हुने देखिएपछि तिल्मिलाएका खतिवडाले राजीनामा दिने पासा मिडिया बजारमा फाले । त्यसैबमोजिम उनले आज प्रधानमन्त्रीलाई राजीनामा दिएका हुन् ।
खतिवडा अहिले चर्चामा आएका कोइराला सम्धीजस्तै खाली हात बस्नु नपर्ने स्वभावका व्यक्ति हुन् । राजाको पालमा राष्टिय योजना आयोगको सदस्यदेखि नेकपा सत्तामा रहेका बेला उनले हर तरहले आफूलाई सत्तामा उक्लिनसक्ने व्यक्तिका रुपमा उभ्याएका छन् । हिजोअस्ति पनि उनले गरेको यो नै देश र जनताका लागि राम्रो काम हो भन्ने त्यस्तो उल्लेखनीय र लेखनीय कुनै काम भएजस्तो यो कलमले भेटाएको छैन ।
अहिले त झन् मन्त्रिपरिषदमै लगभग अग्लो कदका देखिने उनले आफ्नो शरीरबमोजिमको उचाईमा देशको अर्थतन्त्रमा उकाल्न सकेनन् । नेता र नेतृत्वको पहिचान मुलुक र जनताले अप्ठेरो या विषम् परिस्थितिमा पत्ता लाउँछ । यो महामारीका बेला देशमा मौलाएको भ्रष्टाचार तथा अर्थतन्त्रको दोहनमा कतै उनी रमिले मात्र भए त कतै साक्षी नै बसिदिए । यस्तो असफल अवस्थामा पनि उनी सत्तामा टाँसिनै चाहे जुन उनको हिजो नेकपाको सचिवालय बैठकअघिको दृश्यले देखाइ नै हाल्छ । आफ्नो कार्यकालमा उनले न वैदेशिक सहायता जुटाउन सके र नत आफै विवादास्पद बनाएको एमसीसी आयोजनालाई पारित गराउनै सके । यसैमा थपिएको अर्काे अचम्म त के हो भने प्रधानमन्त्रीले यस्ता असफल व्यक्तिबाट अब आउने दिनमा के चाहिँ खोजेका हुन् र नेकपालका नेतालाई बाइकट गरेर उनैलाई काखी च्यापेका हुन् भन्ने हो ।
यहाँ अहिलेको प्रसंग उनको राजीनामाको हो । संवैधानिक हैसियतामा उनले आजैदेखि (रातिदेखि) मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने स्पष्टै छ । संविधान भन्छ भदौ १९ पछि उनलाई मन्त्रीको रुपमा नेपालले चिन्दैन । तर उनले कार्यकाल सकिने दिन नै आजै राजीनामा दिन किन खोजेका हुन् बुझ्न सकिएन । हुनत यो राजनीतिमा प्रधानमन्त्रीले विधिसम्मत रुपले ग्रहण गरे या स्वीकृत गरे या गरेका छैनन् भन्ने आधिकारिक रुपमा त आएको छैन ।
तर पनि ६ महिना अघि फागुन २१ गते अर्थमन्त्रीमा (सांसद नभएको अवस्थामा छ महिने प्रावधानुरुप) नियुक्त भएका खतिवडाले बिहीवार नै राजिनामा दिन्छु भन्दै हिँड्नुको कुनै तुक छैन । जुन व्यक्ति आजै मध्यरातिदेखि स्वतहः पदमुक्त हुन्छ उसले त्यही दिनको मध्य दिन पारेर राजीनामा दिनुको अर्थ के हो ? उनले यो राजीनामाको नाटक किन रचे ? केही घन्टापछि आफै संविधानतहः मुक्त हुने पदबाट उनले केही घन्टा अघि राजीनामा चढाउनुको कारण के होला ?
हुन त आफू पदमुक्त भएर होइन कि राजीनामा दिएर निस्किएको हो भन्ने चाहिँ उनले पार्न खोजेका होलान् । तर के उनको कार्यकाल आजै सकिन लागेको भन्ने कुरा यतिका धेरै मिडिया हुदाहुदै नेपाली जनताले थाहा नपाई बसेका होलान् र ?











