४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

कृषिमन्त्री भुसालले धान फलाउँदै छन् कि भुस ?

कृषिमन्त्री भुसालले धान फलाउँदै छन् कि भुस ?
अ+ अ-

‘कुराले चिउरा भिज्दैनन् सम्धीज्यू’ राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीको थेगो हो यो । हुनत यो नेपाली भाषाको एक प्रसिद्ध लोकोक्ति हो, तर यसलाई एक किसीमले भन्दा केसीले थेगो नै बनाएका थिए । संसदमा यो गर्दिन्छौँ र उ गर्दिन्छौँ भनेर सत्तापक्षका सांसद तथा नेता र मन्त्रीले आश्वासनका पोकामात्र होइन भकारी नै खोलिदिन्थे, अहिले पनि खोल्छन् । ती सबै कुरा सुनिसकेपछि सानो दलको हिसाबले पार्टीका तर्फबाट पछि बोल्ने क्रममा केसीले पहिलेका आश्वासनहरुमाथि टिप्पणी गर्दथे र भन्थे ‘कुराले चिउरा भिज्दैनन् सम्धीज्यू’ । हुन पनि हो । नेताहरुले, मन्त्रीहरुले संसदमा या बाहिर बोलेजस्तो वास्तविकता राजनीतिमा थिएन, छैन । उनीहरुले वर्षेनी दोहोर्याउने गरेका प्रतिबद्धता र आश्वासनले कहिल्यै पूर्णता पाउँदैनथ्यो । यसैमाथि सांसद केसीले कुरामात्र गरेर चिउरा भिज्दैनन् भनेर उनले व्यंग गर्दथे । यसको अर्थ हो– कुरा मात्र गरेर काम हुदैन, काम गर्नलाई कामै गर्नुपर्छ ।  

यतिखेर केसीको यो व्यंग्य कृषिमन्त्री घनश्याम भुसालको पाइन जाँच्नलाई ठ्याक्कै काम लागेको छ । किनभने उनी पनि संसदभित्र होस् या बाहिर कुरै बढी गर्ने नेतामा पर्दछन् । मन्त्रीका रुपमा त उनले देशवाशीलाई आश्वासन दिने अवसर यो पहिलो पटक मात्र पाएका हुन् । तर नेताका रुपमा उनले धेरै बोले, लेखेका छन् । त्यो पनि गरिब जनता, किसान र श्रमजीवीको पक्षमा । उनकै आशय सापट लिएर भन्दा मन्त्री हुनुभन्दा अघिसम्म नै उनले बोल्ने गरेको विषय हो समाजवाद । यसैले उनले राज्यको बाहिरी तहमा बनाएको इमेज पनि एकजना समाजवादी नेता नै हो । त्यसो त उनी स्पष्ट वक्ता भने हुन् । उनले बोल्ने क्रममा अरु नेताले जस्तो ‘बायस’ भएर भन्दा कहिलेकाहीँ आफ्नै पार्टीको पनि नराम्रो कामको आलोचना गर्नेमा पर्दछन् । त्यसैले नेपाली समाजले उनको मूल्यांकन गर्दा कार्पेटमुनि फोहर लुकाएर बाहिरी मुहार चम्क्याउने नेताका रुपमा गर्दैन कि भन्ने ठानेको हो । 

तर हालै चर्चित बनेको एउटा तीज गीत ‘सोचेझैँ जिन्दगी रैनछ’ भनेजस्तै सोचेझैँ राजनीति रैनछ । सायद उनले सोचेका हुन् कि नसोचेरै हो राजनीति उनले आफ्नो आजसम्मको जीवन खर्चेर बनाएको घनश्याम भुसाल नामको राष्ट्रले चिन्ने एउटा ‘इमेज’ बाट चिप्लिएर बाहिरिएको छ, रेलको पटरीबाट रेल चिप्लिएजस्तै । पटरीबाट रेल चिप्लिएपछिको सम्भावनाको अनुमान त सहजै गर्न सकिन्छ र त्यो अवस्था भनेको दुर्घटना नै हो । के उनको रेल पनि अघिल्ला मन्त्री गोकर्ण विष्टकैजस्तो पटरीबाट चिप्लिन लागेका त होइन ? सायद यसरी चिप्ल्याउने प्रयास पनि हुनसक्छ । किनभने उर्जामन्त्री हुँदा एउटा ‘इमेज’ बनाएका विष्टलाई श्रममन्त्री हुँदा मलेसियामा पासो थापिएको (वा आफै थापेको ?) थियो । यो विषयले यति गिजोल्यो कि विचौलियाले चलाएको यो सरकारका वरिपरि वैदेशिक रोजगार क्षेत्रका विचौलियाले बालुवाटारको दैलो खोल्ने अवसर पाए । ‘रामजाने’ कतै त घेर्न लगाएको पनि भनिएको थियो । त्यसो त उनको महत्वाकांक्षाले आफैँ पनि मलेसियाको महभित्र लुटपुटिन पुगेका पनि हुनसक्छन् । खैर, जेसुकै होस्, उनलाई रिङबाट बाहिर निकाल्न यो खेलले बालुवाटारलाई सजिलो बनाइदिएको थियो । 

आज त्यो माकुरीजालमा यी ‘समाजवादी’ नेता भुसाल पनि नपर्लान् भन्न सकिँदैन । अबको १०÷१२ दिनसम्म पनि किसानले सजिलै मल पाएनन् भने ‘ठूली चरी पासा परी सानी चरी उदेकले मरी’ भन्ने उखान यीनको जीवनमा मेल खायो भने अचम्म मान्नु पर्दैन । तर त्यसपछि पनि उनको राजनीतिक खड्को यहाँबाट शुरु हुन्छ कि उनी फसे या फसाईए भन्ने कुरा भुसालको इमेजलाई चिन्ने समाजले चिन्दैन, जान्दैन । किनभने इतिहासले कहिल्यै पनि ‘कन्टेक्स्ट्’ चिन्दैन ‘कन्टेन्ट्’ मात्र हेर्छ र त्यसको मूल्यांकन गर्छ । अर्थात् कोही पनि व्यक्ति पदमा हुँदा या रहँदा कस्तो परिस्थिति या अवस्थामा थियो, उसले केही गर्न खोजेको थियो या थिएन अथवा गर्न खोजे पनि समय परिस्थितिको अप्ठेरोको कारण गर्न पायो या पाएन या गर्न दिइयो दिइएन भन्ने सबै परिस्थितिजन्य अवस्थाहरु इतिहासले सबै तपशीलमा राख्दछ । मात्र उ त्यहाँ छँदा रहँदा उसले समाजलाई के दियो, अथवा कोही व्यक्ति पदमा हुँदा देशले के पायो भन्ने कुराको मात्र हिसाब कतिाब राख्छ समाजले, इतिहासले । उ अप्ठेरोमा परेको हो भने त्यसमा इतिहास साक्षी बस्दैन । किनभने अप्ठेरो अवस्थालाई सहज बनाउने काम नेताको हो । यस्तै बेलामा नेताको पाइन जाँचिने हो, सहजै हुँदा त जो पनि नेता भइहाल्छ । असहजलाई सहज बनाउनकै लागि देशमा नेता चाहिने हो ।  

प्रसंग कृषिमन्त्रीकै हो । यतिखेर देशका किसानले उनलाई खोजेका छन् जसरी गएको माघताका तराईका उखु किसान बलिन्द्रधारा आँशु झार्दै आफूले बर्षाैँ पहिले बेचेको उखुको भुक्तानी दिलाइदिन माग गर्दै सिंहदरबारसम्मै आइपुगेका थिए । सायद यो कारोनाको त्रास नभएको भए धानले गेडा लाउने यो बेलामा पनि मल नपाएर पीडमा परेका किसानले माइतीघर  मण्डेलामा हाजिर जनाइसक्थे होला । र उनीहरुको ऐक्यवद्धतामा ‘काठमाडौँका किसान’ पनि पुगिसक्थे होला । भीडभाडबाट त उनलाई महामारीले बचाएको छ तर उनले सिर्जना गरेको समस्याले भने नागरिकमा महामारी बढाउने त्रास बढ्न थालेको छ, जुन केही दिनयता चितवनमा देखिँदैछ । 

हो, यीनै समाजवादी मन्त्री भएका बेला उखु किसानले झारेको आँशु अझै ओभाएको छैन । सायद देशैभरि लकडाउनको अवस्था नरहेको भए आज पनि ती किसान चिनी मिलसँगको बिल कक्यौता उठाइ पाउँ भन्दै सिंहदरबार धाउँथे होला । किनभने ती सबै किसानलाई जसरी भुक्तानी मिल्छ घर जानु भनेर भुसालले यहाँबाट पठाएका थिए त्यो रुपमा उनीहरुले भुक्तानी पाएकै छैनन् । अनि यतिखेर अर्का किसानले आँशु झारेका छन् देशभरि मल पाइएन भनेर । नेपालमा धान रोपाइँ असार साउनमा हुन्छ र किसानलाई साउनमा मल चाहिन्छ भन्ने कुरा संसार बुझेका भुसाललाई थाहा छैन, थिएन भन्न मिल्दैन । अनि साउनमा मल ल्याइपुर्याउनलाई कहिले र कसरी टेण्डर गर्ने भन्ने प्रक्रियाको बारेमा पनि उहाँ मन्त्रीजीलाई थाहा छैन भन्न झन् मिल्दैन । फेरि सधैँ मिडियाका कन्टेन्ट र तथ्यांकमा खेल्ने उहाँलाई नेपालमा एक सिजनमा कति मल चाहिन्छ भन्ने कुरा त उहाँलाई झन् छर्लंगै छ, त्यो सिकाउन खोज्ने धृष्टता पनि मैले गर्न खोजेको पटक्कै होइन । त्यसो भए किन आएन त मल ? यहीँनेर लागू हुन्छ कुराले चिउरा भिज्दैनन् भन्ने लोकोक्ति । एकातिर धान पसाउने बेला भयो अर्कातिर भारतले मल दिएन भन्दै देशका प्रधानमन्त्रीले बंगलादेशका प्रधानमन्त्रीसँग मल ‘पैँचो’ माग्दैछन् । उनी फसे कि प्रधानमन्त्रीलाई उनले फसाए ? मुलुकका किसानले पाउने सरसुविधामा उनको समाजवाद किन फिट हुन सकेन ? यसरी घरमा आगो लागेपछि कुवा खन्न दौडिने यो प्रवृत्तिको अन्त्य हाम्रो देशमा कहिले हुने हो ? 

आसलाग्दो मानिस नै जेठाजू परिदिएपछि भन्ने नेपाली उखानजस्तै यी बडो सालिन र सरल समाजवादी नेता नै कृषिमन्त्री हुँदा यसरी किसानका आँखाबाट बर्बरी आँशु झरेपछि अब यो देशका निमुखा बर्गले कसको आशा गर्ने ? अहिलेको राजनीतिक व्यवस्था, यो इतिहासकै बलियो भनिएको सरकार र यी समाजवादी नेताका पालामै धर्तीका पुजारी किसान यसरी रुनु परेपछि उनीहरुले अब भोलिको भविश्य सुनिश्चित नदेख्ने खतरा झन् बढाएको छ ।    

आज यो विचार लेख्ने बेलामा मलाई मेरो दिमागमा आएको एउटा दृश्यले बडो कुत्कुताएको छ । यसो लेख्न बस्दै गर्दा अनुमान गरेँ कि आज यो परिस्थितिमा घनश्याम भुसाल सत्ताबाहिर भएको भए कस्ता शब्दको संयोजन गरेर यो पीडा र बेथितिको बखान गर्थे र लेख लेख्थे होला ? किसानका आँशुका ढिकाको सहारा लिएर सरकारलाई सराप्ने शब्द उनको शिल्पी कलमले कसरी रच्थ्यो होला ? हो, यो मज्जा लिनबाट आज उनका पारखीहरुले बञ्चित भएका छन् । सायद निकै पछुताएका होलान् उनका शब्दका पारखीहरु जसरी मलाई उनले बरु मन्त्री छोडेर स्तम्भ लेखदिएहुन्थ्यो जस्तो लाग्छ । त्यसको सट्टा अहिले उनैको लेखनीका फ्यानहरुले यो बहस चलाएका छन् ‘मन्त्रीजी तपाईँ धान फलाउँदै हुनुहुन्छ कि भुस ?’ र उनीहरको बहसको निष्कर्ष यो छ –‘यदि तपाईँले यस वर्ष नेपाली किसानका खेतमा धान नभएर भुस फलाउनु भयो भने बुझ्नोस् त्यो भन्दा बढी भुस तपाइँको समाजवादी सिद्धान्तले भिर्नेछ ।’ सिद्धान्त भुस हुनु भनेको के हो भन्ने विषयको सप्रसंग व्याख्या गर्ने धृष्टता तपाईँजत्तिको विद्धानमन्त्रीलाई मैले यहाँ राखिन । परेछ भने र धानको बोटले बाध्य भएर भुसै भिर्नुपर्ने अवस्था आएछ भने अर्काे अंकमा गरौँला । नत्र तपाई र तपाइको समाजवादलाई ‘जिउमा छैन लत्ता ताक्छ कलकत्ता’ भन्ने आरोप लाग्ने खतरा म देख्दैछु । यसको अर्थ हो– किसानलाई मल दिन नसक्ने कृषिमन्त्री भएर बस्नुभन्दा बरु निखारिएको तपार्इँको शिल्पी कलमले सिंचेर सुन्दर अक्षरकै खेती गरीबस्नु राम्रो ।