६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यको ढुकुटीबाट ३ वर्षमा २० अर्बको चिया-नास्ता



अ+ अ-

काठमाडौं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। ‘यसप्रकारका अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्नेमा थप रकमान्तर गरी खर्च गर्न मनासिब देखिएन’, महालेखाको ५७औं प्रतिवेदनमा लेखिएको छ, ‘यसप्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ।’ महालेखाका अनुसार विनियोजित रकम सकेर विकास बजेटसमेत रकमान्तर गरी खर्च गरेको पाइएको छ।

पूर्वमुख्यसचिव विमलप्रसाद कोइराला अनावश्यक खर्च रोक्नुपर्ने बताउँछन्। ‘यो फाल्तु खर्च हो, यसलाई रोक्नुपर्छ’, पूर्वअर्थसचिवसमेत रहेका कोइराला भन्छन्, ‘शीर्षकअनुसार खर्र्च गर्नुपर्छ। विविधका नाममा यसरी जथाभावी खर्च गर्नु हुँदैन।’ सरकार र सरकारी निकायले आर्थिक वर्ष २०७५/७६, २०७४/७५, २०७३/७४ मा मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत शीर्षकमा १९ अर्ब ३५ करोड ४३ लाख खर्च गरेका हुन्। २०७४/७५ मा सबैभन्दा बढी १० अर्ब ८३ करोड ५ लाख खर्च गरेको पाइएको छ। उक्त वर्ष विविधमा १ अर्ब २७ करोड ८८ लाख बजेट विनियोजन गरिएको थियो। त्यो बजेटभन्दा ८ सय ४७ प्रतिशत बढी खर्च भएको थियो।

२०७३र७४ मा ६ अर्ब ९४ करोड ४१ लाख खर्च भएको थियो। महालेखा नियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरणअनुसार विविध खर्चमा १ अर्ब १६ करोड ५० लाख मात्रै बजेट विनियोजन गरिएको थियो। त्योभन्दा ५ सय ९६ प्रतिशत बढी खर्च भएको थियो। २०७५/७६ मा १ अर्ब ५७ करोड ९७ लाख खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यो वर्ष पनि विनियोजित रकमभन्दा १८.९१ प्रतिशत बढी खर्च भएको हो। महालेखा नियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरणअनुसार विविध खर्चमा १ अर्ब ३२ करोड ८५ लाख बजेट विनियोजन भएको थियो। उक्त वर्ष अघिल्ला वर्षका तुलनामा केही घटे पनि अनावश्यक खर्च भने नियन्त्रण भएको देखिँदैन।

विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमणमा अत्यधिक खर्च भएको छ। यो शीर्षकमा ६ करोड ८५ लाख बजेट व्यवस्था भएको थियो। तर, २०७५/७६ मा १४८.२० प्रतिशत बढी हुने गरी १७ करोड खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ। मन्त्री, सचिवलगायत विशिष्ट व्यक्तिको भ्रमणका नाममा अनावश्यक खर्च भइरहेको छ। सवारी साधन, मेसिनरी औजारलगायत अन्य पुँजीगत सम्पत्तिको भाडालाई अन्य भाडाबाट खर्च बेहोर्ने व्यवस्था छ। आर्थिक वर्ष २०७४/७५ मा सो प्रयोजनका लागि १ अर्ब १५ करोड ६६ लाख खर्च भएको थियो। यसका लागि १३ करोड ४२ लाख मात्रै बजेट विनियोजन भएको थियो। यसमा ८६१ प्रतिशत बढी खर्च भएको देखिन्छ।

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता ल्याएर अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्ने देखिएको छ। सरकारले मितव्ययिता र प्रभावकारिता कायम गर्ने नीतिगत मार्गदर्शन २०७५ जारी गरिसकेको छ। अन्नपुर्णपोष्ट दैनिक