
काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथिविरुद्धको मुद्दामा आज पनि सुनुवाइ रोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी तोकिएको मुद्दामा जिल्लाबाट मिसिलहरू आइनपुगेकाले सुनुवाइ हुन नसकेको निवेदक बालकृष्ण न्यौपानेले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । अख्तियारको उक्त निर्णय बदरको माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
निवेदकले उनीहरु ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरेका थिए ।
विगत ५ वर्षमा १३ पटक सुनुवाइका लागि पेशी तोकिएर पनि यो मुद्दामा अझै टुंगो लाग्न सकेको छैन ।
नोटः यसअघि यस मुद्दामा सुनुवाई भयो भनिएकोमा सच्चाईएको छ ।