६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने

मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने
file photo
अ+ अ-

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकाल्नुभएको साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो । 

सोमबार १०ः०५ देखि १०ः२० बजेसम्म लोकेश्वरलाई रथबाट भिक्ने शुभसाइत रहेको दैवज्ञ कीर्तिकिरणले बताउनुभयो । उहाँले भन्नुभयो, “यदि यस समयमा करणामयलाई रथबाट झिक्न सकिएन भने साङ्केतिकरूपमा हल्लाउने मात्रै भए पनि काम हुनेछ, हाल मच्छिन्द्रनाथलाई उतरपट्टि अर्थात् कुपण्डोलतर्फ फर्काएर राखिएकाले बुङ्मती लग्ने दिन १५ देखि २० पाइला पुनः उत्तरतर्फ लगेर अनि मात्र पुल्चोक हुँदै जावलाखेलको बाटो बुङ्मती लानु राम्रो हुनेछ ।” सो दिन लोकेश्वरको सामान्य पूजाआजा गरेर त्यसपछि बुङ्मती लगिने उहाँले जानकारी गराउनुभयो ।

सोमबार भगवान्लाई रथबाट झिक्नुभन्दा पहिले चार दिनअघिदेखि चोखोनितो गरेर बसेका आठ पानेजुले किस्ली अर्थात् माटोको पालामा राखेको अक्षता, केही पैसाका डबल र सुपारी करुणामयलाई चढाएर त्यसपछि पालैपालो ढोगेर ‘हामीले यहाँबाट  हजुरलाई आज बुङ्मती प्रस्थान गराउन लाग्यौँ’ भन्नुपर्ने चलन रहेको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “गुरुज्यूको पल्टन र सुरक्षाकर्मीसहित पानेजुले खटमा बोकेर मच्छिन्द्रनाथलाई बुङ्मती लानेछन् ।” यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझै गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याउन सम्भव नभएकाले बुङ्मतीको हयंग्रीव भैरव र वृष्टिदेवलाई पानेजुहरुले यही भदौ १८ गते नै क्षमापूजा गरिसकेको शाक्यले जानकारी गराउनुभयो ।
 
यसैगरी मीननाथको रथ भने गाःबहालबाट टङ्गालसम्म तानेरै लग्ने चलन रहेको १९आँै जातीय खलःपुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । आर्यावलोकितेश्वरलाई भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथयात्रा र गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो । विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आशनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । 

भोटोजात्राको कथा 

किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्दथे । त्यो नागका राजा कर्कोटक नागको जोडी थियो ।  एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मल्हम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।

पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु¥याउँदा उपत्यकावासी र भूतप्रेत पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले  दिन मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु ‘महाराज मलाई कर्कोटक नागले दिएको भोटो यसले चो¥यो’ भने । भूतले  भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।

प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्कोट नागलाई भेटे ।  नागले आफू पनि मान्छेको रुप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ, म अरुभन्दा अग्लो पनि देखिने छु”, कर्कोटक नागले भने ।  त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए ।

राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए  तर साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ ।
 
 लोकेश्वरको रथ ३२ हात ४८ फिट अग्लो हुन्छ । वृष्टिदेवको रथ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठ र मीननाथको रथ टङ्गालको ज्येष्ठ बहाल परिसरमा बनाउने गरिन्छ । मच्छिन्द्रनाथको रथ राजा बरदेवले बनाउन लगाए भने मीननाथको रथ अंशु बर्माका भाइ राजा बालाचरणको पालादेखि बनाउन शुरु गरिएको थियो । मच्छिन्द्रनाथलाई लोकेश्वर त मीननाथलाई जटाधारी लोकेश्वरका नामले पुकारिन्छ । विसं ६५० मा मच्छिन्द्रनाथसँगै मीननाथको पनि रथ तान्ने प्रचलन अघि बढेको पाटन सुन्धरा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई महास्नान गर्ने परम्परा रहेको छ भने यसैगरी हरेक वर्ष वैशाख कृष्णपक्ष प्रतिपदाका दिनमा मीननाथलाई दिउँसो महास्नान गराइन्छ, मच्छिन्द्रनाथलाई करुणामय भनिन्छ भने मीननाथलाई धर्म र पाप छुट्याउने पितृका राजा भनिनुका साथै धर्मराज वा यमराजका नामले पुकारिन्छ ।” 

सत्ययुगमा यमराजले मत्स्य अवतार मीन रुप लिई सुखावती भुवन मत्र्यमण्डलबाट नेपाल आई मीननाथ लोकेश्वर भनी प्रख्यात भएको किंवदन्ती रहेको छ । रातो मच्छिन्द्रनाथको जात्रालाई पाटनको ठूलो उत्सवका रूपमा हिन्दूलगायत बुद्ध धमावलम्बीले मनाउने गर्थे । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यो जात्रा हेर्न काठमाडौँ उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन थियो । मच्छिन्द्रनाथ पूजाका लागि ३१ पनेजु गठन भएका छन् तर भगवान्सहित जोडेर ३२ पानेजु सङ्घ भन्ने गरिन्छ । ती ३१ पानेजुले पालैपालो सहकालका देवताको पूजाआजा र रेखदेख गर्दै आएका पनि छन् । यस वर्ष एक्लो आइमाइले रथ तान्ने र नरिवल खसाल्ने काम आदिसमेत नहुने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलन रहँदा यस वर्ष लगभग नौ महिना मच्छिन्द्रनाथ पाटन बसिसक्नुभयो ।