६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा भारत



अ+ अ-

काठमाडौं । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहीनता तोडिएको थियो । सीमाको विषयलाई लिएर झन्डै ८ महिना दुई देशबीच संवाद नै नभएको अवस्था थियो । गत वर्ष १६ कात्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै विवाद बढेको थियो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि सम्बन्ध तनावपूर्ण बन्न पुगेको थियो ।

नेपालको विरोध जारी नै रहेको बेलामा फेरि गत वैशाखमा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको थियो । सोही सिलसिलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले आफ्नो निसान छाप परिवर्तन गर्न संविधान नै संशोधन गरिसकेको छ । नेपालले नक्सा जारी गरेपछि भारतले आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक नोट पठायो । त्यसयता नेपाल र भारतबीच संवादहीनताको अवस्था थियो । दुई देशबीच सीमा विवादको कुरा उठेपछि परराष्ट्र मन्त्रालयले भारतलाई चार पटकसम्म पत्र लेखेर वार्ता र संवादका लागि आग्रह गरेको थियो । तर, भारतले संवादका लागि नेपालले पठाएको पत्रको प्रतिउत्तर दिएको थिएन । नेपालको पत्रको जवाफ भारतले दुई महिनापछि मात्रै दिए पनि असन्तुष्टि जनाएको थियो ।

संवादहीनता तोडिएसँगै ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिजम्’ (संयुक्त निगरानी संयन्त्र) बैठक बस्यो । बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको थियो । परियोजनाको काम सन्तोषजनक रहेको र थप सहकार्य गरेर अघि बढ्ने बढाउँदै जाने विषयमा पारस्परिक संवाद भएको थियो । परियोजनाको संवादपछि नेपालका लागि भारतीय राजदूत विनय कुमार क्वत्रा स्थलमार्ग भएर भारत गएका थिए । विनयकुमार क्वात्रा भारत जानुअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राजनीतिक दलका नेताहरूसँग भेटेका थिए । नेपालसँग सम्बन्ध सुधारका लागि क्वात्राले दिल्लीमा त्यहाँका उच्च तहका अधिकारीसँग भेट गरेर फर्किएको अनुमान छ । एक साताभन्दा लामो बसाइपछि क्वात्रा नेपाल फर्किएर हाल आइसोलेसनमा बसेका छन् । आइसोलेसनबाट निस्किएपछि उनले उच्चस्तरीय भेटघाटलाई तीव्रता दिने तयारीमा रहेको भारतीय दूतावास स्रोतले जनायो ।

सम्बन्ध सुधारकै लागि पछिल्लो समय भारतले अग्रसरता देखाएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । दशैंअघि नै भारतले नेपालमा मन्त्रिस्तरीय भ्रमण गर्ने तयारी गरिरहेको बुझिएको छ । असोजभित्र नेपाल भ्रमण हुन नसके दुई देशका परराष्ट्रमन्त्रीबीच भर्चुअल मिटिङ गर्न सक्ने विकल्प पनि रहेको छ । विदेश सचिवस्तरीय बैठक भने तत्काल गर्ने कि एक महिनापछि गर्ने भन्ने विषयमा भने अन्योल रहेको बुझिएको छ । परराष्ट्र सचिव शंकरदास वैरागीको आगामी असोज २५ गतेबाट पदावधि सकिने भएकाले त्यसभन्दा पहिल्यै बैठक राख्ने पक्षमा नेपाल छ । राजधानी दैनिक