९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय चालिसलाई स्वरोजगार बनाउँदै शुक्लाफाँटा



अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले एक सय ४० जना युवालाई स्वरोजगार बनाउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थानीय तहमार्फत सञ्चालित लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत युवालाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने कार्य नगरपालिकाले अगाडि बढाएको छ ।

युवायुवतीलाई निःशुल्क रूपमा तालिम दिनका लागि आवेदन सङ्कलनको कार्य अगाडि बढाइएको कार्यक्रमका सहजकर्ता धनबहादुर चौधरीले बताए । “आवेदन सङ्कलनपश्चात् व्यवसाय सञ्चालन तथा लघु उद्यम सञ्चालन गर्न इच्छुकलाई पहिलो प्राथमिकतामा राखेर छनोट गर्छौं”, उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ स्वरोजगार हुन चाहने युवाका लागि तालिम सञ्चालन भइरहेको छ ।”

चौधरीका अनुसार १५ दिने दुनाटपरी तालिम, १५ दिने चटाई बुनाई, सात दिने ग्यास चुलो तथा प्रेसर कुकर मर्मत, दुई महिने मोटरसाइकल मर्मत, दुई महिने फर्निचरसम्बन्धी तालिम सञ्चालन भइरहेका छन् । यसैगरी महिलालाई लक्षित गरी सात दिने फुट मसाज र एक महिने अटो ड्राइभिङ तालिम पनि सञ्चालन गरिने छन् । प्रत्येक तालिममा २० जनाका दरले सहभागी गराइने छ । अठार वर्षमाथिका युवालाई तालिममा समावेश गरिने चौधरीले जानकारी दिए ।

दैनिक छ घण्टाका दरले तालिम दिने व्यवस्था गरिएको छ । “व्यावसायिक तालिम नहुँदा युवाले अदक्ष कामदारका रूपमा काम गर्दा थोरै मात्रै ज्याला पाउने गरेका छन्”, नगर प्रमुख रणबहादुर महराले भने, “तालिम लिएर दक्ष भएपछि युवाको ज्याला बढी पाउँछन्, आफ्नै व्यवसाय गरेर स्वरोजगार बन्छन् ।”

विशेष गरी युवाले स्वदेशमै कार्य गरी आयआर्जन गरून् भन्ने ध्येयले तालिम सञ्चालन गरिन लागेको जानकारी दिदै महराले तालिम लिएका युवालाई आवश्यक औजारको व्यवस्थासँगै व्यवसाय सञ्चालन गर्नका लागि पुँजीको व्यवस्था गर्न वित्तीय संस्थाहरूसँग समन्वय गराउने कार्य पनि गरिने बताए । तालिम लिएर लघु उद्यम गर्नेहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने उनले बताए ।

युवालाई विदेश जानबाट रोकेर स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने कार्यमा तालिमले सहयोग गर्ने अपेक्षा गरिएको नगर प्रमुख महराको भनाई छ । रासस