६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका लागि उडान कहिले ? स्वदेश फर्किन नपाएकाहरु आक्रोशित, भन्छन्– ‘राज्यले आफ्नो ठानेन’



अ+ अ-

नयाँदिल्ली । कोरोना महामारीका कारण विभिन्न देशमा रहेका नेपालीलाई सरकारले स्वदेश फिर्ता गर्ने निर्णय गरेको भए पनि भारतस्थित नेपाली भने अलपत्र परेका छन् । भदौ १६ देखि असोज १४ सम्म एक सय ४२ नियमित र चार्टर उडानका लागि तोकिएका २० वटा गन्तव्यमा भारत भने परेको छैन । जसका कारण रोजगारी, अध्ययन, उपचार तथा अन्य प्रयोजनका लागि भारत आइपुगेका नेपाली यहीं रोकिन बाध्य भएका हुन् । रोजगारी, अध्ययन, उपचारलगायत विभिन्न प्रयोजनका लागि भारतमा रहेका हजारौं नेपालीहरू लामो समयसम्म भारतमै छन् । उडान सुरु होला र घर फर्कन पाइएला भनेर दिन पर्खेर बसेका नेपालीहरू निराश मात्र बनेका छैनन् आफूहरूलाई गरेको बेवास्ताका कारण सरकारप्रति आक्रोशित पनि देखिएका छन् ।

तिनैमध्येमा पर्छन् विश्व खाद्य कार्यक्रमका भारत प्रतिनिधि विश्व पराजुली । हाल भारतको राजधानी नयाँदिल्लीमा रहेका पराजुलीले काठमाडौंका लागि उडान कुरेको ६ महिनाभन्दा बढी भयो । अन्य देशमा उडान सुरु गर्दा पनि भारतमा रहेका नेपालीका लागि सरकारले बेवास्ता गरेको भन्दै पराजुलीले केही दिनअघि सामाजिक सञ्जाल ट्वीटरमार्फत आक्रोश व्यक्त गरे । सरकारले फेरि एक पटक आफ्ना नागरिकहरूप्रतिको जिम्मेवारीबाट पन्छिन खोजेको उनको आरोप छ । ‘सीमाबाट आउजाउ गर्न दिने, अनि उडानचाहिँ सुचारु नगर्नुका पछाडि कुनै पनि जायज तर्क देखिँदैन । यो त सिधै नागरिकहरूप्रतिको चरम बेवास्ता हो,’ पराजुलीले भने । त्यस्तै आक्रोश छ, प्रभु मनी ट्रान्सफरको भारत शाखाका प्रमुख सुनील मिश्रको । उडान नभएको ६ महिना भइसक्दा पनि सरकारले चासो नदेखाएकोमा मिश्र आश्चर्य व्यक्त गर्छन् । त्यसैगरी दिल्लीकै एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत दिपाली राणा दसैंमा समेत घर जान नपाउने हो भनेर चिन्तित छिन् । राणाले नेपालमा लकडाउन खुलेपछि दिल्ली उडान सुरु हुनेमा ढुक्क थिइन् । तर सरकारले अन्य मुलुकमा उडान खुला गरे पनि भारत उक्त सूचीमा नपर्दा उनी निराश छन् ।

एक घण्टाको उडान सुचारु गर्न सरकारले चासो नदेखाउनु चरम बेवास्ता भएको राणाको भनाइ छ । ‘घण्टौं लाग्ने अन्य देशमा सुरु गर्दा हुने, अनि यति नजिकलाई बेवास्ता गर्नु । यो त भारतमा रोकिएका नेपालीहरूलाई नागरिक नै नठानेको देखियो,’ राणाले आक्रोशित हुँदै भनिन् । सरकारको बेवास्ताले काम गर्ने र बिरामी मात्र नभएर विद्यार्थीहरू पनि समस्यामा परेका छन् । हजारौंको संख्यामा नेपालीहरू अध्ययनका लागि भारत आउने गर्छन् । दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नईलगायत प्रमुख सहरमा नेपालीहरू ठूलो संख्यामा अध्ययनका लागि पुग्ने गरेका छन् । सडकमार्गबाट जाँदा संक्रमणको त्रास हुने भन्दै अझै पनि थुप्रै नेपालीहरू यतै रोकिएका छन् । तिनैमध्येका हुन् दिल्लीको साउथ एसियन विश्वविद्यालय (साउ) मा पीएचडी गरिरहेका काठमाडौंका महेश्वर गिरी । गिरीले उडान सुचारु हुने दिन पर्खेको लामो समय भयो । दसैं नजिकिँदै जाँदासमेत सरकारले उडान सुरु गर्न चासो नदेखाएपछि गिरीको छटपटी बढेको छ ।

उडान नहुँदा उपचारका लागि भारतका दिल्लीलगायत विभिन्न सहर पुगेका बिरामीहरूको पनि बिचल्ली भएको छ । सरकारले उडानका बारेमा चासो नदिँदा धेरै बिरामी ऋण गरेर भए पनि एम्बुलेन्सलाई महँगो भाडा तिरेर नेपाल फर्कन बाध्य भएका छन् । ‘खै किन हो सरकारले चासो नदिएको । बाटो हेर्दाहेर्दा धेरै जना सकिनसकी सडकमार्गबाट गएका छन्,’ नेपालीहरू क्यान्सर उपचारका लागि आउने गरेको राजीव गान्धी अस्पताल नजिकैको सोमबजारमा ट्राभल एजेन्सी चलाउँदै आएका विष्णु शाहीले भने ।

बैंग्लोरमा अध्ययनरत विद्यार्थीहरू अलपत्र परेपछि सरकारले साउनको दोस्रो साता नेपाली वायु सेवा निगमको एउटा चार्टर विमानका लागि अनुमति दिएको थियो । त्यसका लागि पनि सरकार र दिल्ली दूतावासले राम्ररी समन्वय नगर्दा निगमको विमान आधा यात्रु लिएर काठमाडौंका लागि उडेको थियो । लकडाउनअघि निगमले दिल्लीका लागि सातामा १४ तथा मुम्बई र बैंग्लोरमा साताका तीन उडान गर्दै आएको थियो । निगमबाहेक भारतका एयर इन्डिया, इन्डिगोलगायतले पनि काठमाडौं उडान गर्दै आएका थिए । सरकारले उडानका लागि चासो नदेखाएपछि दिल्लीमा रहेका निगमका सबै कर्मचारी काठमाडौं पुगेका छन् । र, आफूहरू सरकारको निर्णयको पर्खाइमा रहेको निगमका एक अधिकारीले बताए ।

‘हामीहरूले दूतावासलाई अनौपचारिक रूपमा भनेको पनि हो । आवश्यक मापदण्ड पूरा गरेर उडान गर्नका लागि जहाज तयारी अवस्थामा छ । तर, कुनै चासो देखाइएन,’ ती अधिकारीले भने । उडान सुरु नहुनुमा सरकारसँगै दिल्लीस्थित दूतावासको बेवास्तालाई जिम्मेवार ठान्छन् भारतमा रोकिएका नेपालीहरू । दूतावासले गम्भीर रूपमा पहल नगरेका कारण उडान सुरु गर्न सरकारले चासो नदेखाएको उनीहरूको आरोप छ । ‘दूतावासले कहिल्यै पनि नेपालीहरूका बारेमा चासो देखाएको छैन । नत्र भारतमा कोरोनाको संक्रमण यति धेरै बढिरहँदा आफ्ना नागरिकलाई जोखिम हुन्छ भनेर दूतावास तात्नुपर्ने हो,’ राणाले भनिन् ।

सरकारका मन्त्रीदेखि अन्य उच्च अधिकारीले भने भारतका लागि उडान खुला नगर्नु पछाडि संक्रमण उच्च रहेको तर्क दिँदै आएका छन् । तर, यता रोकिएका नेपालीहरू भने उक्त तर्कलाई हास्यास्पद भन्छन् । त्यसले भारतमा रहेका नेपालीहरू सबैलाई संक्रमण छ भन्ने बुझाउने उनीहरूको भनाइ छ । नेपालीहरूको यी आरोप र आक्रोशप्रति दिल्लीस्थित नेपाली दूतावाससँग सधैंको जस्तै रेडिमेड प्रतिक्रिया छ, ‘प्रयास भइरहेको छ ।’ जबकि दिल्ली–काठमाडौं उडानका लागि भारत सरकारले नै प्रस्ताव गरिसकेको छ । भारत सरकारले नेपालसमक्ष अन्य मुलुकसँग गरेजस्तो कोभिड महामारीको समयका लागि भनेर एयर बबल सम्झौताका लागि प्रस्तावसमेत गरेको हो । जसअन्तर्गत दुई देशबीच उडान संख्या तोकेर उडान गरिन्छ । उक्त प्रस्तावबारे भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले केही दिनअघि सार्वजनिक रूपमै खुलासा गरेका थिए । त्यसैगरी दिल्ली एयरपोर्ट अथोरिटीले पनि दूतावासलाई सबै तयारी पूरा भएकाले उडान सुचारु गर्न अनुरोध गरेको स्रोतको दाबी छ । तर, यी दुवै प्रस्तावका सम्बन्धमा नेपालतर्फबाट कुनै जवाफ गएको छैन ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उडानका लागि आग्रह भएको स्विकार्दै कम्तीमा पनि सातामा एउटा उडानका लागि प्रयास गरिरहेको बताए । उनले भारत सरकारका तर्फबाट उडान सुचारु गर्न प्रस्ताव आएको समेत स्विकारे । ‘सातामा एउटा उडान भए पनि हुनुपर्छ भन्ने मेरो भनाइ हो, यसका लागि मैले काठमाडौंमा जानकारीसमेत गराएको छु,’ आचार्यले कान्तिपुरसँग भने । साथै उनले टिकट काटेर जान सक्नेका लागि उडान सुचारु हुनुपर्छ भन्नेमा आफू पनि रहेको बताए । कान्तिपुर दैनिक