७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसपाको उपाध्यक्षमा उम्मेदवारी दिने घलेको घोषणा



अ+ अ-

काठमाडौं। युवा व्यवसायी रामबहादुर घलले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

यही माघ २७, २८ र २९ गते काठमाडौँको प्रज्ञा भवनमा हुने महाधिवेशनमा आदिवासी जनजाति कलष्टरको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले भावि योजना पनि सार्वजनिक गरेका छन् ।  घलेका योजनामा गाउँ, नगर, र प्रदेशस्तरमा पार्टीको संरचना विस्तार गर्ने, सक्षम, अनुभवी र शिक्षित युवा, महिला, दलित, जनजाति, र पिछडिएका वर्गलाई पार्टीको मुख्य धारामा सक्रिय रूपमा समेट्ने, युवाका लागि स्टार्टअप, रोजगारी, र नेतृत्व विकासका कार्यक्रम सुरु गर्ने लगायत रहेका छन् ।

पार्टीको विभिन्न विभागको नेतृत्व गरिसकेका घलेले ‘मभित्र पार्टी होइन, पार्टीभित्र म’ को नारालाई अगाडि बढाउने र वैकल्पिक राजनीतिक शक्तिको ‘सिद्धान्त, नीति र मान्यतालाई जीवन व्यवहारमा लागू गर्ने कामको नेतृत्व गर्ने बताएका छन् ।

‘पार्टीमा युवा र महिलाहरूको सहभागिता बढाउने, युवा र महिलाहरूको लागि विशेष प्रशिक्षण, नेतृत्व विकास र राजनीतिक सशक्तीकरणका कार्यक्रमहरू सुरु गर्ने, जनजाति, दलित र पिछडिएका वर्गलाई पार्टीको मुख्य धारामा ल्याउने कामको नेतृत्व गर्नेछु,’ उनले भनेका छन् ।