३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु



अ+ अ-

डोटी। दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालनी गरेका छन् ।

कन्य च्याउ उत्पादन गर्दै आएका उनले कृषि ज्ञान केन्द्रको सहयोगमा गोब्रे च्याउको पनि खेती गरेका छन् । किसान शाहीले यसपटक दुई सय पोका च्याउ राखेका छन् । उनले गोब्रे च्याउका लागि आवश्यक कम्पोस्ट मल हेटौँडाबाट ल्याएर मङ्सिर ३० गते च्याउ राखेको बताएका छन् । उनले भने, “प्रतिकिलो रु ५० का दरले २० टन कम्पोस्ट खरिद गरेको हुँ, च्याउको बीउ धनगढीबाट ल्याएँ । च्याउ उत्पादन सुरु हुञ्जेलसम्म रु दुई लाख लागत लागेको छ ।”

उनका अनुसार गोब्रे च्याउखेती गर्न अन्य च्याउको भन्दा अलि बढी मेहनत लाग्ने शाहीले बताए । कृषि जेटिएको पढाइ गरेका उनले गोब्रे च्याउखेतीमा अलि बढी प्राविधिक ज्ञान चाहिने र यो च्याउखेतीका लागि कोठाको तापक्रम २२ देखि २५ डिग्री सेल्सियस सबैभन्दा उपयुक्त हुने बताए । उनका अनुसार पोका खोलिसकेपछि नियमित पानी दिने तथा तापक्रमको ख्याल गर्नुपर्छ । उनले भने, “आजभोलि दैनिक चारदेखि पाँच किलो च्याउ बिक्री भइरहेको र बजारको खोजीका लागि केही दिनमा बजारमा निस्किने तयारी गरेको छु ।” गोब्रे च्याउको मूल्य अहिले प्रतिकिलो रु चार सय छ ।

गोब्रे च्याउको खेतीका लागि ज्ञान केन्द्रले किसान शाहीलाई लागतको ५० प्रतिशत सहयोग गरेको छ । गत वर्ष जोरायल गाउँपालिकाको राउतकट्टेमा सफल परीक्षण भएपछि चालु आर्थिक वर्षबाट गोब्रे च्याउ व्यावसायिक खेती सुरु गरिएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए। पौष्टिक तथा आर्थिक दृष्टिले निकै महत्त्वपूर्ण मानिने गोब्रे च्याउखेती व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले किसान शाहीलाई सहयोग गरेको उनले बताए ।

गोब्रे च्याउबाट मसरुम चिल्ली, मसरुम सुप, मसरुम पकौडालगायत परिकारका बन्ने गर्छन् । अब जिल्लामै गोब्रे च्याउको उत्पादन सुरु भएपछि यहाँका होटल तथा रेष्टुराँमा खपत हुने निमित्त प्रमुख अवस्थीको विश्वास छ । यो वर्ष ज्ञान केन्द्रले सिताके च्याउको पनि परीक्षण गरिरहेको र च्याउखेती गर्ने किसानलाई दिइने सहयोगमा निरन्तरता दिइने उनले बताए ।रासस