१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने



अ+ अ-

काभ्रेपलाञ्चोक। जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ ।

जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग रु २८ करोड ६५ लाख ३१ हजार छ सय ४८ सहयोग माग गर्ने निर्णय गरेको हो ।

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जू, बनेपाका शान्तिरत्न शाक्य र पनौतीका रामशरण भण्डारीबीच भएको बैठकले सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजनामा भएको क्षतिको मर्मतका लागि भएको मूल्याङ्कनअनुसार सङ्घीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयमा बजेट व्यवस्थापन र कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

केही दिनमा सरकारसँग बजेट माग गर्ने प्रक्रिया अघि बढाइने आयोजनाको बोर्डका संयोजकसमेत रहनुभएको नगरप्रमुख ब्याञ्जूले बताए । उनका अनुसार आयोजनाको पनौतीमा रहेका गुड्गुडे, खारखोला, बैरा–महादेव र मूलडोलको पानी सङ्कलन गर्न बनाइएको इन्टेक र वितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पुर्‍याएको थियो ।

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले क्षतिग्रस्त भएपछि पुनःनिर्माणका लागि एसियाली विकास बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । तीन नगरका उपभोक्तालाई खानेपानी पु¥याउने उद्देश्यले निर्माण थालिएको उक्त आयोजनाको यसअघि करिब ९८ प्रतिशत काम सकिएको थियो । करिब रु एक अर्बको लगानी रहेको उक्त आयोजनामा बाढीले क्षति पु¥याएपछि निर्माण ढिलाइ भएको हो ।

सङ्घीय सरकार र एसियाली विकास बैङ्क (एडिबी)बीच सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ मा निर्माण सक्नेगरी ऋण सम्झौता गरिएको  उक्त आयोजना समय सकिएको १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजारले खानेपानी सुविधा पाउनेछन् ।

यसैबीच, धुलिखेल नगरमा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले रु एक करोड ४२ लाख २५ हजार रकम सहयोग गर्न नगरप्रमुख ब्याञ्जू र जिआइजेडका तर्फबाट तीर्थ सिन्हाले गत पुस अन्तिम साता सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ब्याञ्जूका अनुसार उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिनेछ । बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालय तीन महिनादेखि खानेपानीविहीन अवस्थामा छन् । रासस