३० असार २०८२, सोमबार
,
Latest
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु संघीय मन्त्रालयले गर्‍यो ११ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित) मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समावेशी आधारमा न्यायाधीश नियुक्ति गर्नेछौँः कानुनमन्त्री



अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समावेशी आधारमा न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउनेमा बताउनुभएको छ ।

नेपाल बार एशोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आज यहाँ आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उहाँले न्यायाधीश नियुक्तिको क्रममा समावेशी आधारलाई जोड दिने उल्लेख गर्नुभयो ।

मन्त्री चौरसियाले युवा कानुन व्यवसायीहरूको पेसागत सुरक्षा र हकहितका लागि काम गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । “न्यायिक सुधारका लागि कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ, कानुन व्यवसायीको मानमर्दन हुने काम बन्द हुनुपर्छ”, उहाँले भन्नुभयो, “साथै कानुन व्यवसायीमाथि हुने हातपात पनि बन्द गरिनुपर्छ ।”

उहाँले लोकतान्त्रिक व्यवस्था लागू गर्न कानुन व्यवसायीको भूमिका उल्लेख्य रहेको भन्दै मुलुकको व्यवस्था सुधारमा कानुन व्यवसायीहरू अग्रपङ्क्तिमा रहेर सरकारलाई सहयोग गरिरहेका बताउनुभयो । सुशासन, पारदर्शी, कानुनी शासन तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले विशेष गरी युवा वकिलहरूको पेसागत सुरक्षामा चुनौती देखिएको भन्दै पेसागत सुरक्षाका लागि नेपाल बार एशोसिएसनले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । “युवा कानुन व्यवसायीलाई पेसागत सुरक्षाको चुनौती छ, यो समस्या समाधान गर्न बार एशोसिएसनले पहल गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “युवाहरूले पनि आफ्नो बहसलाई सशक्त बनाउनका लागि अध्ययन अनुसन्धानमा जोड दिनुपर्छ ।”

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन व्यवसायीको क्षमता अभिवृद्धिका लागि ‘लयर एकेडेमी’को परिकल्पना गरिएको बताउनुभयो । अदालतभित्र हुने भ्रष्टाचार अन्त्य गर्न सबै सक्रिय रूपमा लाग्न उहाँले सुझाव दिनुभयो ।

महासचिव अञ्जिता खनालले राजनीतिक आस्थाको आधारमा बारको सदस्यता वितरण गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “३३ प्रतिशत कानुन व्यवसायी जो कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुन्न । उहाँहरूले बारको सदस्यता पाउन सक्नुभएको छैन । आगामी दिनमा ती सबैलाई बारको सदस्यता वितरणका लागि पहल गर्नेछौँ ।” सबै क्षेत्रमा न्यायिक पहुँच पुर्‍याउनका लागि न्यायालय पनि विकेन्द्रीकरण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो ।