९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान

सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान
अ अ+ अ-

म्याग्दी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ५२ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए ।

बाँसखर्कमा व्यावसायिक सुन्तलाखेती भित्र्याउँदा काँडा रोपेर खेतबारी बिगार्न खाजेको आरोप खेपेका उहाँहरु अहिले जीवित नरहे पनि समाजले सम्झिरहेको छ । अर्मजा र खत्रीको गाउँलाई समृद्ध, आत्मनिर्भर बनाउने पाँच दशकअघिको योजनाको लाभ उहाँका सन्ततिले मात्र नभएर सिङ्गो बाँसखर्कका बासिन्दाले लिएका छन् । सुन्तलाखेतीले बाँसखर्कवासीको आर्थिक र सामाजिक हैसियत फेरिएको छ ।

“हाम्रो बुबाले २०२८ सालमा रोपेको सुन्तलाको बिरुवा उखेलेर फालिदिएछन्, पछि २०३२ सालमा ल्याएर रोपेको बिरुवाले अहिले पनि फल दिइरहेको छ,” बलबहादुर खत्रीका छोरा नरबहादुरले भन्नुभयो, “बुबा बितेर गएको २२ वर्ष भयो, मैले र भाइले बर्सेनि रु १० देखि १३ लाखका दरले सुन्तला बेच्छौँ । बुबाको ‘पेन्सन’ हामीले खाइरहेका छौँ ।”

चौबिस वर्ष प्राथमिक तहको स्थायी शिक्षकको जागिर पूरा गरेर सेवानिवृत्त हुनुभएका ६२ वर्षीय खत्रीले सुन्तलाखेतीलाई निरन्तरता दिनुभएको छ । १९९७/९८ सालतिर बजारमारे र विरमारेमा सोखका लागि करेसाबारीमा एक/दुई बोट सुन्तला लगाउनुभएको थियो । व्यावसायिक चेतनाको विकास र कृषि विकास बैङ्कले ऋण दिन थालेपछि बाँसखर्कमा २०३० को दशकमा सुन्तलाखेती विस्तार हुन थालेको अगुवा कृषकहरु बताउँछन् ।

लुम्लेको कृषि अनुसन्धान केन्द्रमा काम गर्ने बाँसखर्कका सेवानिवृत्त गोर्खा सैनिकहरुको पहलमा सुन्तलाका बिरुवाको बजारीकरण हुने भएकाले केही कृषकले नर्सरी पनि सञ्चालन गरेका थिए । बलबहादुर अर्मजाले कृषि विकास बैङ्कको बेनी शाखाबाट रु एक हजार पाँच सय ऋण लिएर सुन्तलाको नर्सरी र बगैँचा स्थापना गर्नुभएको थियो । उक्त बगैँचामा अहिले सात सय फल दिने र एक सय हुर्कंदै गरेका सुन्तलाका बोट छन् ।

बलहादुरका जेठा छोरा हेमबहादुरले सुन्तलाखेतीबाट छोराछोरी पढाउने, घरव्यवहार चलाउनेदेखि पोखरामा घर, घडेरी जोड्न सफल भएको बताउनुभयो । “बुबाले थाल्नुभएको खेतीले भाइले यसपालि रु ३० लाखको सुन्तला बेचेका छन्, त्यति नै सुन्तला फलेको मेरो बगैँचामा टिप्न बाँकी छ,” उहाँले भन्नुभयो, “सुन्तला बेचेरै पोखरामा रु दुई करोड ५० लाखमा घर किनेको छु ।”

यस वर्ष सुन्तला बेचेर रु २३ लाख आम्दानी गरेका शान्तबहादुर छिन्तेल आफूहरुको आर्थिक हैसियतमा धेरै परिवर्तन आएको बताउनुभयो । “धान, कोदो र मकैखेती गरेर छ महिना पनि खान पुग्दैनथ्यो, छोरा, छोरी पढाउन र घरव्यवहार चलाउन विदेश जानुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “अहिले आफू आत्मनिर्भर र स्वरोजगार भएर पनि अरूलाई समेत बगैँचामा काम दिनसक्ने भएका छौँ ।”

पूरै गाउँ सुन्तलाखेतीमा

समुुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्य मालगाउँ र घुमाउने तालबाहेकको बस्तीका दुई सय बढी घरपरिवारले सुुन्तलाखेती गरेका छन् । मलगाउँमा किवीखेती पनि सुरु गरिएको छ ।

देशका अन्य ठाउँका बगैँचामा निख्रिएपछि माघ महिनादेखि बाँसखर्कका बगैँचामा सुन्तला टिप्न थाल्छन् । भिरालो पाखामा रहेको बाँसखर्कको बगैँचा लटरम्म फलेका पहेरपुर सुन्तलाले रङ्गिएको छ । हाँगा नुगेर चोके लगाएर अड्याएका छन् । बाटो हिँड्दा सुन्तलाका दाना टाउकोमा ठोकिन्छन् ।

यही माघ महिनाको पहिलो साता गरिएको सर्वेक्षणअनुसार बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुुन्तलाका बोट छन् । सर्वेक्षणको नेतृत्व गर्नुभएका बाँसखर्कको ज्योतिमण्डल माविका प्रअ मेखबहादुर खत्रीले यस वर्ष २६ हजार सात सय छ बोटमा रु १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको जानकारी दिनुभयो ।

गत वर्ष रु ११ करोड र त्यसअघिको वर्ष रु १० करोड बराबरको सुन्तला बिक्री भएको थियो । क्षेत्रफल विस्तार, फल लाग्ने नयाँ बिरुवा थपिएको, बगैँचा व्यवस्थापन, अनुकूल मौसम, दाना झर्ने समस्या कम भएको र दाना धेरै लागेकाले उत्पादन बढेको हो । “थप २४ हजार चार सय ४५ सुुन्तलाको बोट बगैँचामा हुर्किरहेका छन्,” खत्रीले भन्नुभयो, “सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक रु चारदेखि ४० लाखसम्म आम्दानी गर्छन् ।” सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झन्डै रु ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ ।

बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुुँखेतीको विकल्पमा सुन्तलाखेती गरेका छन् । पहिले बाँसको जङ्गल भएको र हिउँदमा गाईभैँसी र भेडाबाख्राको गोठ राख्ने भएकाले बाँसखर्क रहन गएको किंवदन्ती छ । पुरानो बाँसखर्कको पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको छ ।

सुन्तला बगैँचा अवलोकन गर्न पर्यटकहरु आउँछन् । म्याग्दी र पर्वतलाई समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशविन्दु बाँसखर्क हो । माथिल्लो बाँसखर्कमा घरबास (होमस्टे) पनि सञ्चालन भएको छ ।

सुन्तलाबाट स्वरोजगार र आत्मनिर्भर

बाँसखर्कवासीले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन् । अठार वर्ष कतारमा काम गरेर फर्किएका बाँसखर्कका ४२ वर्षीय जीवन न्यौपानेले वार्षिक रु १५ लाखसम्मको सुन्तला बिक्री गर्नुहुन्छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा विदेसिनु भएका उहाँले सुन्तलाले आम्दानी दिन थालेपछि प्रवासी बन्नु नपरेको बताउनुभयो । “तीन सय बोट सुुन्तलाबाट वार्षिक रु १२ देखि रु १५ लाख आम्दानी हुन्छ,” उहाँले भन्नुभयो, “सुन्तलाखेती गर्न थालेपछि विदेश जानुु परेन, छोराछोरीलाई राम्रो विद्यालयमा पठाएर गाउँमा सम्मानित जीवनयापन गर्न पाएकामा सन्तुष्ट छु ।”

स्नातक तहको शिक्षा हासिल गर्नुभएका बाँसखर्ककै ३८ वर्षीय राजन केसीले पनि बाबुबाजेले गरिरहेको सुन्तलाखेतीलाई विस्तार गरेर स्वरोजगार बन्नुभएको छ । राजनको ३८ रोपनी क्षेत्रफलमा रहेको बगैँचामा एक हजार दुुई सय सुन्तलाका बोट छन् । उहाँको बगैँचामा यस वर्ष रु ३५ लाख मूल्यको सुुन्तला फलेको अनुुमान गरिएको छ । “सँगै उच्च शिक्षा हासिल गरेका केही साथी शिक्षक र सरकारी जागिरे छन्, धेरै विदेश गएका छन्,” राजनले भन्नुभयो, “बुबाबाजेले गर्नुभएको सुुन्तलाखेतीलाई निरन्तरता दिएकाले मलाई रोजगारी खोज्न र विदेश जानुु परेको छैन ।”

बाँसखर्ककै युवा रमेश खत्री पनि बेनीमा फेन्सी व्यवसायसँगै गाउँमा सुुन्तलाखेती गरेर स्वरोजगार बन्नुभएको छ । बुबालाई सुन्तलाखेतीमा साथ दिएका रमेशले विदेश जाने र अन्यत्र रोजगारी गर्ने योजना नरहेको बताउनुहुन्छ । जीवन, राजन र रमेश जस्तै बाँसखर्कका धेरै युवालाई सुन्तलाखेतीले स्वरोजगार, आत्मनिर्भर बनाउनाका साथै आम्दानी र रोजगारीका लागि विदेसिनुुपर्ने बाध्यताको अन्त्य गरेको छ । वडाध्यक्ष जगबहादुर रोकाले विदेशबाट फर्किएका र गाउँमै भएका युवाहरुले व्यावसायिक सुुन्तलाखेती गरेर स्वरोजगार बनेको बताउनुभयो । “सुन्तलाखेतीका कारणले हाम्रो वडाबाट बसाइँसराइ गरेर अन्यत्र जाने र विदेसिने समस्या कम छ,” उहाँले भन्नुभयो, “कतिपयले सहर र विदेशबाट समेत गाउँ फर्किएर सुुन्तलाखेती गरेका छन ।”

‘ब्रान्ड’ बनेको बाँसखर्कको सुन्तला

स्वादिलो र रसिलो हुने भएकाले बाँसखर्कको सुन्तला बजारमा ‘ब्रान्ड’ बनेको व्यापारी श्रीप्रसाद खत्रीले बताउनुभयो । पोखरा, काठमाडाँै, नारायणघाट, बुटवल, मुग्लिनबजारमा बाँसखर्कको सुन्तला खपत हुने उहाँले बताउनुभयो । बेनी, बागलुङ र कुश्मा बाँसखर्कको सुन्तलाको नजिकको बजार हो । जहाँ लगे पनि बाँसखर्कको सुन्तला भनेपछि बजारको समस्या नहुने व्यापारीहरुले बताएका छन् ।

उत्तरी मोहडातर्फ भिरालो जमिनमा फैलिएको बाँसखर्क सुन्तलाखेतीका लागि उत्तम रहेको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले बताउनुभयो । “यहाँको मुख्य विशेषता भनेको हिमालतिर फर्किएको जमिन छ, सुन्तलाखेतीका लागि सुहाउँदो हावापानी छ, कालो माटो र पारिलो ठाउँ भएकाले सुन्तलाखेती फस्टाएको छ”, करिब एक दशक पर्वतमा बिताउनुभएका उहाँले भन्नुभयो, “अन्यत्र बगान रित्तिसक्दा पनि बाँसखर्कमा माघ÷फागुनसम्मै सुन्तला रहन्छ ।”

अनुकूल भूूगोल, सडक विस्तार, खाद्यान्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी हुने, बजारको सुविधा, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण सुविधा र सरकारी निकायको प्राविधिक सहयोगका कारण बाँसखर्कका कृषक सुुन्तलाखेतीमा आकर्षित भएका अगुवा कृषक जगतबहादुर खत्रीले बताउनुभयो । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला ‘जोन’, जलजला गाउँपालिकाको कृषि शाखाले बाँसखर्कमा सुन्तला नर्सरी स्थापना, बिरुवा वितरण, साना सिँचाइ, चिस्यानगृह निर्माण र सुन्तला बजारीकरणमा सघाएका छन् ।

‘बाँसखर्क’ सुन्तलाको रैथाने जात

धौलागिरि क्षेत्रमा खेती हुने सुन्तलाको जातलाई नेपाल कृषि अनुुसन्धान परिषद् नार्कले २०८० सालमा रैथाने ‘बाँसखर्क’ जातको ‘उन्मोचन’(मान्यता) दिएको छ । जलजला गाउँपालिकाको कृषि शाखाका प्रमुख राजुुप्रसाद गौतमले नेपालमा हाल खेती भइरहेका सुन्तलाका अन्य जातभन्दा फरक विशेषता भएको आधारमा बाँसखर्कको सुन्तलालाई रैथानेको मान्यता दिएको बताउनुभयो ।

राष्ट्रिय फलफूल बाली विकास केन्द्रका अनुसार नेपालमा यसअघि घनकुटा (खोकु) स्थानीय, ओकित्सुवासे, मियागावा वासे, मरकट, योशिदा पोङकान, ओता पोङकान, किन्नो जातको सुन्तलाखेती हुने गरेको थियो । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटामा बाँसखर्कबाट लगिएको जातलाई अन्य २० जातका सुन्तलासँग तुलनात्मक अध्ययन गरिएको थियो ।

एक हजारदेखि एक हजार छ सय मिटरको उचाइ भएको पाखो जग्गामा खेतीका लागि बाँसखर्क जातको सिफारिस भएको छ । यसअघि सिफारिस भएको खोकु स्थानीयभन्दा बढी उत्पादन दिने र करिब १५ दिन छिटो पाक्नेमध्ये मौसमी जात भएको अनुसन्धानमा संलग्न टोलीले पहिचान गरेको छ । दानाका लागि ‘ब्रान्ड’ बनेको बाँसखर्कको सुन्तलाले रैथाने जातको मान्यता पाएपछि यसको बिरुवाको माग बढेको छ ।

कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले ३०औँ वर्षदेखि र केही नर्सरीहरुले समेत यसै जातको कलमी बिरुवा उत्पादन गरी बिक्री वितरण गरिरहेका थिए । यो जातको सुन्तलाको दानाको तौल करिब एक सय ग्राम र कुल धुलनशील पदार्थ ९गुलियोपना० १२ प्रतिशतसम्म पाइन्छ । जुन अन्य जातको तुलनामा बढी हो । यो जातमा क्याङ्कर र डाँठमा प्वाल पर्ने कीरोको प्रकोप कम हुने बताइएको छ ।

समस्या पनि नभएका होइनन्

विसं २०६५ मा बाँसखर्कमा जोडिएको कच्ची सडक स्तरोन्नति नहुनु, सहज सिँचाइका लागि व्यवस्थित संरचनाको अभाव, प्राविधिक जनशक्तिको कमी, मलखाद र बगैँचाको बीचमा रहेको विद्युत्को नाङ्गो तार सुन्तलाखेतीमा देखिएको चुनौती तथा समस्या हुन् । मोहनचोक–मल्लाज–बाँसखर्क र वारिबेनी–मल्लाज–बाँसखर्क जोड्ने सडक घुमाउरो छ । स्थानीयवासीको अगुवाइमा एक दशकअघि मार्ग खोलिएको आठ किलोमिटर दूरीको बेनी–बगरफाँट–बाँसखर्क सडक स्तरोन्नति नहुँदा ठूला सवारीसाधन बगानसम्म पुग्न नसक्दा सुन्तला ढुवानी गर्न समस्या भएको छ । ट््याक्टर र जिपबाट कच्ची सडकमा सुन्तला ढुवानी गर्दा च्यापिएर नष्ट हुने गरेको छ ।

बाँसखर्कको माथिल्लो भेगबाट मल्लाज सिँचाइ आयोजनाको नहर भए पनि हिउँदमा पानी नआउँदा सिँचाइ गर्न समस्या भएको छ । मुहान भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरेर हिउँदमा पनि पानी ल्याउन र शाखा पाइपलाइन तथा ट्याङ्की बनाएर सुन्तला बगैँचामा सिँचाइको व्यवस्था मिलाउन कृषकहरुले माग गरेका छन् ।

बाँसखर्कमा आठ वर्षअघि निर्माण भएको चिस्यानगृह नियमित विद्युत् आपूर्ति नहुँदा प्रयोगमा आउन सकेको छैन । सुन्तलाको बगैँचाको बीचमा रहेको बिजुलीको नाङ्गो तारका कारण दुर्घटनाको जोखिम छ । बरानीको पहिरो यहाँको अर्को समस्या हो । सुन्तलाखेतीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गर्ने कृषि प्राविधिकको गाउँमा नियमित उपस्थिति, प्राङ्गारिक र रासायनिक मल तथा सुन्तला बगैँचा व्यवस्थापनका क्रममा बिरुवाका लागि आवश्यक पौष्टिक तत्वको व्यवस्था मिलाउनुपर्ने देखिन्छ । दाना झर्ने समस्या न्यूनीकरण गर्न प्रोट्रिन वेट छर्ने, भरेका दानालाई प्लास्टिकका बोरामा राखेर सुरक्षित व्यवस्थापन र बगैँचा व्यवस्थापनमा निरन्तरता दिनुपर्ने देखिन्छ ।

समाधानका लागि पहल

बाँसखर्कको सम्भावना उजागर गराउन र समस्याको विषयमा माथिल्लो निकायको ध्यानाकर्षण गराउन गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको उपस्थितिमा यही माघ ११ गते बाँसखर्कमा सुन्तला महोत्सव गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुुप्रसाद आचार्यले बताउनुभयो । “बाँसखर्कमा सुुन्तलाखेतीको प्रशस्त सम्भावना छ तर यहाँको सडक, सिँचाइ, विद्युत्, पहिरो नियन्त्रणको समस्या समाधान गर्ने सामथ्र्य गाउँपालिकासँग छैन,” उहाँले भन्नुभयो, “विकासमा पछि परेको बाँसखर्कको समस्याका बारेमा सरोकारवालालाई ध्यानाकर्षण गराउने उद्देश्यले महोत्सव गरिएको हो ।”

मुख्यमन्त्री सुरेन्द्र पाण्डे, कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री पद्मा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र सांसदहरुले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइ सुविधा, सुन्तलाखेती विस्तार र बजारीकरणमा सघाउने प्रतिबद्धता जनाउनुभयो । “सुन्तला ढुवानीका लागि तपाईंहरुले व्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछौँ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यो वर्ष पनि जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले रु ११ करोड बजेट विनियोजन गरेको छ ।”

कृषिमन्त्री श्रेष्ठले सुन्तलाखेती विस्तार र बजार प्रवद्र्धनका लागि बाँसखर्कलगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र यसमार्फत कृषकहरुलाई विभिन्न शीर्षकमा अनुदान दिइने बताउनुभयो । बाँसखर्क र आसपासको क्षेत्रमा सुन्तलाखेती विस्तार, बजार व्यवस्थापन, सहज ढुवानीका लागि सडक स्तरोन्नति, पहिरो नियन्त्रण, सिँचाइको व्यवस्थापन गर्न सकेमा बाँसखर्क नमूना कृषि गाउँका रुपमा विकास हुने प्रशस्त सम्भावना छ ।रासस