मेलबर्न । विश्व नम्बर एक सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिचले भिसा रद्दको मामिलामा गरेको पुनरावेदनको मुद्दा हारेका छन्। यससँगै उनी वर्षकै पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनबाट पनि बाहिरिएका छन् ।
सङ्घीय अदालतका तीनजना न्यायाधीशले शुक्रबार सार्वजनिक हितका आधारमा ३४ वर्षीय यी खेलाडीको भिसा खारेज गर्ने अध्यागमन मन्त्रीको निर्णयलाई सदर गरेका छन् । जोकोभिचले कोभिड–१९ को खोप लगाएका छैनन् । यसको अर्थ उनी निर्वासित नभएसम्म मेलबर्नमा घरमै नजरबन्दमा रहनेछन्।
निर्वासन आदेशको अर्थ सामान्यतया व्यक्ति तीन वर्षसम्म अष्ट्रेलिया फर्कन सक्दैन। मन्त्रीले अष्ट्रेलियामा जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली जनताको स्वास्थ्य र ‘राम्रो व्यवस्था’का लागि जोखिमपूर्ण हुन सक्ने र अस्ट्रेलियामा अरू मानिसलाई खोप लगाउने प्रयासलाई प्रतिकूल असर पार्न सक्ने भन्ने आधारमा भिसा रद्द गरेका थिए ।
जनवरी ६ मा मेलबर्न पुगेपछि जोकोभिचको भिसा रद्द गरिएको थियो । अष्ट्रेलियाको नियमअनुसार खोप नलगाउने आगन्तुकलाई मेडिकल छुट नदिइएका कारण उनको भिसा सीमा अधिकारीले खारेज गरेका थिए । उनलाई दोस्रो पटक अष्ट्रेलियामा अध्यागमन हिरासतमा लिइएको थियो। भिसा खारेजको विरुद्धमा उच्च अदालतमा उनको पुनरावेदनमा सुनुवाइ भएको थियो । वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन सोमबारदेखि सुरु हुँदैछ।
अध्यागमन मन्त्री एलेक्स हकले शुक्रबार सार्वजनिक हितका आधारमा जोकोभिचको भिसा खारेज गर्न मन्त्रीका रूपमा आफ्नो विशेषाधिकार प्रयोग गरेको बताएका थिए।
यसैबीच एक सामाजिक मिडिया पोस्टमा जोकोभिचले आफ्नो यात्रा विवरण फारममा गल्ती भएको स्वीकार गरेका थिए । यद्यपि यसलाई उनको एजेन्टबाट अनजानमा मानवीय त्रुटि भएको बताएका थिए ।
सन् २०२२ को अस्ट्रेलियन ओपनमा नौ पटकको च्याम्पियन जोकोभिचको पहिलो खेल स्वदेशी मिओमिर केकमानोभिकसँग हुने तालिका थियो। सोमबार हुने यो खेलमा जोकोभिचले यस प्रतियोगितामा आफ्नो उपाधि रक्षा गर्नु पर्ने थियो ।
जोकोभिचको भिसा दोस्रो पटक रद्द भएको हो । अष्ट्रेलियाको कोरोना भाइरस खोपका कडा नियमबाट मेडिकल छूटका लागि आवश्यक मापदण्ड पूरा नगरेको भन्दै गत हप्ता मेलबर्नमा अस्ट्रेलियाको सीमा बलले उनको भिसा रद्द गरेको थियो। उनले सेग्रेगेशन होटलमा चार रात एकान्तबास बिताएका थिए । त्यसपछि न्यायाधीशले सोमबार उनको पक्षमा फैसला सुनाएका थिए।











