२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिङ्गो बस्ती नै शौचालयविहीन



अ+ अ-

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् ।

स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् । यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर तीन सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन् ।

बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबु, बाजे पालादेखि नै सपपरिवार खुलामै शौच गर्दै आएको बताउनुभयो । स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताउनुभयो । यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु उहाँले प्रतिप्रश्न गर्नुभयो ।

सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामथ्र्य नरहेको भन्दै शौचालय निर्माण गर्न नसकेको बताउनुभयो ।

शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैना देवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छु र अन्य जनावरको डर हुने गरेको दुखेसो गर्नुभयो । उहाँका अनुसार ठूला पुरूष र महिलाले त ठाउँ र समय हेरेर लुकेर कुनै स्थानमा शौच गरिहाल्छन् तर ससाना बालबालिका दिनभरि अरूकै खेतबारी र बाटोघाटौमै शौच गरिदिँदा अरूहरूले गाली गर्ने, लखेट्ने र कुनैकुनै बेला पिटाई खानुपर्ने हुन्छ ।

खर, पात, बाँस र बेतबाट बनाइएको घरबारभित्र जाडोले कठ्याङ्ग्रिँदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिएको छ भने शिक्षा र स्वास्थ्यजस्ता कुराले त उनीहरूलाई टाढाटाढासम्म छोएको देखिँदैन ।

चारैतिरै सबैकुराको अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गा जमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेको कारण उनीहरूका लागि सार्वजनिक शौचालय समेत निर्माण गर्न नसकिएको वडा अध्यक्ष अब्दुल गफार राईनले बताउनुभयो ।

वडाध्यक्ष राईनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबै जनाको एक नासको बस्ने जग्गा समेत छैन । कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर नै जग्गा रहेको कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।

वडाध्यक्ष राईनले शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकाङ्कमा मटिहानी नगरपालिकामै सबैभन्दा पछाडि रहेको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुको साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताउनुभयो ।

यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकासमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद् भएको सरसफाइविज्ञ उमाशङ्कर यादवले बताउनुभयो ।

मटिहानी नगरपालिका देशकै सबैभन्दा पुरानो गुठी लक्ष्मीनारायण मठ भएको र ३५० वर्षभन्दा पनि पुरानो, बालागुरू षडानन्द पढ्नुभएको याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापीठ अझै सञ्चालनमा रहेको स्थान हो ।