१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुड्किलो

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुड्किलो
अ अ+ अ-

काठमाडौं । अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही हजार लडाकूले बलियो इजरायली सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भिषण हमला गरेका थिए । यस हमलाबाट किब्बुज आलुमिम फार्ममा कार्यरत १० जना नेपाली विद्यार्थी सहित करिब एक हजार २०० व्यक्तिको ज्यान गएको थियो । इजरायल र हमासबीच सन् २००८ यता यो पाँचौं भिषण युद्ध हो ।

सन् १९४८ मा इजरायल स्थापना भएयता इजरायलमाथि यति ठूलो हमला कहिल्यै भएको थिएन । हमासका लडाकूले किब्बुजका घरघरमा प्रवेश गरेर बुढाबुढी, केटाकेटी, युवा जोकोहीलाई निर्ममतापूर्वक हत्या गरेका थिए भने घरबस्तीलाई खण्डहरमा परिणत गरिदिएका थिए । यतिमात्र होइन, उनीहरुले २५१ जना बालबालिका, वृद्ध र युवालाई अपहरण गरेर गाजा लगेका थिए । गाजामा नाकाबन्दी गरेको, अल–अक्सा मस्जिदमा कारबाही गरेको, गाजा र पश्चिम किनारामा जबर्जस्ती बस्ती बिस्तार गरेको बदलामा इजरायलमाथि आक्रमण गर्नुपरेको हमासले बताउँदै आएको छ ।

यो घटनाबाट आहत भएको इजरायलले हमास विरुद्ध अक्टोबर २७ देखि भिषण स्थल सैन्य र हवाई कारबाही थालेको थियो । हमासलाई समुल नष्ट गर्ने र बन्धकहरुलाई मुक्त गर्ने अभियानमा लागेको इजरायललाई संयुक्तराज्य अमेरिका सहित पश्चिमा देशहरुले आर्थिक, सैनिक, राजनैतिक समेत सबै किसिमका सहायता र आडभरोसा दिएका थिए । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको सरकारले हमास बिरुद्ध थालेको सैन्य कारबाहीले हमासले गरेको आक्रमणलाई पनि बिर्साइदिएको छ ।

अन्तर्राष्ट्रिय मेडिकल जर्नल ल्यान्सेटका अनुसार, इजरायली बमबारीबाट गाजापट्टीमा मात्र ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यद्यपि यो संख्याका बारेमा फरक फरक विवरणहरु आइरहेका छन् । हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट ४६ हजार ८९९ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । र, मारिएका मध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् ।

एक लाख बढी प्यालेस्टिनी अङ्गभङ्ग भएका छन् । मानवीय सङ्कटको चरम स्थितिमा पुगेपनि इजरायली आक्रमण निरन्तर जारी रहेको थियो । गाजाका करिब २३ लाख सर्वसाधारण आफ्ना घर छाडेर टेन्टमा कष्टकर जीवन जिउन बाध्य छन् । उनीहरुका ९० प्रतिशत घर इजरायली बमबारीबाट क्षतिग्रस्त भएको सञ्चार माध्यमहरुले बताएका छन् । युद्धको यस विभिषिकाबाट बच्ने कुनै आशा छाडेका उनीहरुले अन्तर्राष्ट्रिय समुदाय समक्ष अनेक हारगुहार गरिरहे । गाजाका अधिकांश घरहरु भग्नावशेषमा परिणत भएका छन्, सडकहरु ट्याँक र बमबारीबाट क्षतिबिक्षत छन्, विद्यालय र अस्पताल कुनै बाँकी छैनन् । एक किसिमले गाजामा जातीय सफाया गर्न चाहेको आरोप इजरायलले खेपेको छ, र अन्तर्राष्ट्रिय न्यायालयले इजरायली प्रधानमन्त्री र हमास नेतृत्वमाथि युद्ध अपराधको मुद्दा चलाएको छ ।

इजरायलले हमासका नेताहरुलाई पनि गाजा र अन्यत्र छानीछानी हत्या गरिदिएको छ । यसक्रममा २०२४ अक्टोबर १६ मा हमासका नेता याया सिनवार इजरायली स्थल सेनाको कारबाहीमा मारिएका थिए भने अर्का बरिष्ट नेता इस्माइल हनिएको इरान भ्रमणका क्रममा हत्या भएको थियो ।

लेबनान र इरानमाथि आक्रमण

गाजामा सक्रिय हमास समूहलाई समर्थन गरेको आरोप लगाउँदै इजरायलले २०२४ सेप्टेम्बर २३ देखि लेबनानको दक्षिणी र राजधानी बेरुतका कतिपय क्षेत्रमा सक्रिय इरान समर्थित हेज्बोल्लाह लक्षित स्थल र हवाई आक्रमण गरेको थियो । यसक्रममा आठसय भन्दा बढी सर्वसाधारणका साथै ठूलो संख्यामा हेज्बोल्लाह समूहका सदस्यहरु मारिए । हेज्बोल्लाहका नेता हसन नसरल्ला, इब्राहिम अकिल समेत यस समूहका कैयौँ बरिष्ठ सदस्यहरुको पनि ज्यान गएको थियो ।

झण्डै तीन महिनाको सैनिक कारबाही पछि हेज्बोल्लाह र इजरायली सरकारबीच नोभेम्बर २७ मा युद्धबिराम भएको थियो । यसक्रममा हेज्बोल्लाहले पनि इजरायली सहरहरुमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेर इजरायलमाथि दबाब सिर्जना गरेका थिए । तथापि, इजरायलको सैन्य सामथ्र्य अघिल्तिर हेज्बोल्लाह टिक्न सकेको थिएन ।

उता मध्यपूर्वमै युद्ध भड्किने आशंका निम्त्याउने गरी इरानले इजरायलमाथि २०२४ अक्टोबर १ मा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो, तर संयुक्तराज्य अमेरिकाको दबाबपछि इजरायलले तत्कालै प्रत्याक्रमण गरेको थिएन । तर इजरायल चुप लागेर बस्ने अवस्थामा थिएन, र उसले पनि इरानमा अक्टोबर २६ मा हवाई आक्रमण गरेर इरानभित्र क्षति गरेको दाबी गरेको थियो ।

युद्धबिराम, शान्तितर्फको एउटा अवसर

सन् २०२३ नोभेम्बर २४ मा कतारको मध्यस्थतामा पहिलो युद्धबिराम भएको थियो । यो युद्धबिरामलाई स्थायी बनाउने प्रयत्न हुँदाहुँदै नोभेम्बर ३० मा अर्थात् ६ दिनमा भङ्ग भएको थियो । यस अवधिमा हमास समूहले आफ्नो नियन्त्रणमा रहेका झण्डै १५० जना बन्धकलाई मुक्त गरेका थिए । तर यो युद्धबिरामलाई दिगो बनाउने प्रयास सफल भएन, र सम्पूर्ण बन्धकलाई मुक्त नगर्दासम्म युद्धबिराम नगर्ने र आक्रमण जारी राख्ने इजरायलले घोषणा गरेको थियो ।

इजरायलले गाजाबासीमाथि शक्तिको चरम दुरुपयोग गरेको भन्दै संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि दबाब सिर्जना गरे पनि इजरायली प्रधानमन्त्री टसमस भएनन् । तर अमेरिकामा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि मात्र इजरायलले आफ्नो नीतिमा परिवर्तन गरी युद्धबिराममा सहमति जनाउन केही नरम भएको थियो । पछिल्लो युद्धबिराम गराउन पनि बाइडेन प्रशासनका अलावा ट्रम्पका वार्ताकारहरु कतारमा भेला भएका थिए ।

तीन चरणमा कार्यान्वयनमा ल्याइने यो युद्धबिराम प्रस्तावलाई इजरायली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । युद्धबिराम सम्झौता आज आइतबार बिहान ८.३० (इजरायली समय अनुसार) बजेदेखि सुरु हुँदैछ । युद्धबिराममा प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले एक विज्ञप्ति जारी गर्दै गाजापट्टिमा २०२५ जनवरी १९ को बिहान ८.३० बजे (नेपाली समय अनुसार दिउँसो १२.१५ बजे) देखि युद्धबिराम सम्झौता लागू हुने भएकाले युद्धरत सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । युद्धबिरामको गाजाबासी र बन्धक बनाइएका परिवारले स्वागत गरिसकेका छन् ।

हाल सार्वजनिक भएको प्रस्ताव अनुसार, हमासले छ हप्ताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जना बन्धकलाई मुक्त गर्नेछ जसमा महिला, बालबालिका र वृद्धवृद्धा रहनेछन् भने यसको बदलामा इजरायलले पनि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबन्दी रिहा गर्दैछ । बिबिसीका अनुसार, इजरायलले गाजाक्षेत्रको मुख्य भूभागबाट आफ्ना सेनालाई फिर्ता ल्याउन सुरु गर्नेछ । बिस्थापित गाजाबासीलाई आफ्ना घर फर्कन दिइने छ । गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ । इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौं ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन् । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले गाजामा खाद्यान्न बोकेका ट्रकलाई निर्वाध र सहज प्रवेश दिन द्वन्द्वरत पक्षहरुसमक्ष आह्वान गरेको छ । “गाजाका २३ लाख बासिन्दा खाद्यान्नको चरम अभावमा बाँचिरहेका छन् । उनीहरुलाई जतिसक्दो चाँडो खाद्यान्न दिएर बचाउनु जरुरी छ ।”

युद्धबिरामको दोस्रो चरणमा बाँकी बन्धकलाई मुक्त गरिने छ भने गाजाबाट सबै इजरायली सैनिक फिर्ता हुनेछन् । तेस्रो चरणमा भने हमासले बन्धक बनाएका तर मृत्यु भइसकेका बन्धकलाई इजरायल फिर्ता गरिने छ भने गाजाको पुनर्निर्माण अभियान सुरु हुनेछ । एक अनुमान अनुसार, हमास समूहलाई समेत सबै बन्धकको स्थितिका बारेमा जानकारी छैन । नेपाली विद्यार्थी बिपिन जोशी हमासको अपहरणमा परेका भए पनि अझै उनका बारेमा हमासले केही खुलाएको छैन । यद्यपी, युद्धबिरामको शर्तमै बन्धक बनाइएकाहरु सबैलाई मुक्त गर्ने भनिएकाले यसपटक बिपिन सकुशल रिहा हुने अनुमान गर्न सकिन्छ ।

पछिल्लो युद्धबिरामलाई दिगो बनाउन र गाजामा मानवीय सहायताका साथै पुनर्निर्माणका लागि के गर्ने भन्ने प्रष्ट भइसकेको छैन । गाजाको प्रशासन अब कसले सञ्चालन गर्नेछ ? हमास वा अरु कुनै निकायले ? यो प्रश्न अनुत्तरित छ, र यसमा इजरायल वा अमेरिकी प्रशासनले केही बताएका छैनन् । अतिशय दुःख व्यहोर्न बाध्य गाजाका पीडित बासिन्दा पटकपटकका यस्ता युद्ध सधैँका लागि अन्त्य भएको हेर्न चाहन्छन्, तर यसको दिगो समाधान दुई–राज्य नै हो भन्नेमा बिमति छैन । – रासस