१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
symbolic picture of vaccine
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइहेको जानकारी दिनुभयो । “खोप प्रदान गर्ने स्वाथ्यकर्मीसहित अन्य सरोकार भएका पक्षलाई अहिले अभिमुखीकरण कार्यक्रम सञ्चालन भइहेको छ”, उहाँले भन्नुभयो, “उक्त खोपबाट १० देखि १४ वर्षसम्मका किशोरीहरु बञ्चित हुनु नपरोस् भनेर अहिले समुदायस्तरमा प्रचारप्रसार र सचेतनाका कार्यक्रम पनि गरिरहेका छौँ ।”

सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपिभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा सामवेश गरेर यो खोपलाई नियमित खोप सेवाको रुपमा प्रदान गर्ने नीति लिए बमोजिम कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरी खोप प्रदान गर्न लागिएको हो । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको महानिर्देशक खड्काले बताउनुभयो ।

यो अभियान सम्पन्न भएपछि कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरुलाई नियमित खोपका रुपमा यो खोप प्रदान गर्ने सरकारको नीति रहेको उहाँको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोप अभियान सञ्चालनसम्बन्धी दुई दिनको अभिमुखीकरण तालिम प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार बागलुङमा ११ हजार पाँच सय ५५ जना किशोरीहरुलाई खोप प्रदान गर्ने लक्ष्य छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पु¥याउने प्रमुख सापकोटाले बताउनुभयो । धवलागिरि अस्पतालका स्त्री रोग विशेषज्ञ डा विजय ओझाले ‘एचपिभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई ९८ प्रतिशतले घटाउने बताउनुभयो ।

“पाठेघरको मुखको क्यान्सरबाट जोगिने प्रभावकारी उपाय भनेको यसविरुद्धको खोप लगाउनु हो”, उहाँले भन्नुभयो, “समयमा रोगको निदान तथा उपचार नभएर महिलाहरुले मृत्युवरण गर्नुपरेका घटना दाहोरिन नदिन लक्षित समूहका सबै किशोरीहरुलाई खोपको पहुँचमा ल्याउनु जरुरी छ ।”

डा ओझाका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई सबैभन्दा बढी लाग्ने क्यान्सरको दोस्रो स्थानमा पर्छ । क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनेमा भने पहिलो मुख्य कारण पाठघरको क्यान्सर रहेको उहाँको भनाइ छ ।

यसअघि सरकारले आव २०७२/७३ र २०७३/७४ मा नमूनाका रुपमा चितवन कास्कीमा उक्त खोप कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी गत आवमा ‘बाइभ्यालेण्ट एचभिपी सेकोलिन’ खोपको २० हजार मात्रा खरिद गरी नमूनाका रुपमा सातै प्रदेशका एकरएक अस्पतालबाट १४ वर्षका किशोरीलाई छ महिनाको फरकमा दुई मात्रा खोप प्रदान गरिएको थियो । उक्त खोप अस्पतालमा आधारित खोप केन्द्रबाट प्रदान गरिएको थियो । ‘ह्यूमन प्यापिलोमा’ भाइरसबाट सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, ‘म्युकस मेम्ब्रेन’ यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोग सर्ने चिकित्सकहरु बताउँछन् ।

मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका ‘एचपिभी’ भाइरसको पटकपटक सङ्क्रमण भएर २० वर्षसम्म रहेमा पाठेघरको मुखको क्यान्सर हुने गरेको उनीहरुको भनाइ छ । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार तीन सय १३ जना अर्थात् औसतमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।