१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा



अ+ अ-

काठमाडौँ । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ । 

यहाँ उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आले लागिपर्नुभएको छ । 

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान–अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणका लागि केही हवाइ कम्पनी सम्पर्कमा आएका छन्, हामीले अध्ययन गरेर अनुमति दिने तयारी गरिरहेका छौँ ।” 

व्यावसायिक उडानका लागि केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन’ समेत जारी गरिसकेको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङलगायतको व्यवस्थापन गर्न बाँकी रहेकाले उक्त काम सकिने बित्तिकै उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ ।

यसैगरी आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या उत्पन्न भइरहेको उक्त विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विमानस्थलका लागि कूल १५१ जनशक्तिको दरबन्दी रहे पनि हाल ३६ जना मात्र छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने जनशक्ति पठाउनसमेत मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । अहिले उड्डयन प्राधिकरणको टोली सोही कामका लागि केन्द्रित भएको महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीका कम्तीमा पनि १७० जना र नेपाली सेनाका १७० दरबन्दी रहेको छ । 

यसैगरी मेट्रोलोजी विभागका कर्मचारी परिचालन निश्चित भइसकेको र भन्सार र अध्यागमनका प्राविधिक टोलीले निरीक्षण गरिसकेका छन् । 

यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलङ्कालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राउण्ड ह्याण्डलिङ तयारीका लागि निगमका प्राविधिक जनशक्ति भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् ।

मन्त्री आलेले नेपालमा पर्यटन प्रवद्र्धन तथा धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउनका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन जरुरी रहेको बताउनुभयो । कोरोना महामारीका कारण सबैभन्दा धेरै मुलुकको पर्यटन क्षेत्रमा क्षति पुगेकाले यो क्षेत्रलाई थोरै भए पनि सहयोग पुगोस् भनेर सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सारेको भन्दै भैरहवाबाट विदेशी पर्यटक लुम्बिनी भित्र्याउन केही सहयोग पुग्ने अपेक्षाका साथ तोकिएकै समयमा यो विमानस्थल सञ्चालनमा ल्याउन आफू लागिपरेको बताउनुभयो । 

सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।