काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम एनआरटीले जित निकालेको छ ।
सोमबार दिउँसो भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीलाई जित दिलाउन कप्तान दर्शन गुरुङले दुई गोल गरे ।
खेलको ६८ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको पासमा उनले जावलाखेलका गोलकिपरलाई बिट गर्दै सहजै गोल गरे ।
खेलको ७३ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० गोलको जित दिलाए ।
जितसँगै एनआरटी ९ खेलमा १३ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।
९ खेलमा ८ अंकसहित जावलाखेल दशौं स्थानमा छ ।
यस खेलसँगै लिगमा नवौं चरणका खेलहरु सम्पन्न भएका छन् । नवौं चरणको समाप्तिमा साविक विजेता मछिन्द्र फुटबल क्लब स्पष्ट चार अंकको अग्रतासहित तालिकाको शिर्ष स्थानमा कायम छ ।