२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम बदली : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने



अ+ अ-

काठमाडौँ: नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ ।

पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौँ उपत्यकालगायत केही स्थानमा आज सामान्य वर्षा भएको छ । काठमाडौँमा पनि साँझ सामान्य पानी परेको छ ।

आजराति पनि खासै वर्षा हुने अवस्था नरहेको तर बदली भएको क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा गराउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । भोलिदेखि भने मौसम सुधार हुँदै जाने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ ।

बागमतीमा पहाडी र हिमाली क्षेत्रमा बढी र कोसीको पश्चिम भू–भागमा बादल रहेको अर्यालले राससलाई बताउनुभयो । सुदूरपश्चिममा आंशिकदेखि साधारण बदली रहेको उहाँले बताउनुभयो ।

मौसमविद् अर्यालले भन्नुभयो, “खासै पानी परेको देखिँदैन । पश्चिमा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । राति पनि हल्का हिमपात र वर्षा हुने देखिएको छ । भोलिदेखि क्रमिक सुधार हुने देखिन्छ ।” बिहीबारसम्म खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको पनि उहाँले बताउनुभयो ।

यो बदलीले देशैभरि चिसो भने बढाउने उहाँले बताउनुभयो । “हिउँ परेको ठाउँबाट आउने हावाले चिसो बढाउने हो, जता हावा जान्छ उतै बढी चिसो हुन्छ”, अर्यालले भन्नुभयो ।

उहाँले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । रासस