काठमाडौँ । पर्यटकीय नगरी पोखराको फेवातालमा आउँदो पुस १३ गतेदेखि ‘नेपाल(चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता–२०८१’ हुने भएको छ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह–आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो ।
पुस १४ र १५ गते हुने प्रतियोगितामा नेपालका ११, चीनका आठ, सिंगापुरका एक गरी २० समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।
विजेता समूहले पाँच हजार डलर (६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले दुई हजार डलर (दुई लाख २१ हजार रुपैयाँ), तृतीयले एक हजार दुई सय डलर (एक लाख ६३ हजार रुपैयाँ) पुरस्कार पाउनेछन् ।
त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई पाँच सय डलर (६८ हजार रुपैयाँ) प्रदान गरिनेछ ।
चीनमा अत्यन्त लोकप्रिय ड्रागन बोट रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा आयोजना गर्न थालिएको हो । फेवाताल र बेगनासतालमा प्रतियोगिता गरिँदै आइएको छ ।
दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरुको सहभागिता रहने प्रतियोगिता पछिल्लो समय पोखरामा पनि लोकप्रिय बन्दै गएको छ ।
चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिएको हुन्छ ।
चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा ‘डुआन्यु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ ।
चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि हो । सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरी देखि नोवेम्बरसम्म ९२ हजार ८४८ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।