५ पुष २०८१, शुक्रबार
,
Latest
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला संक्रमणकालीन न्याय विधेयकमा जवाफदेहिता निगरानी समितिद्वारा सरकारको ध्यानाकर्षण यू–१९ एक दिवसीय सिरिजः हङकङलाई नेपालले दियो २६६ रनको लक्ष्य यू–१९ महिला एसिया कपः नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित एनपिएल फाइनलको सबै टिकट ‘सोल्ड आउट’ जनकपुरधामस्थित दुर्गा मन्दिरमा पुरुषको शव फेला जग्गा तथा आवास विकासका समस्या समाधान सम्बन्धी प्रतिवेदन चाँडै कार्यान्वयन हुन्छः उपप्रधानमन्त्री सिंह त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माण निर्धारित समयमै सक्नेमा प्रधानमन्त्री विश्वस्त चुरेमा चिउरी रोप्न दाता खोजिँदै विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनीमा माटोको गुणस्तरमा ह्रास



अ+ अ-

म्याग्दी । बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तरमा ह्रास आएको छ । नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमूना परीक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो । कृषि शाखाले बेनी नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा नि:शुल्क शिविर सञ्चालन गरेर एक सय ९४ वटा माटोको नमूना परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा एक सय २१ वटा माटोको नमूनामा अम्लियपना र ७३ वटामा तटस्थ पाइएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । “माटोको अवस्था पहिचान गर्न प्राविधिक टोली खेतबारीमा पुगेर कीटका माध्यमबाट परीक्षणका साथै किसानलाई परामर्श दिएका छौँ”, उहाँले भन्नुभयो, “अम्लियपना बढी देखिनुलाई माटोको गुणस्तर घट्दो क्रममा रहेको बुझेका छौँ ।”

रासायनिक मल र विषादीको अत्यधिक तथा जैविक मलको कम प्रयोग गर्ने तथा बाढीले मलिलो माटो बगाएर लैजाँदा अम्लियपना बढी देखिएको कृषि अधिकृत ढुङ्गानाले बताउनुभयो । माटोको गुणस्तर बढाउन कम्पोष्ट मल र प्राविधिकको सिफारिसअनुसार कृषि चुन प्रयोग गर्न सुझाव दिएको उहाँले बताउनुभयो ।

परीक्षण गरिएकामध्ये ८७ वटा नमूनामा नाइट्रोजन, ७१ वटामा फस्फोरस र ४४ वटामा पोटासको मात्रा कम देखिएको छ । नाइट्रोजन कम भएको जमिनमा कोशेबाली लगाउन सुझाव दिइएको छ । बयालीस वटामा नाइट्रोजन, एक सय दुई वटामा फस्फोरस र एक सय ३१ वटामा पोटासको मात्रा मध्यम देखिएको छ । पैसठ्ठी वटामा नाइट्रोजन, २१ वटामा फस्फोरस र १९ वटामा पोटासको मात्रा अधिक देखिएको कृषि शाखाले जनाएको छ । वडा नम्बर ४ मा ३३, वडा नम्बर ५ मा ७९ र वडा नम्बर ६ मा ८२ वटा माटोको नमूना परीक्षण गरिएको थियो । रासस