२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
अ अ+ अ-

दमौली, (तनहुँ) । जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो ।

गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द थापाले बताउनुभयो । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ पुगेको उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौँमा विभिन्न तहका व्यक्ति, सङ्घसंस्थाका प्रतिनिधिलगायत व्यत्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

थापाका अनुसार बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरहरूमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने उहाँले जानकारी दिनुभयो ।

पर्यटनलाई आम्दानीको स्रोत बनाएर स्थानीयको जीवनस्तर उकास्न पनि यो कार्यक्रम प्रभावकारी हुने भन्दै यसमा सबैको सहयोग आवश्यक पर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षित बनाउँदै पौराणिकता झल्किने कार्यक्रम सञ्चालन हुनेछन् ।”

गण्डकी प्रदेशको पोखरापछि प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने योजना रहेको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइनलगायत सहासिक खेलहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।”

थापाले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा क्रमश: आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने लक्ष्य राखिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र रहेका पौराणिक चौतारा ठाँटी एवं बगैँचाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । बन्दीपुरको २५ पोखरी ताल पार्कको निर्माण चालु आर्थिक वर्ष सुरुवात गर्नुका साथै वृहत् झप्री फाँट जलाशय र देवी थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन अगाडी बढाउने छौँ ।”

अध्यक्ष थापाले पालिकाले बन्दीपुर आउने विदेशी पर्यटकको सहजताका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिने उद्देश्यले नौ भाषामा जानकारीमूलक सामग्री तयार गरिसकिएको बताउनुभयो । गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा जानकारीमूलक सामग्री तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन पैदलयात्रा ९मिनी ग्रेटवाल०, तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत मुलुकबाट पर्यटक आउने गरेका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेका उहाँले बताउनुभयो ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमी उकालो यात्रा हिडेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरालगायत प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण,  माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ बाह्य पर्यटक आउने गरेका समितिका अध्यक्ष प्रधानले उल्लेख गर्नुभयो । रासस