२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत सरकारको सहयोगमा कैलालीमा विद्यालय भवन निर्माण



अ+ अ-

काठमाडौँ– भारत सरकारको सहयोगमा कैलालीमा विद्यालय भवन निर्माण भएको छ । ३ करोड ३ लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित कैलालीको टीकापुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयको भव आज उद्घाटन गरिएको छ ।
नवनिर्मित भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा सहितको उक्त दुई तल्ले विद्यालय भवनको निर्माण गरिएको हो ।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको हो ।सुदुर पश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरुका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा छ ।सरस्वती माध्यमिक विद्यालय सन् १९७८ मा कैलालीको टीकापुरमा स्थापना भएको हो । विद्यालयमा ५५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् ।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्‍याउने विश्वास गरिएको छ ।