
काठमाडौं । पार्टी कार्यलय बनाउन नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले जग्गादान गरेको विषयमा परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त निवेदन खारेज हुने फैसला सुनाएको हो ।
असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा भवन शिलान्यास गरेका थिए ।
व्यवसायी गुरुङले दिएको जग्गाको स्रोत नखुलेकाले गैरकानुनी रूपमा पार्टीले लिन नमिल्ने भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो । १२ कार्तिकमा अदालतले अल्पकालिन अन्तरिम आदेश मार्फत भवन निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।
उक्त निवेदन खारेज गर्दै सर्वोच्चले एमालेलाई कानूनी रुपमा जग्गा ग्रहण गर्न र त्यहाँ भवन बनाउन कानुनसम्मत ठहर्याएको हो ।